गोरक्ष समाचारदाता
दाङ, १३ कात्तिक । साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मीको नयाँ कृति ‘दर्पण’ विमोचन गरिएको छ । पुस्तकको विमोचन घोराहीस्थित रेडियो स्वर्गद्वारीको स्टुडियोबाट गरिएको थियो । प्रत्यक्ष प्रसारणमार्फत् गरिएको विमोचन समारोहलाई रेडियोका सबै स्रोताले सुन्ने अवसर प्राप्त थियो ।
शर्मा रेग्मीको पुस्तक ‘दर्पण’मा १३ वटा विचारमूलक लेख सङ्ग्रहित छन् । कार्यक्रममा प्रमुख अतिथि रेडियो स्वर्गद्वारीका संस्थापक अध्यक्ष दधिराम सुवेदीले पुस्तक विमोचित भएको घोषणा गर्दै रेग्मीले आफ्नो लामो अनुभव र गहिरो अध्ययनमार्फत् प्राप्त गरेको ज्ञान र भोगाइलाई पुस्तकका माध्यमबाट प्रस्तुत गरेका बताए । उनले सो पुस्तक नयाँ पुस्ताकका लागि उपयोगी मात्र नभई उर्जा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समीक्षकका रूपमा बोल्दै बरिष्ठ साहित्यकार डा.कृष्णराज डिसीले गुरुप्रसाद रेग्मीको ‘दर्पण’ले नवीन चेतनाको उद्घोष गरेको बताए । ‘विगतको समीक्षा गर्दै अब सत्मार्गमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने सन्देश र प्रेरणा बोकर गुरुप्रसाद सरको ‘दर्पण’ आएको छ’, डा.डिसीले भने ‘पुस्तकमा जडतामाथि प्रहार गरिएको छ, विसङ्गतिको विरोध गरिएको छ र कतिपय स्थापित मान्यताका सान्दर्भिकतामाथि गम्भीर सवाल खडा गरिएको छ ।’ वैचारिक रूपमा सशक्त शर्मा रेग्मीको सो पुस्तकले मानिसले सोच्ने तौरतरिकामा परिवर्तन गर्ने तर्क डा.डिसीको थियो ।
पुस्तकमा दर्पण, धर्म, भ्रष्टाचार र अनियमितताको खाँचो, गीता ः ज्ञान, विज्ञान र हाम्रो सामाजिक चेतना, जीवन किन असन्तुष्ट हुँदै गयो ?, आफूलाई आफैँ चिनाँै, धर्मनिरपेक्षताले हामीलाई के दियो ?, रामायण–महाभारत : कथा मात्र हैन, सभ्यताको ऐना, सोँच र चिन्तन ः दुःखको कारण, धनी देशका जनता किन गरिब ?, बाबुआमा नै देवता हुन्, शिव–सतीको यात्रासँग जोडिएको दाङ, धार्मिक विकृतिमा संस्कृत विश्वविद्यालय र श्रावण महिना किन सबैको प्यारो ? गरी १३ वटा शीर्षकमा लेख रहेका छन् । कार्यक्रममा समीक्षक डा.डिसीले प्रत्यक शीर्षकका लेखमाथि आफ्नो भनाइ राखेका थिए । डिसीको सार थियो, ‘आत्ममूल्याङ्कन गर्दै सत्मार्गमा हिँड्न पुस्तकका हरेक लेखले प्रेरणा दिइरहेका छन् ।’
रेडियोको स्टुडियोमार्फत् कृति विमोचनको नयाँ अभ्यासले कृतिबारे एकै पटक हजारौँको जनसङ्ख्यामा सन्देश पुगेको भन्दै लेखक गुरुप्रसाद शर्मा रेग्मीले रेडियोको यो अभ्यासको प्रशंसा गरेका थिए । रेडियो स्वर्गद्वारीका अध्यक्ष विपुल पोख्रेलले रेडियो स्वर्गद्वारीले लेखकका लागि कृति विमोचनको विकल्प खुल्ला गरेको जानकारी दिए । ‘यो अवसर कृति विमोचन गर्न चाहने सबै श्रष्टाका लागि उपलब्ध हुने छ’, उनले भने, ‘त्यसका लागि रेडियो व्यवस्थापनसँग समन्वय गर्न सकिने छ ।’