अमरराज आचार्य
दाङ, १२ कात्तिक । दाङमा उत्पादन हुने महको मूल्य वृद्धि गरिएको छ । उत्पादन लागत बढ्दै गएको भन्दै मौरीपालक महासंघ दाङले महको नयाँ मूल्य निर्धारण गरेको हो । महासंघका अनुसार नयाँ मूल्य पुरानो मूल्यको औसतमा करिब २५ प्रतिशतले बढी हो ।
महासंघले निर्धारण गरेको नयाँ मूल्य अनुसार अबदेखि तोरीको मह प्रतिकिलो छ सय रुपैयाँ, चिउरीको मह सात सय रुपैयाँ तथा सिसौ र रुदिलोको मह प्रतिकिलो आठ सय रुपैयाँमा बिक्री गरिने भएको छ । मौरीपालक महासंघ दाङका अध्यक्ष दिनेश वलीका अनुसार उत्पादन लागतमा भएको वृद्धिका कारण महको मूल्य समायोजन गर्नु परेको हो । पछिल्लो समय मौरीपालनका लागि आवश्यक सामग्री, घार व्यवस्थापन, औषधी, श्रम तथा अन्य खर्च बढ्दै गएकाले पुरानै मूल्यमा मह बिक्री गर्दा किसानलाई लागत उठाउन कठिन हुन थालेको अध्यक्ष वलीले बताए ।
‘उत्पादन लागत निरन्तर बढिरहेकाले समय अनुसार मूल्य बढाउनु पर्ने अवस्था आएको हो । पुरानै मूल्यमा मह बिक्री गर्दा मौरीपालक किसानलाई व्यवसाय धान्नै मुस्किल हुने अवस्था छ’, अध्यक्ष वलीले भने । उनका अनुसार नयाँ मूल्य पुरानो मूल्यको तुलनामा औसतमा करिब २५ प्रतिशतले बढी हो । महको प्रकार, उत्पादन क्षेत्र तथा मौरीले चरन गर्ने वनस्पति अनुसार उत्पादन लागत र गुणस्तरमा फरक पर्ने भएकाले फरक फरक महको मूल्य फरक फरक निर्धारण गरिएको महासंघले जनाएको छ ।
दाङमा व्यावसायिक मौरीपालनको सम्भावना रहे पनि पछिल्लो समय लागत वृद्धि, बजार व्यवस्थापन, विषादीको बढ्दो प्रयोग र आयातीत महका कारण किसानले विभिन्न चुनौती सामना गर्नु परेको छ । जिल्लामा मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाउने किसानको सङ्ख्या बढ्दै गए पनि उत्पादन र बजारबिचको सम्बन्ध व्यवस्थित हुन नसकेको मौरीपालक किसानको भनाइ छ । जिल्लामा हाल करिब २५ हजार मेलिफेरा मौरीका घार रहेको महासंघसँग तथ्याङ्क छ । यसबाहेक सेराना जातका मौरीसमेत पालिँदै आएको महासंघले जानकारी दिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा मौरीपालन गर्ने किसानको सङ्ख्या चार सय बढी रहेको भए तापनि महासंघमा भने करिब दुई सय मौरीपालक किसान आबद्ध छन् ।
दाङको भौगोलिक अवस्था, वन क्षेत्र, कृषि उत्पादन र विभिन्न किसिमका फूल तथा वनस्पति मौरीका लागि उपयुक्त हुने भएकाले जिल्लामा मौरीपालनको सम्भावना राम्रो रहेको महासंघले जनाएको छ । तोरी, चिउरी, सिसौ, रुदिलोलगायतका वनस्पति मौरीका लागि प्रमुख चरनका स्रोतको रूपमा रहेका छन् । पर्याप्त चरन क्षेत्र उपलब्ध हुने समयमा मौरीपालनबाट किसानले राम्रो आम्दानी लिन सक्ने अवस्था भए पनि मौरीको चरन क्षेत्र तथा कृषि प्रणालीमा आएको परिवर्तनले मौरीपालनमा असर पार्न थालेको छ । विशेष गरी कृषि क्षेत्रमा विषादीको बढ्दो प्रयोग मौरीपालनका लागि गम्भीर चुनौतीका रूपमा देखिएको अध्यक्ष वलीले बताए । विषादीको प्रयोगका कारण मौरी मर्ने तथा घार कमजोर हुने समस्या बढ्दै गएको उनले बताए ।
कृषि बालीमा रोग तथा किराको नियन्त्रणका लागि विषादी प्रयोग गर्दा मौरी तथा अन्य परागसेचक जीवमा पर्ने असरबारे किसानलाई पर्याप्त जानकारी दिन आवश्यक रहेको महासंघको भनाइ छ । विषादी प्रयोगको समय, मात्रा र विधिबारे सचेतना नहुँदा मौरीपालक किसानले क्षति व्यहोर्नु पर्ने अवस्था आउने गरेको बताइएको छ । मौरीपालनमा देखिएको समस्याका विषयमा स्थानीय तह, कृषि तथा वनसम्बन्धी निकाय र किसानबिच समन्वय आवश्यक रहेको महासंघले जनाएको छ । मौरीको चरन क्षेत्र संरक्षण, विषादीको सुरक्षित प्रयोग, वनस्पति संरक्षण तथा मौरीपालनसम्बन्धी प्राविधिक ज्ञान विस्तार गर्न सके जिल्लामा मह उत्पादन बढाउन सकिने महासंघको विश्वास छ ।
