खेलकुद विकास समितिलाई ३३ हजार रुपैयाँबराबरको जर्सी हस्तान्तरण

दाङ, ३० असोज । घोराही उपमहानगरपालिका–१७ को खेलकुद विकास समितिलाई ३३ हजार रुपैयाँबराबरको खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

घोराही–६ गुरवागाउँका घर भई हाल नेपालगन्ज पुष्पलाल चोकमा रहेको दङाली होटलका सञ्चालक एकराज पाण्डेयले खेलाडीका लागि ३३ हजार रुपैयाँबराबरको जर्सी सहयोग गरेका हुन् । समितिका अध्यक्ष दुर्गा खत्री र उपाध्यक्ष वीरेन्द्र चौधरीलाई एक कार्यक्रमकाबीच पाण्डेयले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत खेलको विकास र समृद्धिका लागि आफूले थोरै भए पनि खेल सामग्री सहयोग गरेको पाण्डेयले बताए । अध्यक्ष भुसालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष भोलाबहादुर घर्तीले स्वागत गरेका थिए भने सचिव भीम चौधरीले सहजीकरण गरेका थिए ।

फुटबल खेलको विकास र खेलाडीको वृत्तिविकासमा सहकार्य र सहयोग गरेकोमा समितिले पाण्डेयलाई धन्यवाद ज्ञापन गरेको छ । खेल र खेलाडीको भविष्य उज्ज्वल बनाउन आगामी दिनमा पनि सहकार्य गर्ने समितिले बताएको छ ।