प्रेरणाको विन्दु÷अवसरको पहिचान

तुफानबाबु श्रेष्ठ

प्रेरणाको विन्दु÷अवसरको पहिचान
तुफानबाबु श्रेष्ठ 

	जीवनमा अवसर ढोका ढकढक्याएर आउँदैन । कहिले काहीँ त्यो सामान्य घटना बनेर आउँछ, कहिले काहीँ एउटा सानो सुझावका रूपमा, कसैको सहयोगका रूपमा, नयाँ जिम्मेवारीका रूपमा वा अप्रत्याशित चुनौतीका रूपमा हाम्रो अगाडि उभिन्छ । तर, विडम्बना के छ भने, हामीमध्ये धेरै मानिस अवसरलाई त्यसले ठूलो सफलता दिलाउने ग्यारेन्टी नदिएसम्म अवसरका रूपमा स्वीकार गर्दैनौँ । ठूलो अवसरको प्रतीक्षामा बस्दा अगाडि आएको सानो अवसर पनि हातबाट फुत्किसकेको हुन्छ ।

‘अवसरको पहिचान’ नामक यो प्रेरक प्रसंगले यही जीवनसत्यलाई अत्यन्त सरल र रोचक ढङ्गले प्रस्तुत गर्छ । यसले हामीलाई अवसर केवल आउनु महत्वपूर्ण होइन, त्यसलाई सही समयमा चिन्नु, समात्नु र सदुपयोग गर्नु अझ महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिन्छ ।

एक दिन एकजना ग्राहक चित्रहरूको पसलमा पुग्यो । पसलमा राखिएका विभिन्न चित्र हेर्दै जाँदा उसको नजर दुईवटा अनौठा चित्रमा प¥यो । पहिलो चित्र निकै विचित्र थियो । एउटा मानिसको अनुहार पूरै कपालले ढाकिएको थियो भने उसका खुट्टामा पखेटा थिए ।

ग्राहकलाई कौतूहल भयो । उसले पसलेसँग सोध्यो, ‘यो चित्र कसको हो ?’ पसलेले सहज रूपमा उत्तर दियो, ‘अवसरको ।’ ग्राहक झन् उत्सुक भयो । उसले फेरि सोध्यो, ‘यदि यो अवसरको चित्र हो भने यसको अनुहार पूरै कपालले किन ढाकिएको छ ?’

पसलेले मुस्कुराउँदै भन्यो, ‘किनकि अवसर मानिसको अगाडि आउँदा धेरैपटक मानिसले त्यसलाई चिन्न सक्दैन । अवसर भएर आएको कुरा अवसर हो भन्ने नै उसलाई थाहा हुँदैन ।’ ग्राहकले चित्रलाई ध्यानपूर्वक हेर्न थाल्यो । त्यसपछि उसको नजर अवसरका खुट्टामा रहेका पखेटातर्फ गयो । उसले फेरि सोध्यो, ‘अनि यसको खुट्टामा पखेटा किन ?’

पसलेले भन्यो, ‘किनकि अवसर धेरै समय एउटै ठाउँमा बसिरहँदैन । समयमै त्यसको सदुपयोग गरिएन भने त्यो पखेटा फिँजाएर उडेर जान्छ ।’ ग्राहक अझै अचम्ममा थियो । त्यसपछि उसले अर्को चित्रतर्फ हेर्दै सोध्यो, ‘अनि यो अर्को चित्र पनि अवसरकै हो ?’ ‘हो,’ पसलेले भन्यो । ‘तर यसको टाउको पछाडिबाट त  पूरै गन्जा रहेछ । यसको अर्थ के हो ?’ पसलेले अत्यन्त अर्थपूर्ण उत्तर दियो, ‘अवसरलाई अगाडिबाटै समयमै समात्न सकियो भने त्यो तपाईंको हुन्छ । तर, अवसरलाई चिन्न ढिला गर्नुभयो र पछाडिबाट समात्न खोज्नुभयो भने त्यहाँ समात्ने ठाउँ नै हुँदैन । अवसर हातबाट फुत्किन्छ ।’ ग्राहक केहीबेर मौन रह्यो । केही चित्रको माध्यमबाट पसलेले दिएको जीवनको गहिरो शिक्षा उसले बुझिसकेको थियो ।

