औषधी थोक व्यवसायी तुफानबाबु श्रेष्ठ तुलसीपुरमा विसं २०५९ सालदेखि लगातार औषधी व्यवसायीका रुपमा कार्यरत छन् । औषधी व्यावसायलाई सेवामैत्री र पेसामैत्री बनाउन उनी व्यवसायिक नेतृत्वमा पनि पुगे । उनी थोक औषधी बिक्रेताको नेतृत्वमा सर्वसम्मत रुपमा लुम्बिनी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । नेपालमा औषधी आपूर्तिको अवस्था, औषधी थोक व्यवसायीहरुको पीडा र औषधी सहजताका विषयमा गोरक्षकर्मी खेमराज रिजालले औषधी थोक बिक्रेता तुफानबाबु श्रेष्ठसँग गरेका कुराकानीको सार सङ्क्षेप ।
औषधी थोक व्यवसायको वर्तमान अवस्था र महत्वलार्ई कसरी हेर्नुभएको छ ?
औषधी थोक व्यवसाय नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो । उत्पादक तथा आयातकर्ताबाट औषधी खरिद गरी खुद्रा व्यवसायीमार्फत् उपभोक्तासम्म सुरक्षित र सहज रूपमा पु¥याउने जिम्मेवारीमा थोक व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन्छ । औषधीको उपलब्धता, भण्डारण, वितरण र आपूर्तिको निरन्तरताका लागि हामीले ठूलो लगानी र व्यवस्थापकीय जोखिम बहन गरिरहेका छौँ । त्यसैले यसलार्ई व्यापारका रूपमा मात्र नभई जनस्वास्थ्यप्रतिको जिम्मेवारीका रूपमा पनि बुझ्नुपर्छ । व्यवसायीको दिगोपना र औषधीको सहज उपलब्धता एकअर्कासँग जोडिएका विषय हुन् ।
व्यवसायीहरूले अहिले मुख्य रूपमा कस्ता समस्या भोगिरहेका छन् ।
नीतिगत तथा कानुनी अन्योल, स्वास्थ्य बीमामा निजी क्षेत्रको सीमित सहभागिता, बढ्दो सञ्चालन खर्च, उधारो कारोबार, कर प्रशासन, अनुगमनमा देखिने असमानता र औषधी फिर्ता व्यवस्थापन प्रमुख समस्या हुन् । त्यस्तै, दुर्गम क्षेत्रमा आपूर्ति गर्दा लाग्ने अतिरिक्त खर्च, दक्ष जनशक्तिको अभाव र डिजिटल प्रणाली सञ्चालनका कठिनाइले पनि व्यवसायलार्ई प्रभावित पारेका छन् । यी समस्या कुनै एक व्यवसायीको मात्र नभई देशभरका थोक व्यवसायीहरूको साझा सरोकार हुन् । त्यसैले व्यक्तिगत गुनासोमा सीमित नराखी नीतिगत सुधारका रूपमा सम्बोधन गर्नुपर्छ ।
नीतिगत तथा कानुनी व्यवस्थामा तपाईंहरूको मुख्य माग के हो ?
औषधी व्यवसायलार्ई व्यवस्थित बनाउन कानुन, मापदण्ड र प्रभावकारी नियमन आवश्यक छन् । हामी कानुनको पालना गर्नुपर्छ भन्ने मान्यतामा स्पष्ट छौँ तर नीति निर्माण गर्दा त्यसको व्यावहारिक कार्यान्वयन, आवश्यक पूर्वाधार र व्यवसायमा पर्ने प्रभावलार्ई पनि ध्यान दिनुपर्छ । व्यवसायीसँग पर्याप्त छलफल नगरी नयाँ व्यवस्था लागू हुँदा अन्योल र कठिनाइ उत्पन्न हुन्छ । त्यसैले नीति, निर्देशिक तथा कार्यविधि निर्माण गर्दा व्यवसायी संघ, उत्पादक, आयातकर्ता, खुद्रा व्यवसायी र नियामक निकायबिच परामर्शको व्यवस्था हुनुपर्छ। हाम्रो माग नियमनको विरोध होइन, व्यावहारिक, स्पष्ट र व्यवसायमैत्री नियमन हो ।
आयुर्वेदिक र एलोपेथिक औषधीको कारोबारसम्बन्धी विषय पनि व्यवसायीहरूका लागि चुनौती बनेको सुनिन्छ । यसबारे तपाईंको धारणा के छ ?
