भरत विश्वकर्मा
रोल्पा, ११ कात्तिक । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका–७ स्थित तेबाङ गाउँको शिरमा पर्ने ‘लिस्ने लेक’ ऐतिहासिक, धार्मिक, प्राकृतिक एवम् युद्ध पर्यटनका दृष्टिले महत्व बोकेको स्थल हो । रोल्पा र प्यूठानको सङ्गमस्थलमा पर्ने ‘लिस्ने लेक’ पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा चर्चामा छ । वरपरको घना जङ्गल, लहरै बसेका रोल्पा र प्यूठानका विभिन्न बस्ती, यहाँबाट देखिने अग्ला पहाडका थुम्का, शान्त गतिमा चलिरहने शिरशिर बतास, सहरको कोलाहलभन्दा टाढाको शान्त वातावरण, चराचुरुङ्गीको चिरबिर आवाज र यहाँबाट देखिने मनोरम दृश्यले पर्यटकको मन लोभ्याउँछन् ।
‘लिस्ने लेक’ समुद्री सतहबाट करिब दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित छ । यहाँबाट माछापुच्छ«्र, धौलागिरि, जलजला, सिस्नेलगायतका हिमशृङ्खलाको समेत दृश्यावलोकन गर्न सकिन्छ । २०५२ सालदेखि तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वका कारण पनि लिस्ने चर्चामा छ । ‘लिस्ने लेक’मा २०५९ साल वैशाख १९ गते दिउँसो माओवादी जनमुक्ति सेना र नेपाली शाही सेनाबिच आमनेसामने भिडन्त भएको थियो । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा रोल्पामा जेलबाङपछि सबैभन्दा बढी ३७ जना तेबाङवासीले ज्यान गुमाए । यहाँको गाउँ युद्ध पर्यटनका दृष्टिले पनि सम्भावना बोकेको क्षेत्र हो ।
लिस्नेको काखमा पर्ने खड्के भिरमा तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएकाको सम्झनामा स्तम्भ र शालिक निर्माण गरिएका छन् । यसका साथै तेबाङ गाउँको राज्यपोखरीमा शहीदको सम्झनामा शहीद स्मृति प्रवेशद्वार, किमबहादुर थापा ‘सुनिल’को सालिक निर्माण गरिएको छ । उनकै नामबाट गाउँपालिकाको नामकरण भएको हो । राज्यपोखरीमा मन्दिर र मालरानी शान्तिबाटिकामा पार्क पनि निर्माण गरिएको छ । यी संरचनाले यहाँको पर्यटन प्रवर्धनमा सहयोग पु¥याएका छन् । परापूर्वकालमा स्वर्गद्वारी प्रभुले सबैभन्दा पहिले लिस्नेमा तपस्या गरेको भन्ने भनाइ पनि छ । कुष्ठरोगबाट ग्रसित स्वर्गद्वारी प्रभु (नारायण गौतम) ले लिस्नेमा पाइने विभिन्न प्रकारका जडिबुटी सेवन गरेर रोग निको पारेको किम्बदन्ती छ । लिस्नेमा पानीको अभावका कारण स्वर्गद्वारी प्रभुले यो ठाउँ छोडेर गएको भन्ने भनाइ पनि छ । तेबाङको राज्यपोखरीमा भाद्र पूर्णिमाका अवसरमा शिवजीको भव्य मेला लाग्ने गर्छ । यसका साथै आसपासका सिर्प, नम्जा र गुम्चाललगायतका गाउँमा पनि सोही समयमा मेला लाग्छ । यी ठाउँका शिवजी पनि लिस्नेबाटै उत्पत्ति भएर गएको भन्ने जनविश्वास छ । भाद्र पूर्णिमाको मेलाका लागि तेबाङ, सिर्प र नम्जाका गाउँले फूल टिप्न लिस्ने पुग्ने प्रचलन पहिलेदेखि नै कायम रहेको स्थानीय बताउँछन् ।
