विपुल पोख्रेल
पछिल्लो समय विश्वका विभिन्न मुलुक–विशेषगरी फ्रान्स लगायतका विकसित र लोकतान्त्रिक देशहरुमा –‘युवा पुस्तामा देखिएको विद्रोही चेत र त्यसले लिएको हिंसात्मक रुपले गम्भीर चिन्ता पैदा गरेको छ । अर्कोतिर नेपाललगायत हिन्दू धर्मावलम्बी भएका विश्वका थुप्रै राष्ट्र यतिखेर विजया दशमी पर्व मनाउन व्यस्त छ । अहिलेलाई युरोपतिरकै सन्दर्भमा छलफल गरौं ।
फ्रान्सलगायतका केही युरोपेली देशमा लामो समयदेखि शासन सत्तामा रहेकाहरुका नीति, कार्यशैली र सामाजिक–आर्थिक असमानताप्रति असन्तुष्टि जनाउँदै सडकमा उत्रिएका युवाहरुले सरकारी भवन, पसल र भौतिक संरचनाहरुमा आगजनी तथा तोडफोड गर्ने घटनाहरु बढेका छन् । तात्कालिक आक्रोशलाई शान्त पार्न वा प्रणालीप्रति विरोध जनाउन सडकमा विध्वंस मच्चाउने यो शैली कुनै पनि हालतमा उचित हुन सक्दैन ।
हिंसात्मक आन्दोलनको सीमा र दीर्घकालीन क्षति
कुनै पनि समाज वा देशका लागि आफ्ना युवाहरुमा राज्यप्रतिको असन्तोष वा चेत जाग्नु आफैँमा नकारात्मक कुरा होइन । प्रसिद्ध दार्शनिक कार्ल पोपर (कार्ल पपर) ले भनेका छन्– हामीले लोकतन्त्रलाई यसकारण रोज्नुपर्छ कि यसले बिना रक्तपात र हिंसा सरकार बदल्ने र सुधार गर्ने अहिंसात्मक अवसर प्रदान गर्छ । जब युवाहरुको असन्तोष व्यक्त गर्ने माध्यम आगजनी, तोडफोड र मानवीय क्षति पु¥याउनेसम्म पुग्छ, त्यसले आन्दोलनको पवित्रता र मर्मलाई नै नष्ट गरिदिन्छ ।
सडकको अराजकताले केही समयका लागि कसैलाई मनोवैज्ञानिक तुष्टीकरण (सन्तुष्टी) त देला, तर यसले दीर्घकालीन रुपमा देशको अर्थतन्त्र, सामाजिक सद्भाव र जनजीवनलाई ध्वस्त बनाउँछ । हिंसा र तोडफोडको बाटोबाट प्राप्त हुने कुनै पनि परिवर्तन सर्वस्वीकार्य वा दिगो हुन सक्दैन । अन्ततः जुनसुकै राजनीतिक र सामाजिक निकासका लागि संवाद र वैधानिक प्रक्रियामै फर्किनु पर्ने हुन्छ ।
भी–डेम प्रतिवेदनः लोकतन्त्रको विश्वव्यापी क्षयीकरण र नयाँ जोखिम
स्वीडेनको गोथेनबर्ग विश्वविद्यालयस्थित भी–डेम प्रकारहरु या लोकतन्त्र इन्स्टिच्युटको पछिल्लो प्रतिवेदन (लोकतन्त्र प्रतिवेदन) अनुसार विश्वमा ’अटोक्रेटाइजेसन’ (निरंकुशकरण स्वेच्छाचारिता) को लहर बढ्दो छ । प्रतिवेदनले देखाएको छ कि विश्वका धेरै देशहरुमा नागरिक स्वतन्त्रता, संस्थागत विश्वास र युवाहरुको राजनीतिक सहभागितामा ह्रास आइरहेको छ ।
जब लोकतान्त्रिक संस्थाहरु (संसद, अदालत, निर्वाचन आयोग) ले सही रुपमा काम गर्दैनन्, तब नागरिकहरुमा विशेष गरी युवा पुस्तामा प्रणालीप्रतिको विश्वास टुट्छ । भी–डेमले औंल्याएको यो चेतावनीले के स्पष्ट पार्छ भने– यदि लोकतन्त्रले परिणाम दिन सकेन भने त्यसको ठाउँ कि त पपुलिज्म (लोकरिझ्याइँवाद) र अधिनायकवादले लिन्छ, कि त सडकको हिंसात्मक अराजकताले । त्यसैले लोकतन्त्रको रक्षाका लागि प्रणालीलाई जनमुखी र नतिजामुखी बनाउनु आजको मुख्य चुनौती हो ।
नवपुस्तामा लोकतान्त्रिक मूल्य र संस्कार कसरी बुझाउने ?