कतिपय व्यवसायीले लामो समयदेखि एउटै प्रतिष्ठानबाट आयुर्वेदिक तथा एलोपेथिक दुवै प्रकारका औषधीको कारोबार गर्दै आएका छन् तर सम्बन्धित इजाजतपत्र र कानुनी मापदण्डका कारण यस्तो कारोबारमा कठिनाइ देखिएको छ । औषधीको प्रकृति, भण्डारण र बिक्री वितरणमा आवश्यक मापदण्ड कायम हुनुपर्छ भन्नेमा हाम्रो विमति छैन तर विद्यमान लगानी, व्यवसायको संरचना र सेवाग्राहीको सुविधालार्ई पनि ध्यान दिनुपर्छ । सम्बन्धित निकायले कानुनी व्यवस्था स्पष्ट पार्दै आवश्यक मार्गदर्शन र व्यावहारिक समाधानका विकल्पबारे छलफल गर्नुपर्छ । नियमको पालना गर्दै व्यवसाय सञ्चालन गर्न सकिने वातावरण बनाउनु नै हाम्रो उद्देश्य हो ।
स्वास्थ्य बीमा कार्यक्रमले निजी औषधी व्यवसायीलार्ई पर्याप्त अवसर नदिएको भन्ने गुनासो छ। यस विषयमा संघको धारणा के छ ?
स्वास्थ्य बीमा नागरिकलार्ई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने महत्वपूर्ण कार्यक्रम हो । यसको प्रभावकारिताका लागि सरकार, स्वास्थ्य संस्था र निजी क्षेत्रबिच समन्वय आवश्यक छ । निजी औषधी थोक व्यवसायीहरूले देशका विभिन्न स्थानमा गोदाम, जनशक्ति र वितरण सञ्जाल निर्माण गरेका छन् । स्पष्ट मापदण्डका आधारमा यो संरचनालार्ई उपयोग गर्न सकिन्छ । गुणस्तर, मूल्य, बिलिङ, अभिलेख र अनुगमनसम्बन्धी मापदण्ड पूरा गर्ने व्यवसायीलार्ई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गराउन सके सेवाग्राहीको पहुँच विस्तार हुनुका साथै निजी क्षेत्रको क्षमताको पनि सदुपयोग हुनेछ । यसलार्ई केवल व्यवसाय विस्तारको विषय नभई औषधीको सहज उपलब्धतासँग जोडेर हेर्नुपर्छ ।
आर्थिक चुनौती कत्तिको गम्भीर छ ? विशेषगरी उधारो कारोबारले कस्तो असर पारेको छ ?
औषधी थोक व्यवसाय सञ्चालन गर्न ठूलो पूँजी आवश्यक पर्छ । मौज्दात, भण्डारण, कर्मचारी, ढुवानी, घरभाडा, विद्युत्, बैंक ब्याज र करलगायतका खर्च निरन्तर बढिरहेका छन् तर औषधीको मूल्य तथा नाफाको संरचना सीमित हुने भएकाले बढ्दो लागतअनुसार आम्दानी समायोजन गर्न सहज छैन । कारोबार ठूलो देखिए पनि वास्तविक नाफा र सञ्चालन खर्चबिच सन्तुलन कायम गर्न कठिन भइरहेको छ । उधारो कारोबारले यो समस्या अझ बढाएको छ । आपूर्तिकर्तालार्ई समयमा भुक्तानी गर्नु पर्ने तर बजारबाट रकम उठ्न ढिलाई हुने अवस्थाले कार्यशील पूँजीमा दबाब पर्छ । त्यसैले उत्पादक, आयातकर्ता, थोक तथा खुद्रा व्यवसायीबीच स्पष्ट भुक्तानी सर्त, नियमित हिसाब मिलान र विद्युतीय भुक्तानीलार्ई प्रोत्साहन गर्नुपर्छ । सबै पक्षको लगानी र जोखिमलार्ई ध्यानमा राखेर व्यावहारिक भुक्तानी आचारसंहिता निर्माण गर्नसके आर्थिक चक्रलार्ई व्यवस्थित बनाउन सहयोग पुग्छ ।
उपभोक्ताले त कहिले पनि उधारोमा औषधी किन्ने गरेको देखिंँदैन नि, अनि तपाई किन ?
