गोरक्ष समाचारदाता
दाङ, २१ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र युवा प्यानलले जिल्लाको आर्थिक विकास, व्यवसायीको हित संरक्षण तथा औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘समृद्ध दाङ, सशक्त व्यवसायी ः सबल र गतिशील उद्योग वाणिज्य संघ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा संस्थागत सुदृढीकरणदेखि लगानी प्रवर्धन र नीतिगत पैरवीसम्मका विषयलाई प्राथमिकतामा राखिएको छ ।
प्रतिबद्धतापत्रमा संघको वर्तमान आर्थिक तथा संस्थागत अवस्थालाई पारदर्शी बनाउन श्वेतपत्र जारी गर्ने स्वतन्त्र युवा प्यानका अध्यक्ष पदका उम्मेदवार अनिल आचार्यले बताए । दाङको आर्थिक विकासका लागि बृहत् आर्थिक मार्गचित्र तयार गरी सार्वजनिक तथा कार्यान्वयन गर्ने योजना अघि सारिएको बताइएको छ । संघलाई राप्ती क्षेत्रकै अग्रणी, साझा, भरपर्दो तथा गतिशील अभिभावक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि गरिएको छ । उद्योगी तथा व्यावसायिका समस्या समाधानका लागि नेतृत्वलाई पारदर्शी, जवाफदेही र पहुँचयोग्य बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । लुम्बिनी प्रदेशको राजधानी दाङमा रहेकाले प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न संघसंस्थासँग समन्वय गरी जिल्लाको अर्थतन्त्र सुदृढ गर्ने ठोस कार्ययोजना बनाउने भनिएको छ । व्यावसायिक नेतृत्वबिच नियमित संवाद र बैठक गरी आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिचान गर्ने योजना अघि सारिएको छ । संघको भूमिका र उपस्थिति स्थानीय तह, प्रदेश सरकार तथा निजी क्षेत्रका विभिन्न संस्थासँगको निरन्तर समन्वयमार्फत् थप प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ ।
व्यवसायीका तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि विशेष संयन्त्र स्थापना गर्ने योजना प्रतिबद्धतापत्रमा छ । व्यवसायीका आकस्मिक समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न हेल्पडेस्कसहितको द्रुत गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्ने उल्लेख गरिएको छ । साना व्यवसायीको संरक्षण तथा ठुला व्यवसायीलाई प्रोत्साहन गर्न विशेष नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता गरिएको छ । साना व्यवसायीलाई संगठित गर्दै व्यवसाय विस्तार र प्रवर्धनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा परम्परागत व्यवसायीलाई नयाँ प्रविधि, डिजिटल रूपान्तरण र बजारका नयाँ आयामबारे जानकारी गराउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ । व्यवसायमा व्यावसायिकता, शुद्धता र अनुशासन कायम गर्न व्यवसायीलाई संगठित गर्दै नापतौल तथा मूल्य अनुगमनमा सहजता र पारदर्शिता ल्याउने प्रतिबद्धता गरिएको छ । दाङमा सञ्चालित ईट्टा उद्योगले भोगिरहेका वातावरण, कच्चापदार्थ तथा बजारसम्बन्धी समस्या समाधानका लागि स्थानीय तह र सरकारसँग समन्वय गर्ने भनिएको छ ।
औद्योगिक पूर्वाधार विकासतर्फ दाङमा औद्योगिक क्षेत्र स्थापना, बजार व्यवस्थापन तथा सडक र यातायातको कनेक्टिभिटी सुधारका लागि सशक्त पहल गर्ने प्रतिबद्धता गरिएको छ । जिल्लाको आर्थिक तथा पर्यटकीय सम्भावना विस्तारका लागि टरिगाउँ विमानस्थलको नियमित सञ्चालन र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ । घोराहीलगायत प्रमुख बजार क्षेत्रमा रात्रिकालीन व्यवसाय प्रवर्धनका लागि सुरक्षा, पूर्वाधार तथा नीतिगत सुधारका लागि पहल गर्ने उल्लेख गरिएको छ । व्यवसायीको लगानी र वित्तीय पहुँच विस्तारका लागि बैङ्क, वित्तीय संस्था तथा सहकारीसँग समन्वय गरी सुलभ ब्याजदर, पहुँचयोग्य कर्जा तथा वित्तीय सहजीकरणका लागि पहल गर्ने प्रतिबद्धता गरिएको छ । चर्को ब्याजदर, प्रिमियम दरमा हुने अस्वाभाविक वृद्धि तथा तरलता समस्याका विषयमा नेपाल राष्ट्र बैंक र वित्तीय संस्थासँग नीतिगत पैरवी गर्ने योजना अघि सारिएको छ ।
दाङका सबै पालिकामा रहेका उद्योग वाणिज्य संघसँग नियमित संयुक्त बैठक तथा सहकार्य गर्ने र स्थानीय बजार तथा बजारोन्मुख क्षेत्रको सम्भाव्यता अध्ययन गरी नयाँ व्यवसायका क्षेत्र पहिचान गर्ने प्रतिबद्धता गरिएको छ । नापतौल तथा गुणस्तर परीक्षणसम्बन्धी सेवा जिल्लामै सहज रूपमा उपलब्ध गराउन पहल गर्ने तथा व्यवसाय दर्ता, नवीकरण, कर तथा राजस्व परामर्श र व्यावसायिक इजाजतपत्रसम्बन्धी काममा संघमार्फत् सहजीकरण गर्ने योजना पनि सार्वजनिक गरिएको छ । आर्थिक मन्दीबाट प्रभावित व्यवसायीलाई राहत, कर छुट तथा ऋण पुनर्संरचनाका लागि नेपाल सरकार र राष्ट्र बैंकसमक्ष पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
अव्यावहारिक कर प्रणाली, जरिवाना तथा झन्झटिला प्रशासनिक प्रक्रियामा सुधारका लागि स्थानीय तह र आन्तरिक राजस्व कार्यालयसँग समन्वय गर्ने भनिएको छ । जिल्लाका सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलको प्रवर्धन गरी आन्तरिक तथा बाह्य पर्यटन विस्तार गर्ने र महिला तथा युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा, स्टार्टअप सहयोग, तालिम तथा बजारीकरणका अवसर उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ । प्रतिबद्धतापत्रमा ‘सुरक्षित व्यवसाय, सबल पूर्वाधार र पारदर्शी नेतृत्व–समृद्ध दाङको बलियो आधार’ भन्ने संकल्प अघि सारिएको छ ।