खेमराज रिजाल
बिजौरी (दाङ), २७ असोज । नेपालमा मानसिक रोगको समस्या भयावह अवस्थामा रहेको यस क्षेत्रमा काम गरिरहेका जानकारले बताएका छन् । वास्तविक तथ्य लुकाउँदा रोगको पहिचान र उपचारमा थप जटिलता भएको उनीहरूको निष्कर्ष थियो । अर्को कुरा समाजमा मानसिक रोगका बिरामीलाई लान्छना र भेदभाव गर्ने प्रवृत्तिले मानसिक रोग निको पार्नै समस्या हुने र अन्त्यमा आत्महत्या जस्तो घटनासमेत हाम्रो समाजमा बढिरहेको विज्ञहरूको सर्भे र अनुसन्धानले देखाएको छ । यसैगरी हिंसापीडितमा यो समस्या अझै संवेदनशील रहेको सहभागीको अभिव्यक्ति थियो ।
प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले विश्व मानसिक रोग दिवसको अवसर पारेर सोमवार चिकित्सालयको सभाहलमा आयोजना गरेको मानसिक रोग सचेतना कार्यक्रममा तथ्य प्रस्तुत गर्दै विश्व स्वास्थ्य संगठन लुम्बिनी प्रदेशका प्रतिनिधि शङ्खुक भट्टले नेपालमा मानसिक रोगको अवस्था, निराकरणका प्रयास, मानसिक रोग बढ्नाका कारण तथा निदानका उपायलगायतका विषयमा प्रस्ट्याएका छन् । पारिवारिक बेमेल, न्यून आर्थिक अवस्था, सामाजिक भेद्भाव, अन्धविश्वास तथा पछिल्लो समयमा डिजिटल एडिक्सनका कारण मानसिक रोगका बिरामको सङ्ख्यामा वृद्धि भएको उल्लेख गर्दै मानसिक रोगको अन्त्यका लागि तनाव व्यावस्थापनमा सबैको सहकार्य आवश्यक रहेको बताए ।
‘हाम्रो तथ्याङ्कमा जति मानसिक रोगी देखाइएको छ यथार्थमा त्यो तथ्य होइन, त्यो भन्दा बढी मानसिक रोगका बिरामी हाम्रो समाजमा हुनुहुन्छ’, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि भट्टले भने, ‘सामाजिक लान्छना र भेदभावका कारण मानसिक रोगका बिरामी सकेसम्म समाजमा एक्सपोज हुन चाहँदैनन्, बरु आत्महत्याको बाटो रोजिदिन्छन् ।’ आफ्नो प्रस्तुतीकरणमा उनले विश्वब्यापी र नेपालमा मानसिक रोगको अवस्था, संविधान ऐन, नियम नीति तथा नैतिक सिद्धान्त, नेपाल सरकारको राष्ट्रिय रणनीति, कार्यक्रम र सेवाको अवस्था, मानसिक रोग न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहको भूमिका, तथा जीवन अनुभवबाट वास्तविक परिवर्तनका विभिन्न शीर्षकमा आफ्नो प्रस्तुतीकरण गरे ।
उनको प्रस्तुतिमा नेपालमा वयस्क जीवनकालमा कुनै न कुनै मानसिक समस्या १० प्रतिशत, किशोरकिशोरीमा पाँच दशमलव दुई प्रतिशत तथा मानसिक रोगको समस्या देखिएकामध्ये वयस्कमा हालको समयमा कम्तीमा छ दशमलव पाँच प्रतिशतमा आत्महत्याको सोच देखिएको तथ्याङ्क समेत प्रस्तुत गरे । यही कारण आर्थिक वर्ष २०८२÷०८३ मा सात हजार एक सय ३२ जनाले आत्महत्या गरेको उनले कार्यक्रममा तथ्याङ्क सार्वजनिक गरेका थिए । मानसिक स्वास्थ्यका क्षेत्रमा रहेका विभिन्न चुनौतीका विषयमा प्रकाश पारेका थिए । लान्छना र भेदभाव, दक्ष जनशक्तिको अभाव, असमान पहँुच, वित्तीय स्रोत, औषधीको उपलब्धता, तथ्याङ्क प्रणाली, अन्तरसमन्वयको अभाव, निरन्तरता र पुनःस्थापनको अभावलगायतका क्षेत्रमा थुप्रै चुनौती रहेको उनको प्रस्तुतिमा उल्लेख थियो ।
प्रादेशिक आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सालयका निर्देशक डा प्रवेश श्रीवास्तवले चिकित्सालयमा हरेक साता एक दिन मानसिक रोग विशेषज्ञ उपलब्ध हुने तथा एक वर्षमा कम्तीमा एक हजार छ सय मानसिक रोगका बिरामीले सेवा लिएको तथ्य प्रस्तुत गर्दै अस्पतालमा हाल उपलब्ध सेवाका विषयमा जानकारी गराएका थिए । समाजमा सामाजिक सञ्जालका कारण आत्महत्याका घटनाले प्रश्रय पाइरहेको बताउँदै सरकारले सामाजिक सञ्जालहरूलाई नियमन गर्न आवश्यक कानुन निर्माण गर्नु पर्ने डा श्रीवास्तवको सुझाव थियो । सो अवसरमा त्रिभभुव विश्वविद्यालय शिक्षण अस्पतालका क्लिनिकल साइकोलोजिस्ट डा अंशु शर्माले मानसिक रोगको अवस्था, कारण र निराकरणका विषयमा आफ्नो अनुभव सुनाएकी थिइन् ।
मानसिक रोग नियमित उपचार पाए निको हुन सक्ने भन्दै मानसिक रोगका बिरामीलाई आवश्यक परामर्श आवश्यक पर्ने भएकाले नियमित निगरानी र परामर्शको व्यवस्थापन गर्न स्वास्थ्य संस्थालगायत सरोकारवाला सबैलाई आग्रह गरेकी थिइन् । चिकित्सालयका डा अर्जुनराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाका प्रतिनिधि रजनी रोकाय, तुलसीपुर उपमहानगरपालिका–१९ तप्पा पानी स्वास्थ्यचौकीका प्रमुख गोविन्द पार्धे, तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरस्थित सहरी स्वास्थ्य क्लिनीकका प्रतिनिधि डिल्लीराज शर्मा, प्रहरी चौकी हेमन्तपुरका सहायक हवलदार मन्जु चौधरी, राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रतिनिधि विष्णु पन्थीलगायतका चिकित्सालयका स्वास्थ्यकर्मीको सहभागिता थियो ।
विश्व स्वास्थ्य संगठन लुम्बिनी प्रदेशको सहयोग र प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको आयोजनामा भएको विश्व मानसिक रोग दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमको समापन गर्दै विकास समिति अध्यक्ष हिमबहादुर डाँगीले प्रादेशिक आयुर्वेद चिकित्सालयले हालै मात्र मानसिक रोग विशेषज्ञबाट सातामा एक पटक भए पनि सेवा सुरु गरेको भन्दै आगामी दिनमा आवश्यक दरबन्दीसहितको मानसिक रोग चिकित्सकको व्यवस्थापन गरी नियमित सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका थिए । मानसिक रोगको न्यूनीकरणमा सामाजिक सचेतना अभियान नितान्त आवश्यक रहेकाले यसका लागि चिकित्सालयले बेलाबेलामा यस्ता अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता जनाएका थिए ।