हामी प्रायः भन्छौँ– ‘मलाई अवसर नै मिलेन ।’ कसैले व्यवसाय गर्न अवसर नपाएको गुनासो गर्छ, कसैले राम्रो जागिर नपाएको बताउँछ, कसैले आफ्नो प्रतिभा देखाउने मौका नपाएको भन्छ । तर कतिपय अवस्थामा समस्या अवसरको अभाव होइन, अवसरलाई चिन्न नसक्नु वा निर्णय गर्न ढिला गर्नु हुन्छ । हामी ठूलो अवसरको प्रतीक्षामा यति धेरै समय बिताउँछौँ कि हाम्रो अगाडि आइरहेका साना अवसरलाई बेवास्ता गर्छौँ । तर, इतिहास हेर्ने हो भने धेरै ठूला सफलता साना अवसरबाटै सुरु भएका छन् ।

एउटा सानो परिचय, एउटा नयाँ जिम्मेवारी, एउटा सामान्य काम, एउटा असफलताबाट सिकेको पाठ वा कसैले दिएको एउटा सुझाव पनि भविष्यको ठूलो परिवर्तनको सुरुवात बन्न सक्छ । अवसर सधैँ चम्किलो प्याकेटमा बेरिएर आउँदैन । कहिले काहीँ चुनौतीकै रूपमा आउँछ । कहिले काहीँ कठिनाइको भेषमा आउँछ । कहिले काहीँ हामीलाई मन नपरेको जिम्मेवारीका रूपमा पनि आउन सक्छ । त्यसैले अवसर चिन्नका लागि केवल भाग्य होइन, दृष्टिकोण, सजगता र निर्णय क्षमता आवश्यक हुन्छ ।

जीवनमा कुनै अवसर सानो वा ठूलो हुँदैन । त्यसलाई ठूलो बनाउने काम हाम्रो मेहनत, सोच र सदुपयोगले गर्छ । आज एउटा सामान्य कामबाट सुरु गरेको व्यक्ति भोलि त्यही क्षेत्रमा सफल उद्यमी बन्न सक्छ । आजको एउटा सानो सिकाइले भोलिको ठूलो समस्या समाधान गर्न सक्छ । आज भेटिएको एउटा सही व्यक्तिले जीवनको दिशा बदल्न सक्छ ।

त्यसैले अवसरलाई उसको आकार हेरेर होइन, त्यसमा लुकेको सम्भावना हेरेर मूल्याङ्कन गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, अवसर आएपछि डराएर पछि हट्नु हुँदैन । असफल हुने डरले धेरै मानिसले अवसर गुमाउँछन् । तर अवसरको सदुपयोग गर्ने मानिसले असफलताबाट पनि अनुभव प्राप्त गर्छ । अवसर गुमाउनु भनेको केवल एउटा मौका गुमाउनु होइन, सम्भावित भविष्यको एउटा बाटो बन्द गर्नु पनि हो ।

‘अवसरको पहिचान’ को यो प्रसंगले हामीलाई अत्यन्त सरल तर गहिरो जीवनसूत्र दिन्छ– अवसरलाई पर्खेर मात्र नबसौँ, अवसरलाई चिन्न सिकौँ । जीवनमा अवसर निरन्तर आइरहेका हुन्छन् । केही हामीले देख्छौँ, केही देख्दैनौँ । केहीलाई चिन्छौँ तर निर्णय गर्न ढिला गर्छौँ । केहीलाई सानो ठानेर छोडिदिन्छौँ । अनि पछि त्यही अवसर अरू कसैको सफलताको कारण बनेको देखेर हामी भन्छौँ– ‘मेरो भाग्यमा अवसर नै थिएन ।’

वास्तवमा धेरै पटक अवसरको अभाव होइन, हाम्रो दृष्टिकोण र समयमै निर्णय गर्न नसक्ने कमजोरी नै असफलताको कारण हुन्छ । त्यसैले अगाडि आएको प्रत्येक सम्भावनालाई सजग भएर हेरौँ । सानो अवसरलाई पनि सम्मान गरौँ, सही समयलाई नचुकौँ र आफूले पाएको अवसरलाई मेहनतमा बदलौँ । किनकि अवसरको अनुहार कपालले ढाकिएको हुन सक्छ, त्यसलाई चिन्न सजिलो नहुन सक्छ; त्यसका खुट्टामा पखेटा हुन्छन्, त्यसैले धेरै बेर पर्खिँदैन । अवसर आउँदा ‘पछि गरौँला’ भन्ने होइन, सही लागेमा आजै कदम चालौँ । किनकि अवसरको सबैभन्दा ठूलो शत्रु अभाव होइन– ढिलाइ हो ।