सत्य र तथ्यमा आधारित पत्रकारिता आवश्यक : पोख्रेल

गोरक्ष समाचारदाता

दाङ, २७ असोज । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता सत्य, तथ्य र जिम्मेवारीमा आधारित हुनु पर्ने बताएका छन् । सञ्चारमाध्यम समाजको ऐना भएकाले समाजका सकारात्मक तथा नकारात्मक गतिविधिलाई तथ्यपरक ढङ्गले प्रस्तुत गरी नागरिकलाई सही सूचना दिनु पर्ने उनले बताए । गुरुकुल एकेडेमी लमहीमा आयोजित ‘पत्रकारसँग विद्यार्थी अन्तरक्रिया’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पोख्रेलले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै सूचना प्राप्त गर्ने माध्यम विस्तार भए पनि सबै सूचना सत्य नहुने बताए । कुनै पनि सूचना अरूसमक्ष पु¥याउनु अघि त्यसको स्रोत र तथ्य परीक्षण गर्ने बानीको विकास गर्नु पर्नेमा उनले जोड दिए । पत्रकारिता समाचार लेख्ने वा प्रसारण गर्ने काममा मात्र सीमित नभई समाजलाई सही दिशा प्रदान गर्ने माध्यमसमेत भएको पोख्रेलको भनाइ थियो । समाचार तयार गर्दा तथ्य सङ्कलन, स्रोतको विश्वसनीयता, सन्तुलन र पत्रकारिताको जिम्मेवारीलाई प्राथमिकता दिनु पर्ने उनले बताए । पछिल्लो समय सामाजिक सञ्जालमार्फत् गलत तथा भ्रामक सूचना तीव्र गतिमा फैलिने भएकाले विद्यार्थी तथा युवा पुस्तामा सञ्चार साक्षरता आवश्यक रहेको उनले बताए । विद्यार्थी जीवनदेखि नै समाचार, सूचना र सञ्चारका विषयमा चासो राख्नु पर्नेमा पोख्रेलले जोड दिए ।

कार्यक्रममा विद्यार्थीले पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने तरिका, पत्रकारको दैनिक कार्यशैली, समाचार निर्माण प्रक्रिया, पत्रकारिताका चुनौती तथा अवसर र सामाजिक सञ्जाल तथा पत्रकारिताबिचको सम्बन्धलगायतका विषयमा जिज्ञासा राखेका थिए । पोख्रेलले विद्यार्थीका जिज्ञासाको आफ्नो पत्रकारिता अनुभवका आधारमा जवाफ दिएका थिए । गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक विवेक देवकोटाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकमा आधारित शिक्षा मात्र पर्याप्त नहुने बताए ।

विद्यार्थीलाई समाज, सञ्चार र व्यावहारिक जीवनसँग जोड्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको उनले जानकारी दिए । विद्यालयले ‘शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी’लाई आत्मसात् गर्दै विद्यार्थीमा ज्ञानसँगै संस्कार, सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले अतिरिक्त तथा व्यावहारिक कार्यक्रम सञ्चालन गर्दै आएको देवकोटाले बताए । कार्यक्रमको सहजीकरण शिक्षक सुदांश जिसीले गरेका थिए ।