दाङका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना

दाङ, १९ असोज । चाडपर्वलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले दाङका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले संयुक्त रूपमा घोराही, तुलसीपुर, लमही, भालुवाङ, अमेलिया, हापुरे, कोइलावासलगायत स्थानमा सोमवार नौ यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले भोग्नुपर्ने समस्या समाधान गर्नेदेखि आवश्यक सहजीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । दसैँ, तिहार र छठ पर्वको अवधिभर यात्रु सहायता कक्षहरूमा सुरक्षाकर्मी नियमित रूपमा खटिने बताए । चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत यात्रुका समस्या हल गर्न प्रहरीले सहजीकरण गर्ने उनको भनाई थियो ।

घोराहीको बसपार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गर्दै दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले यात्रु सहायता कक्षाले चाडपर्वमा सर्वसाधारणले सहज र सुरक्षित यात्रा गर्न सहयोग गर्ने बताए । चाडपर्वको समयमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म यात्रा गर्नसँगै बसपार्कमा भिडभाड भएको समयमा हुन सक्ने चोरी रोक्न यातायात व्यवसायी र सुरक्षाकर्मीलाई आग्रह गरेका थिए ।