गुरुकुल एकेडेमीको क्लोज क्याम्प : ‘किताबी ज्ञानसँगै समाज र संस्कृति बुझ्ने अवसर’

गोरक्ष समाचारदाता

दाङ, २७ असोज । बालबालिकालाई समाज, संस्कार, संस्कृति र बाहिरी वातावरणबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले गुरुकुल एकेडेमीले विद्यार्थीका लागि पाँचदिने क्लोज क्याम्प गरेको छ । एकेडेमी घोराही, लमही र तुलसीपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनीमा क्लोज क्याम्प सञ्चालन गरेको हो ।

क्याम्पमा विद्यार्थीलाई स्थानीय वातावरण, समाज, संस्कार र संस्कृतिबारे जानकारी गराइएको एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीले जानकारी दिएका छन् । प्रधानाध्यापक राजभण्डारीका अनुसार क्लोज क्याम्पका क्रममा विद्यार्थीले उत्तरबाहिनी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व, स्थानीय सामाजिक वातावरण, आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थाबारे अनुभव प्राप्त गरेका छन् । क्लोज क्याम्पको चौथो दिन सोमवार घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्लोज क्याम्पमा सहभागी विद्यार्थीले सिकेका अनुभवबारे जानकारी गराएका थिए । त्यस क्रममा विद्यार्थीले घरदेखि टाढा गएर बस्दा समूहगत रूपमा कामको आवश्यकतासँगै स्थानीय जनजीवन र उत्तरवाहिनी क्षेत्रको धार्मिक र संस्कृतिक पक्षबारे बुभ्mन सहयोग पुगेको विद्यार्थी अनमोल केसीले बताएका थिए ।

क्लोज क्याम्पका अनुभव र सिकाइबारे जानकारी गराउँदै उनले समूहमा काम गर्ने क्षमता, नेतृत्व विकासदेखि समाजका विविध पक्षबारे बुभ्mने मौका मिलेको बताएका थिए । केसी जस्तै क्लोज क्याम्पसमा सहभागी कम्युन आचार्यले पनि क्लोज क्याम्पसले समाजको अवस्थाबारे बुभ्mन सहयोग गरेको बताए । विद्यालय अध्ययनसँगै समाजमा यसरी बसेर अध्ययन गर्दा धेरै कुरा बुभ्mन सहयोग गरेको बताएका थिए । त्यस अवसरमा उनीहरू जस्तै नौ वटा समूहकाबाट विद्यार्थीले अनुभव सुनाउँदै क्लोज क्याम्पले विद्यार्थीलाई सामाजिक वातावरणसँगै शिक्षा, स्वास्थ्य, आर्थिकलगायतको अवस्थालगायतका बारेमा बुझ्न सहयोग गरेको बताएका थिए ।

एकेडेमी घोराहीका प्रधानाध्यापक राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विद्यार्थीको समाज, संस्कार र संस्कृतिप्रतिको लगाव तथा अनुभवप्रति खुसी व्यक्त गरेका थिए । विद्यालयका किताबी ज्ञानसँगै बालबालिकाको चौतर्फी विकासका लागि व्यावहारिक ज्ञानका लागि विद्यालयले आयोजना गरेको क्लोज क्याम्पले समाजका विविध पक्षबारे ज्ञान गराउने बताए । विद्यार्थीलाई कक्षा कोठासँगै समाजसँग जोडेर किताबी ज्ञान सँगसँगै बाहिरी वातावरणबारे अध्ययन गराउने कार्यक्रममा सहभागी बनाएर ज्ञान दिन सके प्रभावकारी हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले विद्यालयको नियमित शिक्षासँगै विद्यार्थीलाई व्यावहारिक पक्षको ज्ञानका लागि क्लोज क्याम्पले सहयोग गर्ने बताए । गुरुकुलले आयोजना गर्ने क्लोज क्याम्पलगायतका कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने धारणा राखेका थिए । कार्यक्रममा माता पवित्रादेवी साङ्वेद संस्कृत गुरुकुलका प्रमुख एवम् व्यवस्थापक प्रकाश भट्टराईले धार्मिक एवम् सांस्कृतिक रूपमा पवित्र भूमि उत्तरबाहिनी त्रिवेणी धाममा भएको विद्यार्थीको क्लोज क्याम्पले धेरै कुरा सिक्ने अवसर प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । उनले पवित्र ठाउँमा भएको क्लोज क्याम्पले विद्यार्थीबिच सिकाइ आदानप्रदानसँगै अनुशासन र धार्मिक पक्षबारे ज्ञान बढाउने काम गरेको बताए ।

एकेडेमीले हरेक वर्ष कक्षा २, ६ र ९ का विद्यार्थीका लागि विभिन्न ठाउँमा क्लोज क्याम्प आयोजना गर्दै आएको छ । विद्यालयकी शिक्षक जानकी रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक यज्ञमूर्ति पोख्रेलसँगै विद्यार्थी रोशिका खनाल र दिग्दर्शन न्यौपानेले गरेका थिए ।