आधुनिक युवा पुस्ता र अल्फा पुस्ता ध्रुत परिणाम र सूचनाको तीव्र प्रवाहमा हुर्किएको छ । उनीहरुमा धैर्यताको कमी र प्रणालीप्रतिको वितृष्णा देखिनु स्वाभाविक जस्तै बनेको छ । विद्वान ल्यारी डायमण्डका अनुसार– ‘लोकतन्त्र कुनै उपहार होइन, यो एक नागरिक अभ्यास हो जसलाई हरेक पुस्ताले पुनर्जागरण गरिरहनुपर्छ ।’
युवा पुस्तामा लोकतान्त्रिक मूल्य–मान्यता प्रवर्धन गर्न निम्न कदम आवश्यक छन् :
नागरिक शिक्षा र व्यावहारिक लोकतन्त्र : लो विद्यालय र विश्वविद्यालयस्तरमै सैद्धान्तिक मात्र होइन, व्यावहारिक लोकतन्त्र, नागरिक अधिकार र कर्तव्य, तथा नीति निर्माण प्रक्रियाबारे बहस र अभ्यास (उदा. मोडल पार्लियामेन्ट) गराइनुपर्छ ।
सञ्चार र सहभागिताको दायरा फराकिलो बनाउने : युवाहरुका भावना र आक्रोशलाई सुन्नका लागि राज्यका निकायहरुले परम्परागत शैली छाडेर डिजिटल र प्रत्यक्ष संवादका नयाँ मञ्चहरु सिर्जना गर्नुपर्छ ।
संस्थागत विश्वासको पुनर्बहाली ः युवाहरुलाई लोकतन्त्र भनेको केवल ’भोट हाल्ने अधिकार’ मात्र होइन, यो ’उत्तरदायित्व र नागरिक सहभागिता’ हो भन्ने अनुभूति दिलाउन सुशासन र भ्रष्टाचारमुक्त वातावरण निर्माण गर्नुपर्छ ।
एआई (कृत्रिम बुद्धिमत्ता) को सदुपयोग : लोकतन्त्रको सुदृढीकरणका लागि
आजको युग प्रविधिको युग हो । एआईले एकातिर फेक न्युज र भ्रामक सूचना फैलाएर लोकतन्त्रलाई कमजोर पार्ने जोखिम बढाएको छ भने, अर्कोतिर यसको सही र सकारात्मक प्रयोगले लोकतन्त्रलाई थप पारदर्शी र समावेशी बनाउन सक्छ :
पारदर्शिता र भ्रष्टाचार नियन्त्रण : सरकारी बजेट, खरिद प्रक्रिया र नीतिगत निर्णयमा एआई आधारित ’ओपन डाटा’ प्रणाली प्रयोग गरी नागरिक निगरानी बढाउन सकिन्छ । नीति निर्माणमा जनमत संकलन : एआई टूलहरुको प्रयोग गरेर लाखौँ युवा तथा नागरिकका सुझाव र असन्तुष्टिलाई विश्लेषण गरी छिटो र प्रभावकारी नीति बनाउन सकिन्छ । तथ्यमा आधारित बहस– तथ्यमा आधारित विमर्श सडकको आक्रोश र भ्रामक अफवाहलाई चिर्न एआईमार्फत सत्य–तथ्य सूचना र तथ्याङ्क छिटो नागरिकसम्म पु¥याउन सकिन्छ, जसले नागरिकलाई विवेकपूर्ण निर्णय लिन मद्दत गर्छ ।
लोकतन्त्रलाई परिणाममुखी बनाउने चुनौती र जिम्मेवारी
राजनीतिशास्त्रमा लोकतन्त्रलाई संसारकै उत्तम व्यवस्था मानिनुको मुख्य कारण यसभित्र रहेका ‘आत्मसुधारका संयन्त्रहरु’ (स्व–सुधारात्मक संयन्त्रहरु) हुन् । लोकतन्त्रले सडकको विध्वंस होइन, संस्थागत प्रणालीमार्फत् शान्तिपूर्ण परिवर्तनको मार्ग प्रशस्त गर्छ ः
आवधिक निर्वाचन ः निश्चित अवधिमा जनताले आफ्नो मतमार्फत शासकहरुलाई फेर्ने वा पुनः अनुमोदन गर्ने बाध्यकारी व्यवस्था हुन्छ । संवैधानिक र नीतिगत सुधार ः समयको माग अनुसार संविधान संशोधन, नीतिगत परिमार्जन र संरचनागत सुधारको बाटो लोकतन्त्रभित्रै खुला रहन्छ ।
सबैको साझा प्रतिबद्धता र जिम्मेवारी
युवाहरु सडकमा उत्रिनु र आक्रोशित हुनुको पछाडि लोकतान्त्रिक संस्थाहरुले समयमै अपेक्षित नतिजा दिन नसक्नु मुख्य कारण हो । तर, यसको समाधान लोकतन्त्रको विनाश वा तोडफोड होइन, बरु लोकतन्त्रलाई अझ बढी समावेशी, पारदर्शी, चुस्त र नतिजामुखी बनाउनु हो ।
अन्ततः, ‘दार्शनिक जोसेफ दे मेस्त्रे’ को चर्चित भनाइ छ– ‘हरेक देशले त्यस्तै सरकार पाउँछ, जस्तो नागरिक उसले कमाएको हुन्छ ।’ लोकतन्त्र केवल सरकारको जिम्मेवारी मात्र होइन, यो नागरिक, युवा, नागरिक समाज, मिडिया र प्रविधि क्षेत्र सबैको साझा दायित्व हो । सडकको तोडफोड र हिंसा छाडेर संवाद, नीतिगत बहस, प्रविधिको सकारात्मक प्रयोग र आवधिक निर्वाचन (जनमत) मार्फत नै समृद्ध र न्यायपूर्ण समाजको निर्माण सम्भव छ । लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैन, यसको विकल्प अझ उत्तम र परिपक्व लोकतन्त्र नै हो ।
(लेखक पोख्रेल नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्) ।