दाङ,२९ असोज । दसैैं–तिहार पर्व नजिकिँदै गर्दा घोराही उपमहानगरपालिका–२ ठाँटीखोला निवासी ४१ बर्षीय अनन्तबहादुर सार्की मादल बनाउने काममा बेस्त छन् । चाडपर्वको समयमा मादल बिक्रीसँगै मर्मतबाट राम्रो आम्दानी हुने भएपछि चार जना कामदार राखेर नयाँ मादल बनाउनेदेखि मर्मतको काम गर्दै आएका छन् ।
चाडपर्वलाई मौलिक संस्कृति र लोकजीवनको पहिचान मान्ने भएकाले नयाँ मादल किन्नदेखि मर्मतका लागि दैनिक जसो १५÷२० जना ग्राहक आउने गरेको बताउँछन् । उनका अनुसार दशैंमा विशेषगरी थारु समुदायका मानिस आउने गरेका छन् भने तिहारमा अन्य समुदायका ग्राहकको चहलपहल हुन्छ । सार्की परिवारले पुर्खादेखि नै मादल बनाउने सीपलाई पेसाका रूपमा निरन्तरता दिँदै आएको छ । उनले भने,‘घरमा बुबाले मादल बनाउने भएकाले सानै उमेरमा सिकियो । अहिले त्यही सीप आम्दानीको स्रोत बनेको छ ।
घरखर्चका लागि अन्त जानु परेको छैन ।’ मादलसँगै तबला, ढोलकलगायतका बाजा बनाउने गरेको बताउँछन् । चाडपर्वको समयमा एक्लै भ्याउन नसकिने भएकाले चार जनालाई दैनिक ज्यालामा रोजगारीमा जोडेको भन्दै उनले मादलको घम बनाउनेदेखि खरी लगाउनेसम्मका कामका लागि तीनलाई रोजगारी प्रदान गरेका छन् ।
उनका अनुसार मादल बनाउने सीप नयाँ पुस्तामा पनि हस्तान्तरण भइरहेको छ । बुबा टंकबहादुर सार्कीबाट सिकेको सिप अनन्तबहादुरका छोरा थमराजले पनि पछिल्लो समय मादल बनाउनेदेखि बिक्री–वितरणको काम गर्दै आएको बताउँछन् । नयाँ पुस्ताका धेरैले पुख्र्यौली पेसा छाडिरहेको बेला मौलिक बाजाको संरक्षणमा योगदान गर्ने उद्देश्यले आफूले यही पेसा रोजेको उनको भनाइ छ । अध्ययनसँगै धेरै साथीहरु विदेश गएको भन्दै थमराजले भन्ने,‘पढाई सकेपछि साथीहरु विदेश गए । मलाई पनि जाम भन्थे तर मैले विदेश जानुभन्दा बुबासँगै घरमा मादल बनाउने काम गर्दै आएको छु ।’
दाङका विभिन्न ठाउँसँगै रोल्पा, प्युठान र अर्घाखाँचीबाट समेत ग्राहक मादल किन्न र मर्मत गराउन आउने गरेको बुबा अनन्त बताउँछन् । अन्य काठभन्दा बलियो मानिने खमारीको घम र बाख्राको छाला मात्र प्रयोग गरिने भएकाले आफ्ना मादल धेरैले रुचाउने गरेको उनको भनाई छ । उनका अनुसार यसरी बनाइएका मादल एक हजार ८ सयदेखि ३० हजार रुपियाँसम्ममा बिक्री हुने गरेका छन् । साइज अनुसार मर्मत गर्दा प्रतिमादल एक हजारदेखि १० हजार रुपियाँसम्म लाग्ने गरेको बताउँछन् ।
कृष्णजन्माष्टमी, तीज, दशैं र तिहारको समयमा राम्रो बिक्री हुने भएपनि बाह्रै महिना बिक्री नहुने गरेको बताउँछन् । सिजनमा घरमै बसेर मादल बनाउने काम गर्ने गरेपनि अन्य समयमा भने मादल बनाउनका लागि आवश्यक पर्ने खमारीको काठ, छालासँगै खरिका लागि आवश्यक पर्ने सामाग्री जुटाउने गरेको बताउँछन् ।