सुनिलस्मृति गाउँपालिका–७ का स्थानीय रविलाल रोका मगर लिस्ने लेक परम्परादेखि नै धार्मिक आस्थासँग जोडिएको बताउँछन् । धार्मिक दृष्टिले महत्व बोकेको लिस्ने लेक पछिल्लो समय युद्ध तथा प्राकृतिक पर्यटनको गन्तव्यका रूपमा समेत चिनिन थालेको उनले बताए । ‘पहिले सिद्ध शिवजीका दूतहरू बसेको, तपस्या गरेको, स्वर्गद्वारी प्रभुले पनि तपस्या गरेको स्थल हो’, उनले भने, ‘लिस्ने हिजोदेखि नै धार्मिक रूपमा चिनिएको हो । हिजोका दिनमा लिस्नेमा गाईबाख्रा हराउने र तिनलाई भेटाउन पूजापाठ गर्ने गरिन्थ्यो, जलजला, लिस्ने भनेको हिन्दुहरूले मान्ने ठाउँ हो । हिजोका दिनमा यही डाँडालाई मानेर गए’, उनले भने, ‘स्रोत, साधन र चेतनाको अभावका कारण पहिले मन्दिर बनाउन सकिएन । मैले यसलाई पर्यटकीय क्षेत्रका रूपमा दर्ता पनि गरेको छु ।’ द्वन्द्वका समयमा निर्माण गरिएका स्तम्भसमेत ध्वस्त भएको उनको भनाइ छ ।
लिस्ने लेकमा होलीका अवसरमा रोल्पा र प्यूठानका आसपासका क्षेत्रबाट ठुलो सङ्ख्यामा मानिस आउने गर्छन् । वरपरका गाउँबाट होलीको मेला भर्न हजारौँको सङ्ख्यामा मानिस जम्मा हुने गरेको स्थानीय बताउँछन् । हिउँदमा यहाँ हिउँ जम्ने भएकाले हिउँ खेल्न जानेहरूको पनि भिड लाग्छ । नयाँ वर्ष तथा विभिन्न उत्सव र समारोहमा समेत पर्यटक यहाँ पुग्ने गर्छन् । पछिल्लो समय विभिन्न भूभागबाट आन्तरिक पर्यटक लिस्ने पुगिरहेका छन् । अग्लो भूभागमा रहेकाले यहाँबाट मनोरम दृश्यावलोकन गर्न तथा तस्बिर र भिडियो खिच्न मानिस आउने गरेको स्थानीय बताउँछन् । सुनिलस्मृति गाउँपालिका–७ का वडाध्यक्ष रेशम शर्मा रिजालले लिस्ने लेकमा स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेको धार्मिक कथन रहेको बताए । ‘तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्व र होलीमा जम्मा हुने मानिसको ठुलो भिडका कारण यो ठाउँ चिरपरिचित छ’, उनले भने, ‘लिस्ने लेकमा रोल्पा, प्यूठानदेखि आसपासका जिल्लाबाट पनि होली खेल्न आउने गर्छन् ।’
यहाँ पूर्वाधार निर्माणमा धेरै काम गर्न खोजिए पनि पानीको अभाव प्रमुख समस्या रहेको उनले बताए । ‘मन्दिर निर्माण पनि पानीकै कारण अधुरो भएको छ’, उनले थपे । पर्यटनको अथाह सम्भावना बोकेको लिस्नेमा पुग्न पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकास्थित सुलिचौर बजारबाट करिब १४ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ । त्यसपछि करिब दुईदेखि तीन घण्टाको पैदल यात्रा गर्नु पर्ने हुन्छ । यसका साथै रोल्पाको अरेशगाउँ, जुटुङखोला र प्युठान नगरपालिकाका विभिन्न स्थानबाट पनि यहाँ पुग्न सकिन्छ । लिस्नेसम्म पुग्न गोरेटो बाटो र रेलिङ निर्माण गरिएकाले यात्रा त्यति कष्टकर छैन ।