मेरो खुसी : प्रदेशमा मानवीय सेवा…

भारतको एउटा मानव सेवा आश्रममा करिब १६–१७ वर्षकी एउटी युवती राखिएकी थिइन् । उनको मानसिक अवस्था ठिक थिएन । बरबराएर बोल्दा बोली नेपाली जस्तै सुनिएपछि स्थानीयले सुरेशकुमार पाण्डेलाई खबर गरे ।

रोजगारीका क्रममा भारत रहेका पाण्डेले मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएर कामको सिलसिलामा भारतमा पुगेर अप्ठेरोमा परेका, अलपत्र परेका र बिरामी नेपालीलाई सहयोग गर्दै आएका थिए । त्यही भएर आश्रमकै मानिसले पाण्डेलाई खबर गरेका थिए तर मानसिक अवस्था ठिक नभएको र नेपाली हुन् कि होइनन् भन्ने समेत यकिन नभएकाले समाजमा आबद्ध अन्य सहयोगी सदस्य खासै सहयोग गर्न इच्छुक देखिएनन् ।

पाण्डेलाई भने सहयोग गर्नुपर्छ भन्ने भावले छोयो । उनले १५ दिनका लागि सम्पूर्ण जिम्मेवारी लिएर ती युवतीलाई आश्रमबाट आफू बस्ने कोठामै ल्याए र उपचार थाले । ठुलै उपचार गर्नु पर्ने अवस्थामा समाजले सहयोग गर्ने भएको थियो । कोठामा राखेर परिवारकै सदस्य जसरी उनले युवतीको उपचार गर्न थाले । उनले बोलेका शब्द कापीमा टिप्दै जान्थे, त्यही बोलीका आधारमा करिब तीन महिनापछि उनको घर सुर्खेतमा रहेको पत्ता लाग्यो । त्यसपछि अन्य सहयोगीका माध्यमबाट परिवारसँग सम्पर्क गर्ने काम गरियो । भारतमा अलपत्र परेकी ती किशोरीको उद्धारसँगै उपचार गरेर परिवारलाई सुम्पिँदाको क्षणलाई जीवनको सबैभन्दा ठुलो खुसी क्षण भएको उनी बताउँछन् । विगत सम्झिँदै पाण्डे भन्छन, ‘सायद त्यो बहिनीलाई त्यसै छोडिदिएको भए, उनी घर फर्किने अवस्था हुन्थेन होला ।’ अप्ठेरोमा परेका नेपालीको सेवा गर्न पाउनुलाई नै उनी जीवनको सबैभन्दा ठुलो खुसी ठान्छन् ।

विसं २०१९ मङ्सिर १३ गते दाङको बङ्गलाचुली गाउँपालिका–१ काउलेपानी (साविक स्युजा गाविस–५) मा बुबा स्वर्गीय रेवतीप्रसाद पाण्डे र आमा स्वर्गीय पार्वता पाण्डेको कोखबाट जन्मिएका उनी चार दाजुभाइ र चार दिदीबहिनीमध्ये माइलो सन्तान हुन् । आर्थिक रुपमा मध्यम वर्गीय परिवारमा जन्मिएका पाण्डेलाई समयले सानै उमेरदेखि कठिन परीक्षामा राख्यो । ११ वर्षको उमेरमा बुबा बिते, जेठा दाजु पनि छुट्टिए । परिवारको खर्च जुटाउने जिम्मेवारी उनकै काँधमा आयो । त्यसपछि पढाइ छाडेर रोजगारीका लागि भारत जानुपरेको उनी बताउँछन् ।

बङ्गलाचुली गाउँपालिका–१ बोजपोखरामा रहेको महेन्द्र माध्यमिक विद्यालय (तत्कालीन प्राथमिक विद्यालय) मा कक्षा पाँचसम्म औपचारिक अध्ययन गरेका पाण्डेले स्वअध्ययनबाटै धेरै ज्ञान हासिल गर्ने काम गरे । त्यहीँकै आधारमा विभिन्न पत्रपत्रिकामा लेखरचनासँगै आधा दर्जन पुस्तक समेत प्रकाशित गरेका छन् । ११ वर्षको कलिलो उमेरमै रोजगारीका लागि भारत पुगेका उनले जीवनका ४५ वर्ष परदेशमै विताए । सुरुमा होटल र निजी कम्पनीमा काम गरेर खर्च जुटाएका पाण्डेले पछि भारतीय विद्युत कार्यालयमा सरकारी जागिर पाए र त्यहीँबाट अवकाश लिए ।

जागिरसँगै उनले साहित्य लेखन गरे र दुःखमा परेका धेरै नेपालीलाई सहयोग गर्ने काम पनि गरे । अप्ठेरोमा परेका नागरिकलाई सहयोग गर्ने, बिरामीलाई उपचार गर्नेदेखि काम गरेका थिए । विद्युत कार्यालयमा जागिर खाँदा माथिल्लो तहका कर्मचारीले पाउने सेवा सुविधा तल्लो तहकाले पनि पाउनुपर्छ भन्ने माग राखेर आन्दोलन गर्दा उनले करिब एक महिना भारतीय जेलमा बस्नुपरेको थियो । ‘माथिल्लो तहका कर्मचारीसरह तल्लो तहका कर्मचारीले पनि सेवा सुविधा पाउनुपर्छ र नेपाली कर्मचारीलाई विभेद गर्नुहुँदैन भन्ने हाम्रो माग थियो’, उनी विगत सम्झँदै भन्छन्, ‘जागिरकै क्रममा आन्दोलन गरेपछि पक्राउ गरेर एक महिना जेलमा राख्यो । त्यस क्रममा हामीले जेलमा पनि आन्दोलन गर्नेदेखि छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्ने काम गरेका थियौँ ।’

