गोरक्ष समाचारदाता
दाङ, २० असोज । आगामी असोज २४ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै प्रजातान्त्रिक व्यावसायिक प्यानले व्यवसायीको हित, औद्योगिक विकास र जिल्लाको आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको छ । सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतिबद्धता सार्वजनिक गरेको हो ।
‘सुरक्षित व्यापार, वर्तमानमा सम्मान, भविष्यमा परिणाम’ भन्ने अवधारणासहित सार्वजनिक गरिएको प्रतिबद्धतामा व्यवसायीलाई सहुलियतपूर्ण सेवा उपलब्ध गराउनेदेखि स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्धन र पूर्वाधार विकाससम्मका विषय समेटिएका छन् । संयुक्त व्यवसायी प्यानलले आफूले अघि सारेका प्रतिबद्धता निर्वाचनपछि कार्यान्वयन गर्न सकिने योजना मात्र समावेश गरेको प्यानका अध्यक्ष पदका उम्मेदवार नरेशकुमार श्रेष्ठले जानकारी दिए । प्यानलको प्रतिबद्धता अनुसार ज्ञानमा आधारित व्यवसायीलाई विनाधितो ऋण प्राप्त गर्न कृषि तथा पर्यटनसँग सम्बन्धित आन्तरिक योजनामा आधारित उद्योगका लागि सहजीकरण तथा अनुदानका लागि पहल गरिने छ । यसैगरी संस्थाका लागि दीर्घकालीन आर्थिक स्रोतको पहिचान गरी संघलाई आर्थिक रूपमा सबल बनाउने योजना अघि सारिएको छ ।
नयाँ कार्यसमितिको कार्यालयका लागि पहल गर्ने, व्यवसायी सुरक्षाका लागि मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने तथा रात्रिकालीन व्यवसायीलाई मध्यनजर गर्दै व्यावसायिक सुरक्षाका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धता पनि प्यानलले गरेको छ । व्यवसायीको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम सञ्चालन गर्ने तथा समयसापेक्ष रूपमा व्यवसायीका लागि आवश्यक कार्यक्रम अघि बढाउने उल्लेख छ । करदाता व्यवसायीलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्ने प्रतिबद्धता पनि प्यानलको प्राथमिकतामा छ । संघ, प्रदेश तथा स्थानीय सरकारले लिने व्यवसायी करको प्रणालीलाई एकीकृत गरी सरल र सहज प्रक्रियाबाट कर भुक्तानीको व्यवस्था मिलाउन पहल गर्ने उसको योजना छ । यसबाट व्यवसायीले विभिन्न तहमा कर तिर्नुपर्दा भोग्नु पर्ने प्रक्रियागत झन्झट कम हुने अपेक्षा गरिएको छ । कृषि उत्पादनको बजारीकरण तथा कृषि उद्योगमा राज्यको अनुदान, कर छुट, विद्युत् महसुल छुट र कृषि उत्पादनको सहज निकासीको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।
यसैगरी घरेलु क्षेत्रमा स्थापना भएका औद्योगिक क्षेत्रलाई तत्काल सञ्चालनका लागि पहल गर्ने तथा उद्योगसम्बन्धी समस्या समाधानका लागि दबाब सिर्जना एवम् वैकल्पिक स्रोतको खोजी गर्ने योजना प्यानलले अघि सारेको छ । होटल, कलकारखाना, जीपलाइन जस्ता पर्यटकीय पूर्वाधारका क्षेत्रमा लगानी गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न नीति बनाउन पहल गर्ने बताइएको छ । पर्यटकीय एवम् व्यापारिक सडक तथा अन्तर जिल्ला जोडिने विभिन्न सडकको निर्माण र स्तरोन्नतिका लागि दबाब सिर्जना गर्ने प्रतिबद्धता पनि समेटिएको छ ।
उद्योगी व्यवसायीलाई निर्वाध तथा सुरक्षित रूपमा व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्न पहल गर्ने र आइपर्ने समस्यालाई समयमै समाधान गर्न पहल गर्ने, आधुनिक कर प्रणालीसम्बन्धी प्रशिक्षण तथा कानुनी परामर्शका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ । स्थानीय विकासलाई प्राथमिकता दिँदै व्यवसायिक समुन्नति र उत्कृष्ट व्यावसायिक वातावरण प्रदान गर्ने, उद्यमशील व्यावसायिक तथा पेसागत स्वतन्त्रता र समान व्यावसायिक अवसर सिर्जना गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ । कृषि उद्योगको स्थापना एवम् कृषि उपजको बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
घरभाडासम्बन्धी समस्या समाधान गर्न घरधनी र व्यवसायीबिच समन्वय कायम गर्न पहल गर्ने तथा फुटपाथ र ठेला व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने, दाङको पर्यावरण संरक्षण र कृषि उद्योग विकाससँगै जिल्लालाई फलफूल तथा नर्सरी उद्योग क्षेत्रको विकासका लागि योजना निर्माण गर्ने पनि प्रतिबद्धतामा उल्लेख छ । जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार एवम् प्रवर्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ । यसैगरी व्यावसायिक सुरक्षा, कर प्रणालीको सरलीकरण, कृषि तथा औद्योगिक विकास, पर्यटन प्रवर्धन, पूर्वाधार निर्माण, व्यवसायीको क्षमता अभिवृद्धि र स्थानीय उत्पादनको बजारीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ ।