खुसी, कर्म र व्यवहारमा छिपेको हुन्छ

नारायणप्रसाद श्रेष्ठ

मानिसको अन्तरहृदयभित्र छिपेको सत्यवाट उजागर भई आनन्द प्राप्तीको अनुभूति नै खुसी हो । खुसी खोज्न धेरै टाढा जानू पर्दैन, आफ्नै अन्तरहृदयभित्र लुकेको सत्यलाई जान्न सक्नु पर्दछ । किनकी सत्य र असत्य आफै भित्र लुकेर रहेको हुन्छ । जबसम्म आफू भित्रको सत्य, कर्म र व्यवहारलाई पहिचान गर्न सकिँदैन, तबसम्म मन भट्किरहन्छ, मन विचलित हुनु भनेको अशान्ति देखा पर्नु हो । त्यसैले बाह्य आवरणबाट उत्पन्न हुने विविध गतिविधिले ल्याउने भ्रान्तिलाई हटाई मनमा शान्तिको प्रत्याभूति हुने वातावरणमा आफूलाई समाहित गराइरहनु पर्दछ । तब मात्र त्यहाँ खुसी मिल्न सक्छ ।

त्यसैले खुसी खोज्न मनरुपी पवित्र गंगालाई निरन्तर प्रभाव भइरहने प्राकृतिक सत्यभित्र समाहित गरी आफूलाई आनन्दित बनाउन सक्नुपर्दछ । मनको दैलो उधारी व्यावहारिक जीवनशैलीमा सकारात्मक भाव जागृत गरेर खुसी ल्याउन सक्नुपर्दछ । काल, कर्म र प्रकृतिमा बाँधिएको जीवनको गोरेटोलाई आपसी विश्वास र सम्बन्धको धरातलले बलियो बनाई अन्तरनिहित सत्यको पहिचान गर्नुपर्दछ । त्यहाँ नै खुसी मिल्न सक्छ । बाह्य आवरणमा हैन अन्तर हृदयभित्र लुकेको सत्यलाई पहिचान गरी जन्म मरणको इतिहासमा देखा परेका उतारचढावलाई यो सामान्य गतिशीलता हो भन्ने बुझी अन्तर हृदयको खुसीको मूलद्वार भेटाउन आफै लागि पर्नुपर्दछ । किनकि पवित्र मनलाई स्वच्छ र निर्मल गतिमा प्रभावित गर्ने मूलतत्व भनेको अन्तरहृदयभित्र लुकेको सत्य हो ।

जीवन दर्शनको रुपमा प्रमाणित भएको त्याग र समर्पण नै शुद्ध आचरण र गतिशील जीवनको आधार पनि हो । यो सत्यलाई स्वीकार गरेर काम, क्रोध, लोभ, मोह र अहंकारबाट अलग रही निस्वार्थ र परिणाममुखी कर्म नै हाम्रो खुसी को मुल आधार हो भन्ने कुरालाई हृदयगम गरी विचार र कर्ममा पवित्रता झल्काउन सक्नुपर्दछ । प्रकृतिको नियममा देखिने विविधता झैँ मानवीय गुण र व्यवहारमा पनि भिन्नता हुने हुँदा समय र परिस्थिति अनुकूल मनलाई सेवा र सद्भावमा समर्पण गर्ने बानीको विकास गर्नु नै जीवनमा खुसी ल्याउनु हो । त्यसैले प्रत्येक कर्म र व्यवहारमा परिष्कृतता ल्याई कम बोल्ने बढी सुन्ने र भोलिको महत्वलाई स्वीकार्ने बानीको विकास गर्नुपर्छ। किनकि अन्तर मनबाट निस्केको आवाजबाट प्राप्त हुने जुन ध्वनी हो त्यसभित्र खुसी लुकेको हुँदा, बोल्नुभन्दा पहिले शब्दलाई मनको तराजुमा तौलेर बोल्ने अभ्यास गर्ने गर्नुपर्दछ । तब मात्र जीवनले आत्मसात गर्न खोजेको खुसी र आनन्दको अनुभूति हुन्छ ।

