पार्टीभित्र एकतासँगै सङ्गठनलाई व्यवस्थित बनाउन ध्यान दिनेछु : सभापति गिरी [अन्तर्वार्ता]

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ दाङको सभापतिमा दिनेश गिरी निर्वाचित हुनुभएको छ । क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेसँगै उहाँसामु सङ्गठनलाई थप व्यवस्थित र चलायमान बनाउने, कार्यकर्ताको मनोबल बढाउने, युवा पुस्तालाई पार्टीसँग जोड्ने तथा आगामी निर्वाचनका लागि सङ्गठनलाई मजबुत बनाउने जिम्मेवारी थपिएको छ । सभापति दिनेश गिरीको आगामी कार्ययोजना, सङ्गठन विस्तार, कार्यकर्ताका अपेक्षा, आन्तरिक एकता र आगामी निर्वाचनको तयारीलगायत विषयमा गोरक्षकर्मी प्रिया स्मृती गजमेरले क्षेत्रीय सभापति सँग गरेको कुराकानीको सारसंक्षेप ।

 सभापतिमा निर्वाचित भएपछि अब सङ्गठनलाई कसरी अघि बढाउने सोच्नु भएको छ ?

 मलाई विश्वास गरेर क्षेत्रीय सभापतिको जिम्मेवारी दिनुहुने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, नेता तथा कार्यकर्ताप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । यो पद मेरा लागि व्यक्तिगत उपलब्धिभन्दा पनि ठूलो जिम्मेवारी हो । अब मेरो पहिलो प्राथमिकता सङ्गठनलाई व्यवस्थित, सक्रिय र एकताबद्ध बनाउनु हुनेछ । वडा तहदेखि क्षेत्रसम्म पार्टीको सङ्गठनात्मक अवस्था बुझेर आवश्यक सुधार गर्नेछु । कार्यकर्तासँग नियमित संवाद गर्ने, उनीहरूको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने वातावरण बनाउने मेरो प्राथमिकता हुनेछ ।

 सङ्गठन विस्तारका लागि तपाईंको योजना के छ ?

 सङ्गठन विस्तार भाषण र नाराबाट हुँदैन । त्यसका लागि नियमित रूपमा जनताको बिचमा पुग्नुपर्छ । क्षेत्रभित्रका सबै वडा र टोलमा सङ्गठनको अवस्था अध्ययन गर्नेछौँ । निष्क्रिय रहेका संरचनालाई सक्रिय बनाउने, नयाँ सदस्यलाई पार्टीसँग जोड्ने र युवाहरूलाई जिम्मेवारी दिने कामलाई प्राथमिकता दिनेछौँ । पार्टीका कार्यक्रम चुनाव केन्द्रित मात्र नभई नियमित रूपमा जनतासँग जोडिने खालका हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

कार्यकर्ताको गुनासो कसरी सम्बोधन गर्नुहुन्छ ?

 कार्यकर्ता पार्टीको मेरुदण्ड हुन् । चुनावको समयमा मात्र होइन सामान्य अवस्थामा पनि नेतृत्व र कार्यकर्ताबीच निरन्तर सम्पर्क हुनुपर्छ । म क्षेत्रीय सभापतिको हैसियतले कार्यकर्तासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनेछु । वडा, पालिका र प्रदेश तहमा पुगेर नियमित भेटघाट र छलफल गर्ने वातावरण बनाउनेछु । कार्यकर्ताले आफ्नो कुरा नेतृत्वसमक्ष राख्न सक्ने सहज प्रणाली विकास गर्नु आवश्यक छ ।

 पार्टीभित्रको आन्तरिक एकता कसरी बलियो बनाउनुहुन्छ ?

