दाङ,१९ असोज । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२ – ००१ ख् ०११९ नम्वरको यात्रुवाहक बस सोमबार लमही नगरपालिका–३ मजगाउँ चोकमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटोमा सवार प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुवै जनाको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।
उहाँका अनुसार प्युठानबाट लमही बजार आएर प्युठान फर्किने क्रममा अटो दुर्घटनामा परेको हो । पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको बससँग अटो ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका–५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी संगीत सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् । घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डा. केसीले जानकारी दिनुभएको छ ।