गोरक्ष समाचारदाता
दाङ, २२ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज (बिहिबार) मतदान हुने भएको छ । पार्टी सभापतिलगायतका उपसपभाति, महामन्त्री, सहमहामन्त्रीसँगै केन्द्रीय सदस्य चयनका लागि आज बिहान १०ः०० बजेदेखि सुरु हुने मतदानमा सात हजार दुई सय ५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्ने छन् ।
नेपाली कांग्रेसको नयाँ नेतृवका लागि सभापतिमा गगनकुमार थापा र श्यामकृष्ण खड्कीले प्रतिस्पधा गर्दै छन् । सभापतिमै पूर्व सहमहामन्त्री किशोरसिंह राठोरले उम्मेदवारी दर्ता गराए पनि उनले फिर्ता लिएपछि थापा र खड्कीबिच प्रतिस्पर्धा हुने भएको हो । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई काठमाडौं निवासी खड्कीले चुनौती दिन थालेका छन् ।
कांग्रेसको वरिष्ठ उपभातिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भए पनि अन्य पदमा भने प्रतिस्पर्धा हुन थालेको छ । नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने विभिन्न ठाउँ छुट्याइएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ । यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने छन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभातिमा दीपक गिरी, सहमहामन्त्रीमा योगेन्द्र चौधरीलगायत १५ जनाले केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।