 लोकतान्त्रिक पार्टीमा विचार र दृष्टिकोण फरक हुनु स्वाभाविक हो तर फरक विचारलाई विभाजनको कारण बनाउनु हुँदैन भन्ने मेरो मान्यता हो । निर्वाचन सकिएपछि सबै साथीहरूलाई समेटेर अघि बढ्नु मेरो जिम्मेवारी हो । म कसैलाई पराजित पक्षका रूपमा हेर्न चाहन्नँ । निर्वाचनमा प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया हो, अब सङ्गठन निर्माणमा सबैको भूमिका आवश्यक छ । सहमति, सहकार्य र संवादबाट क्षेत्रीय सङ्गठनलाई अघि बढाउने प्रयास हुनेछ ।

 युवा पुस्तालाई पार्टीमा जोड्नका लागि के तयारी गर्नुभएको छ ?

 युवालाई अवसर दिने कुरा अब नारामा मात्र सीमित हुनु हुँदैन । युवा पुस्ता पार्टीको भविष्य मात्र होइन, वर्तमानको पनि महत्वपूर्ण शक्ति हो । उनीहरूको क्षमता र रुचिअनुसार जिम्मेवारी दिनुपर्छ । प्रविधि, सञ्चार, सामाजिक सञ्जाल, सङ्गठन व्यवस्थापनलगायत क्षेत्रमा युवाको भूमिका प्रभावकारी हुन्छ । त्यसैले योग्य र सक्रिय युवालाई सङ्गठनभित्र जिम्मेवारी दिने र नेतृत्व विकासको अवसर सिर्जना गर्ने मेरो प्राथमिकता हुनेछ ।

 समावेशी सहभागितालाई कसरी अघि बढाउनुहुन्छ ?

 कांग्रेस सबै समुदायको साझा पार्टी हो । त्यसैले सङ्गठनको संरचनामा पनि समाजको विविधता प्रतिबिम्बित हुनुपर्छ । समावेशी सहभागितालाई निर्वाचनको समयमा मात्र सम्झिने होइन, सङ्गठन सञ्चालनको नियमित प्रक्रियामै जोड्नुपर्छ । महिला, दलित, आदिबासी जनजाति, अल्पसंख्यक तथा पछाडि परेका समुदायका साथीहरूलाई नेतृत्वमा आउन प्रोत्साहित गर्ने र उनीहरूको क्षमता विकासका लागि अवसर सिर्जना गर्नेछौँ ।

क्षेत्रका स्थानीय मुद्दालाई कसरी उठाउनुहुन्छ ?

 क्षेत्र नं. १ को आफ्नै विशिष्टता छ । देउखुरी क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, सिँचाइ, बजार व्यवस्थापनलगायत विषय महत्वपूर्ण छन । यी विषयमा जनताको वास्तविक समस्या बुझेर सम्बन्धित तहमा आवाज उठाउनुपर्छ । पार्टी सङ्गठन जनताको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने माध्यम बन्नुपर्छ । त्यसैले स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।

 आगामी निर्वाचनका लागि तयारी कहिलेदेखि सुरु गर्नुहुन्छ ?

 निर्वाचन आयोगले फागुनमै निर्वाचन गर्ने बताई सकेको छ । अहिलेबाटै सङ्गठनलाई वडा र टोल तहसम्म विस्तार गर्न सबै कुरा व्यवस्थित गर्नुपर्छ । मतदाता र जनताको अवस्था बुझ्ने, कार्यकर्ताबिच समन्वय बढाउने र पार्टीका नीति तथा कार्यक्रम जनतासम्म पु¥याउने काम निरन्तर हुनुपर्छ । निर्वाचन आउँदा मात्र सक्रिय हुनेभन्दा पाँच वर्ष नै जनताको बीचमा रहने सङ्गठन निर्माण गर्न सके त्यसको परिणाम पनि सकारात्मक हुन्छ ।

 सङ्गठनमा पारदर्शिता कसरी कायम गर्नुहुन्छ ?