हाल घोराही उपमहानगरपालिका–१८ पुलचोकमा बस्दै आएका पाण्डे सानैदेखि विद्रोही स्वभावका पाण्डे वर्गसङ्घर्षका विषयलाई साहित्य र लेखनीमार्फत प्रस्तुत गर्दै आएका छन् । भारतका हिसार, पानीपत, हरियाना, गुडगाउँलगायतका ठाउँमा बस्दा नेपाली समुदायले भोगेका दुःख र आफूले देखेभोगेका कुरालाई शब्दमा उतारे काम गर्ने गर्दथे । त्यही क्रममा उनले लेखेको;

सुकेका ओठ
आँखामा आसु
हातमा झोला बोकेर
म जीवनको बाटोमा हिड्न थाकेको छैन…

यो भावको कविता चर्चित बनेको थियो । भारतमा हुने धेरै कार्यक्रममा समेत यो कविता सुनाउने अवसर प्राप्त गरे । आफुले लेखेको कविता सवैले मन पराउँदाका त्यो क्षण पनि खुसीको क्षण भएको बताउँछन् । कविता रोजगारीका लागि भारत जाने नेपाली र तीनले पाउने दुःखका विषयमा सम्वन्धित थियो । त्यसपछि कामसँगै लेखनीमा सक्रिया पाण्डेयका वर्गसङ्घर्ष, समानता र अधिकारका विषय समेटिएका आधा दर्जन पुस्तक प्रकाशित छन् । उनको पहिलो पुस्तक हिन्दी लघुकथा संग्रह ‘अनुभव’ हो । त्यसपछि ‘अन्धकार चिर्न दियो’ र ‘देशभक्ति आवाज’ गजल संग्रह, ‘जेइको सम्झना’ र ‘झिल्को’ कवितासङ्ग्रह तथा ‘आवाज’ लघुकथा प्रकाशित भएका छन् । त्यसका अलावा थुप्रै फुटकर रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

लामो समयदेखि साहित्यमा सक्रिय उनले राप्ती साहित्य परिषद्बाट नन्दहरि साहित्य पुरस्कार २०८२, नमस्ते आधुनिक लघुकथा मञ्चबाट २०८० मा लघुकथा वर्ष पाठक सम्मान, २०८१ मा लघुकथा वर्ष पाठक तथा लेखक सम्मान र नमस्ते गुरुकुल लघुकथा सुभोभन सम्मान–२०८१ लगायत विभिन्न संघसंस्थाबाट समेत पुरस्कृत तथा सम्मानित भएका छन् । विसं २०४४ मा उजा निवासी देवी पाण्डेसँग वैवाहिक बन्धनमा बाँधिएका पाण्डेका दुई छोरा र एक छोरी छन् । उनी राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष, लुम्बिनी बाङ्मय प्रतिष्ठान दाङ शाखाका अध्यक्ष र विश्व नेपाल साहित्य महासंघ दाङ शाखाका अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेर काम गर्दै आएका छन ्। आमाको नाममा स्थापना गरेको पार्वता स्मृति प्रतिष्ठानका संरक्षक रहेका उनी त्यसमार्फत आर्थिक रूपमा विपन्न तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणदेखि विभिन्न सहयोगका कार्यक्रम प्रत्येक वर्ष गर्दै आएका छन् ।

अहिले घोराही बजारमै बसोवास गर्दै आएका पाण्डेले बाल्यकालमा परिवारका खर्च जुटाउनका लागि काउलेपानीबाट हिडेर घोराही बजारमा दही बिक्री गर्न आउने गरेको बताउँछन् । पछिल्लो समय सडक, सञ्चार, स्वास्थ्य र शिक्षालगायतका विकासका पूर्वाधारले जोडिँदै गएको बङ्गलाचुलीको काउलेपानी ३५–४० वर्षअघि निकै विकट थियो । पहाडमा बस्दा राम्रो अन्नपात हुँदैनथ्यो । त्यसैले खाद्यान्न किन्न घोराही बजार झर्नुपथ्र्यो । घरमा भैँसी गाई पाल्ने र दही बनाउने र त्यो बजारमा बिक्री गरेर परिवारका लागि खर्च जुटाउने गरेको क्षण सम्झँदा अहिले पनि मनमा रमाइलो लाग्ने गरेको बताउँछन् । त्यो समयमा प्रतिमाना एक रुपैयाँका दरले दही बेच्ने र कहिलेकाहीँ चामलसँग साटेर बजारबाट घर फर्कने गरेको उनी बताउँछन् ।

प्रस्तुति : लीलाधर वली