हो, यो विषय गम्भीर हो । हामीले औषधी पसलेलाई तोकिएको मूल्य मै सर्टेन कमिशन दिएर बोच्ने हो तर उपभोक्ताले औषधीमा उधारो कारोवार नगर्ने भए पनि औषधी व्यवसायीले कुनै न कुनै बाहनामा उधारो कारोबार गर्ने गरेकाले हामी समस्यामा छौँ । खासमा अहिले औषधी थोक बिक्रेता उधारो कारोबारमा ठगिएका छन् । आफूले लगानी गरेको पैसा नउठ्दा धेरै समस्या भएका छ । यसलाई सम्बन्धित व्यवसायीले गम्भीर रूपमा ध्यानाकर्षण गर्न आवश्यक छ । अनि यसको विषयमा महासंघले पनि एउटा निश्चित सर्त सहितको कानुन निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
औषधी व्यवस्था विभागको अनुगमनप्रति व्यवसायीहरूको धारणा कस्तो छ ?
औषधीको गुणस्तर, सुरक्षित भण्डारण र कानुनी पालना सुनिश्चित गर्न अनुगमन अनिवार्य छ । हामी यसको विरोध गर्दैनौँ तर अनुगमन पारदर्शी, एकरूप र सुधारमुखी हुनुपर्छ । एउटै विषयलार्ई फरक–फरक स्थानमा फरक ढङ्गले व्याख्या गर्दा व्यवसायी अन्योलमा पर्छन् । सामान्य प्रशासनिक त्रुटि र जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उल्लङ्कनबिच भिन्नता छुट्याउनुपर्छ । गम्भीर गल्तीमा कानुन अनुसार कारबाही हुनुपर्छ भने सुधार गर्न सकिने त्रुटिमा स्पष्ट निर्देशन र आवश्यक मार्गदर्शन दिनुपर्छ । नियामक निकाय र व्यवसायीबीच अविश्वास बढाउनुको सट्टा सहकार्यको वातावरण निर्माण गर्नु आवश्यक छ ।
दुर्गम क्षेत्रमा औषधी आपूर्ति गर्दा कस्ता समस्या देखिन्छन् ?
देशका सबै नागरिकले आवश्यक औषधी सहज रूपमा पाउनुपर्छ । यसका लागि थोक व्यवसायीले भौगोलिक अवस्था, सडकको पहुँच, ढुवानी खर्च र बजारको मागलार्ई ध्यानमा राखेर औषधी वितरण गरिरहेका हुन्छन् तर दुर्गम तथा विकट क्षेत्रमा औषधी पु¥याउँदा ढुवानी खर्च धेरै लाग्छ । कतिपय स्थानमा नियमित आपूर्ति गर्न कठिन हुन्छ भने कतिपय औषधीको माग अनुमान गर्न पनि सहज हुँदैन । एकातिर मागअनुसार औषधी उपलब्ध गराउनुपर्छ, अर्कोतिर बिक्री नहुँदा मौज्दात थन्किने र म्याद नजिकिने जोखिम हुन्छ । औषधीको अभाव हुँदा बिरामी प्रभावित हुन्छन् भने आवश्यकताभन्दा बढी मौज्दात राख्दा व्यवसायीको पूँजी अवरुद्ध हुन्छ । यसका लागि मागको तथ्याङ्कमा आधारित आपूर्ति प्रणाली, उत्पादक तथा आयातकर्तासँग नियमित समन्वय, प्रभावकारी मौज्दात व्यवस्थापन र म्याद नजिकिएका औषधीको समयमै फिर्ता वा व्यवस्थापन गर्ने स्पष्ट नीति आवश्यक छ । दुर्गम क्षेत्रमा औषधीको सहज उपलब्धता सुनिश्चित गर्न आवश्यक पर्ने ढुवानी तथा वितरण लागतका विषयमा पनि राज्यले नीतिगत सहजीकरण गर्नुपर्छ ।
कर प्रशासन, डिजिटल प्रणाली र दक्षजनशक्तिको अभावले व्यवसायमा कस्तो असर पारेको छ ?
