बालाराम खड्का
दाङ, २२ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री खड्गराज पौडेलले दाङको टरिगाउँ एयरपोर्टमा ७२ सिटे जहाज अवतरण गर्न सक्ने गरी ‘रनवे’ विस्तार गर्ने बताएका छन् । टरिगाउँ एयरपोर्टको विकासका लागि बुधवार तुलसीपुरमा आयोजना गरिएको प्राविधिकसहितको छलफल कार्यक्रममा मन्त्री पौडेलले ७२ सिटे जहाज अवतरण गर्न सक्ने गरी एयरपोर्टको रनवे दुई वर्षभित्रमा कम्तिमा १४ सय मिटर लम्बाइको भएको रनवेका रूपमा विस्तार गरिने बताएका हुन् ।
एयरपोटको निरीक्षणसँगै भएको छलफल कार्यक्रममा मन्त्री पौडेलले टरिगाउँ एयरपोर्ट उचाइमा रहेकाले नेपालगन्जमा कुहिरोले ढाकेर वा अन्य कारणले जहाज अवतरण हुन नसक्ने अवस्था आएमा यो वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सहज हुने बताए । उनले आफू तुलसीपुरमै पढेर हुर्किएको स्मरण गर्दै यसक्षेत्रको चौतर्फी विकासका लागि एयरपोर्ट विस्तार अति आवश्यक रहेको बताए । राप्ती प्रादेशिक अस्पताल राम्ररी सञ्चालन हुन नसक्नुको एउटा कारण एयरपोर्ट विस्तार हुन नसक्नु पनि भएको भन्दै मन्त्री पौडेलले धावनमार्ग विस्तार भए बाहिरका चिकित्सकले बिरामी जाँच गरेर आउजाउ गर्न सहज हुने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् सांसद विपिनकुमार आचार्यले आगामी दुई वर्षभित्र एयरपोर्टको धावन मार्ग विस्तार गर्दै नियमित हवाई सञ्चालन गर्ने गरी विस्तारको काम हुने बताए । आचार्यले कुनै नेताको इगोभन्दा पनि तथ्यमा आधारित विकास गर्न चाहेको बताए । दाङसहित साविक राप्ती क्षेत्रको विकासका लागि एयरपोटको विस्तार हुन आवश्यक रहेको भन्दै आचार्यले भने, ‘टरिगाउँ एयरपोर्टले १७–१८ लाख जनसङ्ख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पार्छ र यसको महत्त्व कनेक्टिभिटीमा मात्र सीमित छैन, समग्र अर्थतन्त्रमै प्रभाव पार्ने खालको छ । एयरपोट विस्तार हुन नसक्ने अवस्था भए कारण बताइदिनुपर्छ, होइन भने एयरपोर्ट बनाइनुपर्छ ।’ उनले एयरपोर्ट बनाउँदै गर्दा सल्यान, रोल्पाबाट आउने सडकलगायत पहुँचमार्ग स्तरोन्नति गर्नु पर्ने बताए । राज्यले सधैं सञ्चालन नगर्ने भएकाले एयरपोर्टसँग जोडिने सरोकारवालाले दिगोपनाका लागि अहिले नै तयारी थाल्न उनले आग्रह गरे ।
तुलसीपुरस्थित नेपाल संस्कृति विश्वविद्यालयले पनि दाङलाई आर्थिक हबका रूपमा विकास गर्न भूमिका खेल्न सक्ने उनको भनाइ थियो । उनले २०११ सालमा स्थापना भएको नेपालको पुरानो एयरपोर्टको विस्तार अब निश्चित रूपमा हुने दाबी गरे । निर्वाचनको समयमा ‘घन्टी बजाउनुस्, काम नगरे अर्को पटक त्यही घन्टी टाउकोमा बजाउनुस’ भनेको स्मरण गर्दै उनले यसैगरी काम भए मतपत्रमै घन्टी रहने विश्वास व्यक्त गरे । पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले प्रदेश राजधानी रहेको जिल्लाका लागि पनि एयरपोर्ट विस्तार आवश्यक रहेको बताए ।
प्राविधिक अध्ययनपछि जग्गा प्राप्तिका लागि सबैको सहयोग चाहिने उनको भनाइ थियो । राश्वपाका सहप्रवक्ता तथा समानुपातिक सांसद सुरेन्द्र चौधरीले अघिल्ला नेताहरूले पटक पटक ढाँटे पनि यसपटक दाङवासी ढाँटिनु नपर्ने बताए । विस्तार भए दाङ आसपासका आधा दर्जनभन्दा बढी जिल्लाको अर्थतन्त्र चलायमान हुने भन्दै एयरपोर्ट विस्तार हुनेमा जनतालाई ढुक्क हुन आग्रह गरेका थिए । दाङ क्षेत्र नं. ३ का सांसद कमल सुवेदीले एयरपोर्ट नहुँदा बिरामी, अशक्त र गर्भवती महिलाले उपचारका लागि बाहिर जाँदा सास्ती खेप्नुपरेको बताए । जाडो महिनामा छिट्टै घाम लाग्ने भएकाले टरिगाउँ नेपालगन्ज र भैरहवाको विकल्प बन्न सक्ने उनको तर्क थियो ।
विगतमा ठूलो खर्च देखाएर तर्साइँदै काम रोकिएको भए पनि अब विस्तार सरासर अघि बढ्ने उनले दाबी गरे । विकासमा राजनीति नगर्न आग्रह गर्दै उनले दाङलाई पर्यटन सर्किटसँग जोड्न पनि एयरपोर्ट विस्तार अपरिहार्य रहेको बताए । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख श्यानी चौधरीले एयरपोर्ट विस्तारले मात्र दाङसँगै छिमेकी जिल्लाको विकास हुने बताएकी थिइन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले २०११ सालदेखि २०४२ सालसम्म घाँसे मैदानमै जहाज सेवा चलेको र त्यसपछि सेवा अवरुद्ध भएको स्मरण गरे । सेवा सुचारु गर्न संघले एक वर्ष टिकटको जिम्मा लिएको उल्लेख गर्दै विस्तार भएमा राप्तीका वाणिज्य संघहरू मिलेर छ महिना त्यस्तो जिम्मा लिने उनले बताए ।
‘हरेक चुनावमा एयरपोर्ट विस्तारको कुरा आउँछ, तर पछि २६ बिघाको कम्पाउन्डभित्रै हराउँछ’, उनले भने । लोकेन्द्र विष्ट मगर मन्त्री हुँदा १० करोड बजेट विनियोजन भई कालोपत्रे भएको र यसपटक इतिहासमै सबैभन्दा बढी २५ करोड परेकाले अब धावनमार्ग विस्तार हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले दाङसहित साविक राप्ती क्षेत्रको विकासका लागि एयरपोर्ट निर्माण अनिवार्य आवश्यकता भएको भन्दै पहल गर्न मन्त्रीलगायत जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
प्युठानबाट निर्वाचित सांसद सुशान्त बैदिकले क्षेत्रीय सिन्डिकेट तोडेर अघि बढ्ने भन्दै टरिगाउँ स्तरोन्नति हुनु पर्नेमा जोड दिए । सांसदहरू देवराज पाठक, रिमा विश्वकर्मा र रास्वपा तुलसीपुर नगरसभापति जीवन भण्डारीले विमानस्थल स्तरोन्नतिको जिम्मेवारी रास्वपा र वर्तमान सरकारको रहेको बताए ।