कृषि यन्त्रले किसानलाई धान भित्राउन सहज
लीलाधर वली
दाङ, २९ असोज । गढवा गाउँपालिका–५ बोधीपुर निवासी किसान पतिराम चौधरीले विगत चार वर्षदेखि १७ कट्ठा खेतमा धान खेती गर्दै आउएका छन् । परिवार ठुलो हुँदा १७ कट्ठा खेतको धानबाली भित्राउन सजिलो थियो । गाउँमा पालो गर्दै काट्दा छ÷सात दिनमा धान काटेर घरमा ल्याउन सकिन्थ्यो तर पछिल्लो समयमा परिवार सानो भएको र गाउँमा काम गर्ने मानिस नहुँदा धान काट्न समस्या हुने गरेको थियो । गाउँमै धान काट्ने च्याङ्फा ट्याक्टर (रिपर) को सुविधा भएपछि भने धान भित्राउन सहज भएको छ ।

पहिले धान काटेदेखि घरमा भित्राउँदासम्म छ÷सात जना लाग्ने गरे पनि पछिल्लो समय कृषि यन्त्रको सहयोगले तीन÷चार दिनमै काट्ने, दाउने र घर भित्राउन सकिने भएको बताउँछन् । यन्त्र प्रयोग गर्दा पैसा खर्च हुने भए पनि समयमै बाली भित्राउन सकिने भन्दै किसान चौधरी भन्छन्, ‘सानो परिवार भए पनि प्रविधिको विकासले खेती गर्न सजिलो भएको छ । धान काट्नेदेखि दाउनेसम्म प्रविधिले गर्ने गरेको छ ।’ प्रविधिको सहायताले कृषि काममा धेरै सहयोग पुगेको भन्दै थोरै परिवार भएका व्यक्तिले धेरै खेती गर्न सकिने भएको उनले बताए ।

दसैँ नजिकिँदै गर्दा खेतमा धान पाकेपछि सोही ठाउँ निवासी लालबहादुर रावतले पनि रिपरको सहायताले १८ कट्ठा क्षेत्रफलको खेतको धान काटेको बताउँछन् । दसैँ सुरु भइसकेकाले धान काट्नका लागि कामदार नपाइने हुँदा रिपरको सहायताले धान काटेको उनको भनाइ छ । पाकेको धान दसैँ अघि नै भित्राउने तयारी अन्तर्गत धान काटेर दाउने तयारीमा रहेको बताए । धान काटेर दाउनका लागि तयारी भइरहेको भन्दै किसान रावतले भने, ‘घरपरिवारले मात्र दसैँ अघि धान काटेर भित्राउन सक्ने अवस्था थिएन । त्यही भएर रिपरको सहायताले धान काटेँ, अब थ्रेसरले दाउने तयारी छ ।’ सानो परिवार हुँदा कृषि पेसा गर्न समस्या भइरहेको समयमा भइरहेको प्रविधिको विकासले काम गर्न सहज बनाएको उनी बताउँछन् ।

रिपरले धान काटेको प्रतिघण्टा एक हजार छ सयदेखि एक हजार आठ सय रुपैयाँसम्म लिने गरेका छन् भने दाउनका लागि थ्रेसरले प्रतिघण्टा तीन हजार तीन सय रुपैयाँ लिने गरेको किसान बताउँछन् । गाउँमा थोरै खेती गर्ने र ठुलो परिवार हुनेले आफैँ धान काट्ने र बोक्ने गरे पनि अधिकांश किसानले रिपरले काट्ने र खेतमै थ्रेसरबाट दाउने गरेका छन् । धान कट्न सुरु भएसँगै आफ्नो काम बढेको गढवा गाउँपलिका–५ गढवा निवासी रिफर चालक तुलाराम चौधरी बताउँछन् ।

गाउँघरमा किसानले गोरु पाल्न छाडेसँगै धान काट्नेदेखि दाउनसम्म प्रविधिको प्रयोग गर्ने गरेको उनी बताउँछन् । प्रविधिको माध्यमबाट धान काट्ने र दाउने गर्दा थोरै पैसा खर्च हुने गरे पनि काम छिटो र दुःख नहुने तुलाराम बताउँछन् । ‘धान आफैँ काट्नेदेखि दाउने गर्दा श्रम र समय बढी लाग्छ’, उनले भने, ‘तर प्रविधिको प्रयोगले छोटो समयमा धेरै काम गर्न सकिने र श्रमको बचत हुन्छ ।’ समथर खेत भएको ठाउँमा किसानले ठुलो कम्बाइन हार्भेस्टर (धान काट्ने मेसिन)बाट धान काट्ने गरे पनि अधिकांश ठाउँमा रिपरबाट धान काट्ने गरेको उनी बताउँछन् ।