घोराही इन्जिनियरिङ क्याम्पसको बन्दै भवन

प्रदीप अधिकारी
दाङ, २९ असोज । घोराहीमा इन्जिनियरिङ क्याम्पसको भवन निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा करिब पाँच बिघा जग्गामा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत घोराही क्याम्पसको भवन निर्माणको काम धमाधम भइरहेको छ ।

महेन्द्र बहुमुखी क्याम्पस अगाडि निर्माण भइरहेको क्याम्पसको दुई तलासम्मको भवन निर्माणको काम भइरहेको छ । इन्जिनियरिङ क्याम्पसको भवन निर्माणका लागि २०८२ फागुनमा खड्का निर्माण सेवा प्रालि, बाँकेसँग २० करोड ८७ लाख ४० हजार दुई सय २१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८४ फागुन महिनाभित्र भवन निर्माणको काम सक्नु पर्ने त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण परियोजना संयोजक अरुण अर्यालले जानकारी दिएका छन् ।

सम्झौता अनुसार निर्माण कम्पनीले पाँचतले इन्जिनियरिङ क्याम्पस भवनको हालसम्म दुई तलासम्मको निर्माणको काम गरेको छ । परियोजना संयोजक अर्यालका अनुसार पहिलो चरणमा क्याम्प्सको एकेडेमिक भवन निर्माण भइरहेको र भवन निर्माणसँगै शैक्षिक गतिविधि सञ्चालनको काम हुने छ । सम्झौता मितिमै भवन निर्माणको काम सक्ने गरी भवन निर्माणको काम धमाधम भइरहेको उनले बताए । इन्जिनियरिङ क्याम्पसको भवन निर्माण सम्पन्न भएसँगै पठनपाठनको काम अघि बढ्ने बताए । भवन निर्माणका लागि भरतपुरमा रहेको क्याम्पसको जग्गा संरक्षणका लागि पर्खाल लगाउने काम गरिएको छ ।

निर्माणाधीन क्याम्पसको भवनमा ३० बढी कोठा हुने छन् । क्याम्पस सञ्चलनका लागि आवश्यक पर्ने शैक्षिक, प्रशासनिक कार्यकक्षसँगै प्रयोगात्मक अध्ययनका लागि आवश्यक आधुनिक प्रयोगशाला, पुस्तकालयलगाय बनाइने छ । ‘क्याम्पसको भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि जनशक्ति व्यवस्थापन गरी पढाइ सुरु गर्ने गरी तयारी भइरहेको छ’, उनले भने, ‘पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा घोराही इन्जिनियरिङ क्याम्पस सञ्चालन हुने छ ।’ क्याम्पस सञ्चालनमा आएपछि पश्चिम क्षेत्रका विद्यार्थीले इन्जिनियरिङ अध्ययनका लागि काठमाडौंलगायत विदेशसम्म जानुपर्ने बाध्यता हट्ने छ । दाङमा निजी क्षेत्रबाट सञ्चालित इन्जिनियरिङ क्याम्पस भए पनि सरकारी इन्जिनियर क्याम्पस थिएन । जसले गर्दा विद्यार्थीलाई अध्ययनका लागि काठमाडांैलगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको थियो ।