राज्यलार्ई कर तिर्नु व्यवसायीको दायित्व हो । हाम्रो आग्रह कर नतिर्ने होइन, कर प्रशासनलार्ई सरल र पारदर्शी बनाउने हो । विभिन्न निकायमा मिल्दोजुल्दो विवरण पटक–पटक बुझाउनु पर्ने तथा प्रतिवेदन तयार गर्न अतिरिक्त समय र खर्च लाग्ने अवस्थाले विशेषगरी साना तथा मध्यम व्यवसायलार्ई प्रभावित पारेको छ । विवरण प्रणालीलार्ई एकीकृत गर्ने, अनलाईन सेवा सहज बनाउने र प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था आवश्यक छ ।
त्यस्तै, औषधी व्यवसायमा दक्षजनशक्ति महत्वपूर्ण हुन्छ । योग्य कर्मचारी खोज्न, तालिम दिन र टिकाइराख्न कठिन भइरहेको छ । डिजिटल अभिलेख, बिलिङ, मौज्दात तथा म्याद व्यवस्थापनका प्रणाली उपयोगी भए पनि तिनको प्रभावकारी प्रयोगका लागि आवश्यक तालिम र प्राविधिक सहयोग उपलब्ध हुनुपर्छ । औषधी क्षेत्रसँग सम्बन्धित तालिम प्रदायक निकाय, नियामक निकाय र व्यवसायी संघबिच सहकार्य गरी जनशक्तिको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
संघले व्यवसायीका समस्या समाधानका लागि कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? व्यवसायी एकता किन आवश्यक छ ?
संघको जिम्मेवारी व्यवसायीको हकहित संरक्षणमा मात्र सीमित छैन; व्यवसायलाई मर्यादित, व्यवस्थित र जिम्मेवार बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ । व्यवसायीका साझा समस्या पहिचान गरी तथ्य र प्रमाणका आधारमा सम्बन्धित सरकारी निकाय, औषधी व्यवस्था विभाग तथा अन्य सरोकारवालासमक्ष प्रस्तुत गर्नुपर्छ । नीतिगत सुधार, अनुगमनमा एकरूपता, औषधी फिर्ता नीति, भुक्तानी प्रणाली र स्वास्थ्य बीमामा सहभागिताजस्ता विषयमा निरन्तर संवाद आवश्यक छ ।
यी समस्या कुनै एक व्यक्ति, संस्था वा जिल्लाका मात्र होइनन् । व्यक्तिगत रूपमा आवाज उठाउँदा प्रभाव सीमित हुन सक्छ, तर साझा मागसहित सङ्गठित रूपमा प्रस्तुत हुँदा समाधानका लागि दबाब र संवाद दुवै प्रभावकारी हुन्छन् । एकताको अर्थ सबैको विचार एउटै हुनु होइन, फरक मतको सम्मान गर्दै साझा हितमा एकजुट हुनु हो । व्यवसायीले पनि कानुनको पालना, गुणस्तरीय औषधी वितरण, पारदर्शी कारोबार र समयमै भुक्तानीमार्फत् आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।
अन्त्यमा, सरकार, व्यवसायी र आम नागरिकलार्ई के सन्देश दिन चाहनुहुन्छ ?
रकार तथा नियामक निकायलार्ई औषधी व्यवसायीलार्ई आपूर्ति प्रणालीका महत्वपूर्ण साझेदारका रूपमा हेर्न आग्रह गर्दछु । स्पष्ट नीति, निष्पक्ष अनुगमन, सरल प्रशासन र नियमित संवादबाट मात्र दिगो समाधान सम्भव हुन्छ । व्यवसायी साथीहरूलार्ई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा समस्याका समाधानका लागि एकजुट हुन र जनस्वास्थ्यप्रतिको जिम्मेवारी पूरा गर्न अनुरोध गर्दछ ु। आम नागरिकले पनि औषधीको गुणस्तर, वैधानिक स्रोत र सही प्रयोगबारे सचेत रहनुपर्छ ।
औषधी व्यवसायीको हकहित र जनस्वास्थ्यको संरक्षण परस्पर विरोधी विषय होइनन् । व्यवसाय दिगो भए आपूर्ति प्रणाली बलियो हुन्छ र नागरिकले आवश्यक औषधी सहज रूपमा पाउने आधार तयार हुन्छ । हामी एक छौँ, हाम्रो आवाज एक छ । व्यवसायीको सम्मान, व्यवसायको दिगोपना र जनस्वास्थ्यको संरक्षणका लागि हामी सङ्गठित, जिम्मेवार र प्रतिबद्ध छौँ ।