दूध पोसिलो र शक्तिवर्धक मानिन्छ। यसले शारीरिक तन्दुरुस्ती बढाई शरीरमा स्फूर्ति जगाउँछ तर यही दूधमा अमिलो राखिदिने हो भने दुध फाट्छ ,यसले दिनु पर्ने गुण कुनै पनि दिन सक्दैन । यो सेवनले शरीरलाई कमजोर पनि बनाउँछ तर दूधमा काजु बदाम किसमिस तथा अन्य पौष्टिक तत्व समावेश ग¥यो भने यसले शरीरलाई छुट्टै किसिमको ऊर्जा पैदा गर्दछ । विचारमा पवित्रता झल्काउँछ । त्यसरी नै यदि मनको पवित्रतामा अमिलो अथवा गलत विचार प्रवाह गराइन्छ भने त्यसबेला मानिस दुःखी मात्र हुँदैन, उसको विचार र सोचाइमा समेत अपवित्रता प्रवेश गरी गलत मानसिकताले जरा गाड्न सुरु गर्दछ ।

तत्पश्चात उसबाट हुने प्रत्येक कर्म र व्यवहारमा अपवित्र देखा पर्दछ । एउटै किसिमको काममा यदि सकारात्मक चिन्तनका साथ विचार प्रवाह गर्न सकिएन भने अथवा त्यसको भिन्नता पहिचान गर्न सकिएन भने त्यसले ल्याउने परिणाम निकै कष्टकर हुनसक्छ । यसले मानिसलाई दुःखी मात्र बनाउँदैन जीवनभर पीडित पनि बनाउन सक्छ । मनमा दुविधा उत्पन्न हुनु भनेको दुखको पञ्जामा आफै पर्नु हो । जसरी एउटा डाक्टरले चलाउने चाकु र डाकुले चलाउने चाकुमा फरकपनको अनुभूति हुन्छ । त्यसरी नै अवसर अवस्थालाई जान्न सकिएन भने वा त्यसले ल्याउने परिणामको आकलन गर्न सकिएन भने त्यो पनि जीवनको लागि अभिशाप हुनसक्छ । तसर्थ सोच र चिन्तनबाट उब्जने विचारको परिणामले ल्याउन सक्ने असहज परिस्थितिको मूल्याङ्कन गर्न भुल्न हुँदैन । जहाँ अवसर हुन्छ, त्यहाँ चुनौती पनि रहेको हुन्छ । जहाँ चुनौती हुन्छ, त्यहाँ जिम्मेवारी पनि बढी हुन्छ ।

जिम्मेवारी बढ्नु भनेको विवेकले त्यो अवसरलाई कर्ममा प्रयत्न गर्ने उपायको खोजीमा मनलाई दौडाउनु हो । जब मन सकारात्मक चिन्तनतर्फ दौडिने अवस्था देखापर्छ, तब त्यहाँ समस्याले समाधानको व्यवस्था मिलाउन सक्छ । हो ! त्यसैबेला मानिसले आफूलाई धेरैलाई लगनशील बनाउन सक्नुपर्दछ । जब सोच चिन्तन र कर्म तथा व्यवहारमा सकारात्मक भाव जागृत हुने अवस्था सुरु हुन्छ । तब समस्याले आफै समाधानको उपाय खोज्न थाल्छ । विचारमा शुद्धता र निष्पक्षता आई कर्ममा परिस्कृत हुन पुग्छ र मनमा आनन्दको लहर पैदा हुन थाल्दछ । जब कर्मले मानसिक रुपमा पवित्रता जगाउँदै अगाडि बढ्ने सङ्कल्प सुरु गर्दछ । तब त्यहाँ शारीरिक शक्तिको आवश्यकता बढ्न थाल्द छ ।

यस अवस्थामा मानिसले शारीरिक र मानसिक रुपमा विचारलाई स्वच्छ र प्रतिस्पर्धातर्फ आकर्षित गराई सकारात्मक इच्छाशक्ति बढाउनेतर्फ लाग्नु पर्दछ यस समय र अवसरले सुनौलो भविष्य निर्माण गर्न सक्दछ । यस्तो अवस्था आउनु भनेको खुसी स्वत प्रदर्शन हुन थालेको अनुभूति हो । तसर्थ यसको लागि आफूलाई धैर्य र सहनशील बनाई प्रत्येक कर्म र व्यवहारमा सेवाभाव जागृत गर्न सक्नुपर्दछ । कर्मको प्रत्येक क्षण वा हिँडाइको प्रत्येक पाइलामा अगाडि देखा पर्ने समस्यालाई यो मेरै चिन्तनको कारणले उत्पन्न भएको हो भन्ने मानसिकता जगाई सकारात्मक चिन्तनका साथ आफूलाई समर्पण गर्नुपर्दछ ।

मनको चाहना र इच्छालाई सेवा र समर्पण भावमा जागृत गरी सेवा नै धर्म हो । अरुलाई खुसी बाँड्न सक्नु नै आफू खुसी हुने हो भन्ने सोच विचार गरी आफ्ना प्रत्येक कर्म र व्यवहारलाई प्रदर्शन गर्ने क्षमता विकास गर्नुपर्दछ । थोरै फोहोरको कारण मनभित्र गुम्सिएका को विचारलाई हटाई मन स्वच्छ र पवित्र बनाउनु पर्दछ । वास्तवमा मनलाई बाह्य आवरणले र लोभ, मोह र आशक्तिले बिगारेको छ भन्ने बुझी, अन्तर मनको सत्यलाई पहिचान गरेर आफूलाई प्रदर्शन गर्नुपर्दछ यो कार्य गर्नुपर्दछ । यस्तो कर्म गर्न सक्नु नै आफूभित्र खुसी उत्पन्न गर्नु हो । तसर्थ यसको लागि आफ्नो प्रत्येक कर्म र व्यवहारलाई परिस्कृत गर्न सक्नुपर्दछ । कतिपय अवस्थामा मानव चरित्रभित्र कुनै व्यक्तिको आचरण र व्यवहार थाहा नपाउँदै र उसको मानसिकताको मूल्याङ्कन नगरी आफ्ना मनका कुरा छरपष्ट गर्ने गरेको देखिन्छ ।

वास्तवमा यो राम्रो पक्ष होइन । नहेरी नबुझी नदेखी कसैप्रतिको भावनालाई तलमाथि गर्नु हुँदैन । यदि कुरा नबुझी नदेखेर नहेरी कुनै कर्म गरियो भने त्यसको परिणाम गलत हुन सक्दछ । यसले मनलाई दुखी मात्र बनाउँदैन जीवन मा पछुताउने अवस्था पनि हुनसक्छ । तसर्थ समय र परिस्थितिको मूल्याङ्कन गरी विचार र कर्मभित्र छिपेको जुन खुसी हो त्यो मेरो उद्देश्य हो भन्ने बुझी मनलाई दुःखी नबनाई सधैं खुसी बनाउनेतर्फ आफ्ना प्रत्येक कर्म र व्यवहारलाई परिस्कृत गर्नुपर्दछ । किनकि सबै चम्किलो वस्तु हिरा हुँदैन यो सत्यलाई बुझी आफूलाई समर्पित गर्नुपर्दछ । तब अन्तरमनको सत्यबीच लुकेको खुसी भेटाउन सकिन्छ । जीवन सहज र सरल हुन पुग्दछ ।

विचार नपु¥याई यदि कर्म गरिन्छ भने त्यसले पछुताउनु पर्दछ । दुख आफैंले उत्पन्न गरेको विचारबाट प्रवाहित गर्नु भनेको अन्तरमनको सत्य पहिचान गर्न असक्नु हो । तसर्थ सुख दुःख खोज्न जहाँ तही नभौतारिएर आफूभित्रको पवित्र विचारलाई मन्थन गर्नु पर्ने रहेछ भन्ने कुरा बुझ्नु पर्दछ । सुख खोजेर पाइने वस्तु पनि होइन । न त सफलता नै । यो त विचार र कर्मले ल्याउने परिणाम स्वरुप अनुभूति हुने तत्व हो । यस कुरालाई प्रत्येक मानव जीवनले बुझ्न जरुरी छ । बोली र व्यवहारद्वारा विचारलाई परिमार्जित गरी कर्म र व्यवहारमा सुख र खुसी छिपेको छ भन्ने कुरा जानी आफूलाई प्रस्तुत गर्नुपर्छ । यसवाट नै जीवन सहज हुन्छ यो सबैले बुझ्नु पर्छ । चेतना भया । अस्तु ।