 जिम्मेवारीसँगै जवाफदेहिता पनि मुख्य पक्ष हो । सङ्गठनका निर्णय र कार्यक्रम सकेसम्म पारदर्शी ढङ्गले सञ्चालन गर्नुपर्छ भन्ने मेरो बुझाई हो । क्षेत्रीय समितिको कामकारबाहीमा साथीको सहभागिता बढाउनेछौँ । महत्वपूर्ण विषयमा छलफल गरेर निर्णय गर्ने र निर्णयको कार्यान्वयनमा सबैलाई सहभागी गराउने मेरो प्रयास हुनेछ । नेतृत्व र कार्यकर्ताबिच विश्वास कायम गर्न पारदर्शिता अत्यन्त आवश्यक छ ।

 तपाईंको कार्यकालमा नयाँ काम के गर्ने योजना छ ?

 मेरो कार्यकालमा विशेष जोड पार्टी सङ्गठनलाई नियमित, व्यवस्थित र चलायमान बनाउनेमा हुनेछ । पार्टीका बैठक, भेला र कार्यक्रम औपचारिकतामा सीमित हुनु हुँदैन । ती कार्यक्रमबाट कार्यकर्ताले नयाँ ऊर्जा, राजनीतिक ज्ञान र जिम्मेवारीको भावना प्राप्त गर्न सक्ने वातावरण बनाउन आवश्यक छ । त्यसैले नियमित बैठकसँगै राजनीतिक प्रशिक्षण, वैचारिक संवाद, कार्यकर्ता अन्तरक्रिया तथा सङ्गठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्ने मेरो योजना छ ।

त्यसैगरी युवा र महिलाको सहभागितालाई अझ अर्थपूर्ण र प्रभावकारी बनाउनेतर्फ पनि मेरो ध्यान हुनेछ । नयाँ पुस्तालाई जिम्मेवारी दिने, उनीहरूको क्षमता र सिर्जनशीलतालाई पार्टी सङ्गठनमा प्रयोग गर्ने तथा नेतृत्व विकासका अवसर सिर्जना गर्ने कामलाई प्राथमिकतामा राख्नेछु । समाजसँग पार्टीको सम्बन्ध बलियो बनाउन सामाजिक अभियान, जनसम्पर्क, जनताको समस्या बुझ्ने र स्थानीयस्तरमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम पनि नियमित रूपमा अघि बढाउन चाहन्छु । आजको पुस्ताले खोजेको राजनीति र सङ्गठनको शैलीलाई पनि हामीले बुझ्न आवश्यक छ ।

प्रविधि र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै पार्टीका गतिविधि, नीति, विचार र कार्यक्रमलाई जनतासम्म पु¥याउने तथा युवालाई पार्टीसँग जोड्ने वातावरण निर्माण गर्नेछु । मेरो मुख्य उद्देश्य भनेको नयाँ पुस्ताले ‘कांग्रेस मेरो पनि राजनीतिक घर हो, यहाँ मेरो विचार र क्षमताको सम्मान हुन्छ’ भन्ने अनुभूति गर्न सक्ने वातावरण बनाउनु हो । सङ्गठनलाई बलियो बनाउँदै पार्टीलाई जनतासँग अझ नजिक जोड्ने गरी काम गर्ने मेरो योजना हुनेछ ।

 तपाईंका लागि मुख्य चुनौती के हो ?

 सबैलाई समेटेर, सबैको भावना र विचारलाई सम्मान गर्दै एउटै उद्देश्यका साथ सङ्गठनलाई अघि बढाउनु नै मेरो मुख्य चुनौती हो । निर्वाचनका क्रममा स्वाभाविक रूपमा प्रतिस्पर्धा हुन्छ, विभिन्न समूह र उम्मेदवारबिच विचार तथा दृष्टिकोणमा फरकपन पनि देखिन्छ तर निर्वाचनको परिणामपछि हामी सबै एउटै पार्टीका सहयात्री हौँ भन्ने भावनाका साथ अघि बढ्नुपर्छ । त्यसका लागि निर्वाचनमा देखिएको प्रतिस्पर्धालाई त्यहीँ सीमित राखेर सङ्गठन निर्माणमा सबैको क्षमता, अनुभव र योगदानलाई समेट्न आवश्यक छ । व्यक्तिगत सम्बन्ध, गुट–उपगुट वा आन्तरिक प्रतिस्पर्धाभन्दा माथि उठेर पार्टी र जनताको हितलाई केन्द्रमा राख्न सकियो भने धेरै चुनौती आफैँ समाधान हुँदै जान्छन् ।