दाङमा उत्पादित महको माग जिल्ला बाहिरसमेत हुँदै आएको छ । स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएकाले दाङको महले बाहिरी बजारसमेत पाउन थालेको मौरीपालक किसान बताउँछन् । उत्पादनको गुणस्तर कायम राख्न सके दाङको महलाई स्थानीय बजारसँगै देशका अन्य प्रमुख बजारमा समेत विस्तार गर्न सकिने सम्भावना रहेको छ तर बजारमा बाहिरी क्षेत्रबाट मह आयात हुँदा स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको गुनासो भने छ ।
बाहिरबाट आउने महसँग स्थानीय महले प्रतिस्पर्धा गर्नु पर्ने अवस्था हुँदा किसानले उत्पादन लागत अनुसारको मूल्य पाउन नसकेको महासंघको भनाइ छ । विशेष गरी कम मूल्यमा बजारमा आउने आयातीत महका कारण स्थानीय उत्पादनको बजार प्रभावित हुने गरेको बताइएको छ । महको गुणस्तर, उत्पादन क्षेत्र र शुद्धताबारे उपभोक्तालाई जानकारी दिन नसक्दा पनि स्थानीय मौरीपालक किसान समस्यामा पर्ने गरेका छन् । वास्तविक स्थानीय मह र अन्यत्रबाट ल्याइएको महबिच उपभोक्ताले सहज रूपमा फरक छुट्याउन नसक्दा गुणस्तरीय उत्पादन गर्ने किसानलाई बजारमा चुनौती हुने गरेको महासंघको भनाइ छ ।
महासंघका अध्यक्ष वलीका अनुसार मौरीपालन व्यवसायप्रति किसानको आकर्षण रहे पनि पछिल्लो समय यो पेसा नै धरासायी हुने जोखिम बढ्दै गएको छ । उत्पादन लागत बढ्नु, मौरीका लागि उपयुक्त चरन क्षेत्रको व्यवस्थापन नहुनु, विषादीको प्रयोग बढ्नु, बजारमा उचित मूल्य नपाइनु तथा आयातीत महसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्थाले मौरीपालक किसानलाई निरुत्साहित बनाएको उनले बताए । ‘मौरीपालनको सम्भावना ठुलो छ तर लागत र जोखिम पनि बढिरहेको छ । अहिलेको अवस्था सुधार नगर्ने हो भने किसानको पेसा नै धरासायी हुने अवस्था आउन सक्छ’, अध्यक्ष वलीले बताए । मौरीपालनलाई व्यवसायका रूपमा विकास गर्न राज्यस्तरबाट स्पष्ट नीति र कार्यक्रम आवश्यक रहेको अध्यक्ष वलीले बताए ।
मौरीपालक किसानलाई आधुनिक प्रविधि, रोग नियन्त्रण, घार व्यवस्थापन, रानी मौरी उत्पादन, मह प्रशोधन तथा बजारीकरणसम्बन्धी तालिम उपलब्ध गराउन सके उत्पादन र उत्पादकत्व बढाउन सकिने उनीहरूको विश्वास छ । यसैगरी महको गुणस्तर परीक्षण तथा ब्रान्डिङमा जोड दिनु पर्ने आवश्यकता देखिएको छ । स्थानीय उत्पादनलाई पहिचानसहित बजारमा लैजान सके किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि गुणस्तरीय मह प्राप्त गर्ने अवस्था बन्न सक्छ । दाङमा मौरीपालनको विस्तारसँगै मह उत्पादनलाई कृषि पर्यटन, वन तथा वातावरण संरक्षण र स्थानीय उद्यमसँग जोड्न सकिने सम्भावना पनि रहेको छ । मौरीले परागसेचनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले मौरीपालनको विस्तारले कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पार्न सक्छ ।
किसानलाई आवश्यक प्राविधिक सेवा, चरन क्षेत्रको संरक्षण, विषादीको सुरक्षित प्रयोग र बजारको सुनिश्चितता गर्न सके दाङलाई मह उत्पादनको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न सकिने अवस्था रहेको महासंघको भनाइ छ । स्थानीय उत्पादनको बजार सुनिश्चितता गर्दै महको आयातलाई व्यवस्थित गर्ने, उपभोक्तामा स्थानीय महप्रति विश्वास बढाउने र किसानलाई लागत अनुसारको मूल्य दिलाउने वातावरण बनाउन सके मौरीपालन दाङका किसानका लागि दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ । मूल्य वृद्धिसँगै किसानले लागत अनुसारको प्रतिफल पाउने अपेक्षा गरेका छन् ।