सुपथ मुल्यको पसलबाट २७ लाखको चिनी र नून बिक्री बिक्री

दाङ, २६ असोज । घोराहीमा सञ्चालन भएको सुपथ मुल्यको पसलबाट २७ लाख बढीको चिनी र नुन बिक्री भएको छ । घोराही उपमहानगरपालिका–१५ घोराहीमा साल्ट टे«डिङ कर्पोरेशन प्रालि दाङ शाखाले सञ्चालन गरेको दशै–तिहार लक्षित सुपथ मुल्यको पसलबाट २० दिनको अवधिमा चार हजार आठ सय आठ जनालाई २७ लाख ५५ हजार दुई सय २० रुपियाँ मुल्य बराबरको चिनी र नुन बिक्री भएको छ ।

असोज १ गतेदेखि सञ्चालन भएको सुपथ मुल्यको पसलबाट २३ लाख ७७ हजार एक सय रुपियाँ बराबरको २३ हजार सात सय ७१ किलो चिनी र तीन लाख ७८ हजार एक सय २० रुपियाँ मुल्यको १५ हजार सात सय ५५ किलोग्राम नून बिक्री भएको साल्ट टे«डिङ कर्पोरेशन प्राली दाङ शाखा प्रमुख रामबाबुप्रसाद गुप्ता बताउनुहुन्छ । उहाँका अनुसार सुपथ मुल्यको पसलमा दैनिक चिनी र नून खरिदका लागि ६ देखि ७ सयसम्म ग्राहक आउने गरेका छन् ।

चाडपर्वको समयमा चिनीको अध्यधिक माग भइरहेको भन्दै शाखा प्रमुख गुप्ताले भने,‘सपथ मुल्यको पसल सञ्चालन भएपछि चिनीका लागि दैनिक जसो नागरिकको लाइन लाग्ने गरेको छ । उपभोक्ताको सहजताका लागि चिनीसँगै हामीले नुन पनि बिक्री गर्ने गरेकाछौ ।’ उनका अनुसार सुपथ मुल्यको पसलबाट सय रुपिया केजी चिनी र २४ रुपियाँ प्रतिकेजी नुन बिक्री गर्ने गरेको छ । सुपथ मुल्यको पसलबाट साल्ट ट्रेडिङ कर्पोरेशनले प्रतिव्यक्ति ६ किलो आयो नुन र ५ किलो चिनी प्रदान गर्ने गरेको छ । चिनी र नूनमा प्रतिकिलो पाँच रुपियाँ छुटको व्यवस्था रहेको छ ।

कात्तिकको १ गतेसम्म सञ्चालन हुने सुपथ मुल्यको पसलबाट सार्वजनिक विदाको दिन बाहेक अन्य दिनमा कार्यालय समय अनुसारको समयमा चिनी र नुन बिक्री गर्दै आएको छ । उपभोक्ताले भने चाडवपर्वको समयमा चिनी र नुन जस्तै ट्रेडिङ कर्पोरेशनका शाखाले अतिआवश्यक खाद्य वस्तु चामल, दाल, तेल, पिठोजस्ता खाद्य वस्तु राख्नुपर्ने माग गर्दै आएका छन् ।