सङ्गठनलाई बलियो बनाउन नेतृत्व र कार्यकर्ताबिच निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक हुन्छ । म कुनै पक्षलाई अलग राखेर होइन, सबै पक्षसँग संवाद गर्दै, सबैको सुझाव र भावनालाई समेटेर अघि बढ्नेछु । नयाँ पुस्तालाई अवसर दिने, अनुभवी नेताकार्यकर्ताको अनुभवलाई उपयोग गर्ने र पार्टीको सङ्गठनलाई जनतासँग अझ नजिक बनाउने मेरो प्राथमिकता हुनेछ । त्यसैले चुनौतीलाई समस्याका रूपमा मात्र होइन, सङ्गठनलाई अझ बलियो बनाउने अवसरका रूपमा लिएर काम गर्नेछु ।

 तपाईहरू निर्वाचनमा होमिएको बेला एउटा समूह नियमित महाधिवेशनको पक्षमा छ, त्यो समयलाई कसरीमा पार्टीमा जोड्नुहुन्छ ?

 सस्थापत पक्ष महाधिवेशनमा जोडिएको छ । वडा, स्थानीय तह हुँदै प्रदेश र क्षेत्रीय कार्यसमिति चयन गर्दै केन्द्रीय नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ । काठमाठौँमा भव्य महाधिवेशनको उद्घाटन भएर नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भइसकेको छ तर पार्टीमा सस्थापन इतर भन्ने पूर्व सभापति शेरबहादुर देउवा पक्षीय समूह अहिलेपनि नियमित महाधिवेशनको पक्षमा छ । उक्त समूह महाधिवेशनमा जोडिएको छैन ।

सङ्ख्यात्मक रुपमा थोरै धेरै जे भएपनि त्यसको केही असर पर्नेछ । पक्कै पनि यो केन्द्रबाटै छिट्टै समाधान हुनेछ । अहिले पनि कतिपय सक्रिय कार्यकर्तालाई कता जोडिने भन्ने दुविधा छ । त्यो हटाउँदै पार्टीलाई एकताबद्ध र कार्यकर्तालाई चलायमान बनाउनका लागि लाग्ने छु । सबै नेता तथा कार्यकर्तालाई समान रूपमा पार्टीमा अवसर दिँदै कांग्रेसलाई सङ्गठित, व्यवस्थित र चलायमान बनाउनका लागि मेरो भूमिका हुनेछ । त्यसका लागि सबैसँग साथ र सहयोगको अपेक्षा रहेको छ ।

 अन्त्यमा कार्यकर्ता र नागरिकलाई तपाईंको सन्देश के छ ?

 निर्वाचनमा मलाई विश्वास गरेर जिम्मेवारी दिनुहुने सम्पूर्ण प्रतिनिधि तथा साथीहरूलाई पुनः धन्यवाद दिन चाहन्छु । यो जिम्मेवारी मेरो मात्र होइन, हामी सबैको हो । म एक्लैले सङ्गठन बनाउन सक्दिनँ । सबै नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकको साथ आवश्यक छ । क्षेत्र नं. १ मा कांग्रेसलाई थप सङ्गठित, जनमुखी र सक्रिय बनाउन हामी सबै मिलेर काम गरौँ । कार्यकर्ताका जायज अपेक्षा र गुनासालाई सुन्नेछौँ । जनताको समस्या र आवश्यकतालाई पार्टीको प्राथमिकतासँग जोड्ने प्रयास गर्नेछौँ । मेरो कार्यकाललाई सबैको सहभागिता, सहकार्य र संवादको कार्यकाल बनाउन चाहन्छु । कांग्रेसलाई बलियो बनाउने जिम्मेवारी नेतृत्वको मात्र होइन प्रत्येक कार्यकर्ताको साझा जिम्मेवारी हो ।