गोरक्ष समाचारदाता
तुलसीपुर, १२ कात्तिक । राप्ती परोपकार संघ नेपालले आगलागीपीडितलाई सहयोग गरेको छ । बबई गाउँपालिका–५ हापुरे बजारमा बुधवार बेलुकी विद्युत सर्ट भई पसलहरूमा भएको आगलागीपीडितलाई राप्ती परोपकार संघ नेपालका पदाधिकारी पुगेर आर्थिक सहयोग गरेका हुन् ।
सारिका शृङ्गार एन्ड गिफ्ट पसलका सञ्चालकलाई ५१ हजारको चेक र ओम गङ्गा किसान पसलका सञ्चालकलाई २१ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको हो । राप्ती परोपकार संघका अध्यक्ष सञ्जयकुमार पराजुलीले पीडितको चहराइरहेको घाउमा तत्काल भए पनि सानोतिनो मल्हम लगाउने उद्देश्यले बिहान हापुरे पुगेर आर्थिक सहायता प्रदान गरेको बताए । संघका उपाध्यक्ष गोरखबहादुर वलीले आगजनीबाट पसल सञ्चालकको लाखौँको क्षति भएको हुँदा सबै उद्योगी व्यवसायीलाई आर्थिक सहायताका लागि हातेमालो गर्दै उनीहरूका चहराइरहेका घाउमा मल्हमपट्टी लगाउन आग्रह गरे । आगलागीबाट प्रभावित दुवै पसलका सञ्चालकलाई राहत पु¥याउने उद्देश्यले संघका पदाधिकारी तथा सदस्यले आपसमा मिलेर सङ्कलन गरेको कूल ७२ हजार सहयोग गरेका हुन् ।
राप्ती परोपकार संघ, संरक्षक सुरेश हमाल, अध्यक्ष सञ्जयकुमार पराजुली, उपाध्यक्ष गोरखबहादुर वली, कोषाध्यक्ष क्षेत्रबहादुर भण्डारी, सचिव राघव देवकोटा, सन्तोष चौधरी, जितेन्द्र वली, ओहित सिद्दिकी, प्रमोद सोनी, गणेश भण्डारी, पूर्ण चौधरी, कमल डाँगी, वीरेन्द्रकुमार शाह र अर्जुन भट्टराइले सहयोग सङ्कलन गरेर सहयोग गरेका हुन् । हापुरेमा बुधवार बेलुकी भएको लागलागीमा परी दुई वटा पसलमा लाखौँको क्षति भएको छ । अर्को एउटा पसलमा भने आंशिक क्षति भएको छ । क्षतिको अन्तिम विवरण सङ्कलन हुन बाँकी रहेको प्रहरी प्रशासनले जनाएको छ ।
आगलागीबाट बबई गाउँपालिका–५ स्थित सारिका शृङ्गार पसलबाट विद्युत सर्ट भई लागेको आगोले सँगै सटेको ओम गङ्गा किराना पसलमा ठुलो क्षति पुगेको प्रहरीले जनाएको छ । शृङ्गार पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने किराना पसलको ८० प्रतिशत भाग जलेर नष्ट भएको छ । प्रहरीका अनुसार नजिकै रहेको सकिल कस्मेटिक स्टोरमा रहेको सामान निकाल्ने क्रममा जलेर क्षति भएको हो ।
आगलागीपछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरे पनि समयमै आगो नियन्त्रणमा लिन मुस्किल परेको थियो । आगो निभाउनका लागि घोराही उपमहानगरपालिकाबाट दमकल गएको थियो । घोराहीबाट दमकल घटनास्थलमा पुगेपछि करिब ११ः४५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । पश्चिम दाङका चार पालिकामा दमकल नहुँदा यस्ता आगलाीका घटना हुँदा समस्या भएको हो । तुलसीपुर उपमहानगरपालिकामा भएको एउटा दमकल गत वर्ष भदौ २३÷२४ गते भएको जेन–जी आन्दोलनको बेला आगजनी हुँदा पूर्ण रूपमा जलेको थियो ।