सुत्केरी र दुर्घटनाका बिरामीलाई निःशुल्क एम्बुलेन्स

गोरक्ष समाचारदाता

दाङ, २१ असोज । सञ्जीवनी शिक्षण अस्पतालले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचारका लागि आउने तथा आकस्मिक अवस्थामा रहेका बिरामीलाई समयमै अस्पताल पु¥याउने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरिएको हो ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिका–३ का वडाध्यक्ष रामप्रसाद चौधरीले एम्बुलेन्स सेवाको उद्घाटन गरेका हुन् । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार घोराही बजार क्षेत्रदेखि पूर्वतर्फ कुइरेपानीसम्मका सुत्केरी, दुर्घटनाका बिरामी तथा अन्य स्वास्थ्य संस्थाबाट रिफर भई सञ्जीवनी शिक्षण अस्पतालमा उपचारका लागि आउनु पर्ने बिरामीलाई अवस्था अनुसार निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ । अस्पतालमा भर्ना हुनु पर्ने अवस्थाका बिरामीलाई प्राथमिकतामा राखेर एम्बुलेन्स सेवा सञ्चालन गरिने उनले बताए छ । विशेष गरी सुत्केरी महिला, दुर्घटनाका घाइते तथा तत्काल अस्पताल पु¥याउनु पर्ने बिरामीलाई सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

रोका एम्बुलेन्स सेवा अस्पतालको व्यावसायिक विस्तारभन्दा पनि बिरामीलाई समयमै उपचारको पहुँचमा पु¥याउने सामाजिक उत्तरदायित्वसँग जोडिएको पहल भएको बताए । अस्पतालमा एम्बुलेन्स सेवा थपिएपछि बिरामीलाई अस्पतालसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष चौधरीले अस्पतालले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले आकस्मिक स्वास्थ्य सेवामा समयको विशेष महत्व हुने भएकाले एम्बुलेन्स सेवाले बिरामीको उपचारमा सहजता ल्याउने बताए । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले उपचारसँगै स्वास्थ्य संस्थाले सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिनु पर्ने बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बाचस्पति सुवेदीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन प्रमुख सुशील रिजालले गरेका थिए ।