मरेका पितृलाई भोज, बाँचेका आमाबुबालाई खोज्दै वृद्धाश्रम

पिताम्बर रिजाल

सोह्र श्राद्ध चलिरहेको छ । बिहानैदेखि गाउँघरका चौतारा, मठमन्दिर र घरका आँगनमा चहलपहल देखिन्छ । कसैको घरमा पुरोहित आइपुगेका छन्, कसैले कुशको आसन तयार गरेका छन् । तिल, जल, कुश, पिण्ड र विभिन्न परिकारको व्यवस्था भइरहेको छ । पितृको सम्झनामा श्राद्ध भइरहेको छ । पुरोहितलाई दक्षिणा दिइँदैछ । आफन्तलाई निम्तो गरेर भोजन गराइँदैछ । श्रद्धापूर्वक पितृको नाम सम्झिइँदैछ । यो हाम्रो संस्कार हो । संस्कृति हो । पुस्तौँदेखि चलिआएको परम्परा हो ।

पितृप्रति कृतज्ञता व्यक्त गर्ने हाम्रो आफ्नै मौलिक धार्मिक र सांस्कृतिक अभ्यास हो । त्यसैले श्राद्ध गर्नु, पितृलाई सम्झनु र उनीहरुप्रति श्रद्धा व्यक्त गर्नु नराम्रो कुरा होइन तर एउटा प्रश्नचाहिँ मनमा आउँछ–जसलाई मरिसकेपछि यति धेरै श्रद्धा गरिन्छ, उनीहरु बाँचिरहेका बेला चाहिँ कति श्रद्धा गरियो ? यही प्रश्नले आजको समाजलाई अलिकति घोच्नु पर्ने भएको छ । बुबा बितेपछि पितृको नाममा घिउमा पकाएको मिठो भात, तरकारी, खीर, फलफूल, दही, मिठाईदेखि अनेकौँ परिकार तयार हुन्छन् ।

पुरोहितलाई भोजन गराइन्छ । आफन्तलाई बोलाइन्छ । दक्षिणा दिइन्छ । कतिपय ठाउँमा त श्राद्धको भोज कति ठूलो भयो भन्ने कुरा नै प्रतिष्ठाको विषय बन्न पुग्छ तर त्यही घरको कुनामा बसेका वृद्ध बुबाले जिउँदै हुँदा एक गिलास दूध माग्दा– ‘डाक्टरले दूध नखानु भनेको छ’ भनेर टारिएको हुन्छ । आमाले ‘आज मलाई स्याउ खान मन लाग्यो’ भन्दा– ‘स्याउ अहिले निकै महँगो छ’ भन्ने उत्तर आएको हुन्छ । अनि उहाँहरु बितेपछि श्राद्धमा स्याउको थुप्रो लाग्छ !

जिउँदो हुँदा आमालाई एउटा राम्रो सारी किन्न गाह्रो हुने छोराछोरीले आमाको श्राद्धमा नयाँ कपडा, फलफूल र अनेकौँ सामग्री किनेर देखाउँछन् । बुबाले जीवनभर लगाएको पुरानो टोपी फाटिसक्दा पनि नयाँ टोपी किन्न नसक्ने छोराले बुबाको श्राद्धमा पुरोहितलाई नयाँ वस्त्र चढाउँछ । अब प्रश्न उठ्छ– त्यो नयाँ कपडा बुबाले जिउँदै हुँदा लगाउन पाएको भए के बिग्रिन्थ्यो ? आमालाई जीवनभर घरधन्दामा खटाइयो ।

बिहानदेखि बेलुकासम्म परिवारको सेवा गरिन् । छोराछोरी हुर्काइन्, बुहारीलाई घर भित्र्याइन्, नातिनातिना हुर्काइन् । आफूले नयाँ लुगा नलगाएर छोराछोरीलाई पढाइन्, आफ्नो रहर थाती राखेर परिवारको आवश्यकता पूरा गरिन्, बुढेसकाल लागेपछि भने त्यही आमालाई घरमा ठाउँ भएन । आमा, यहाँ तपाईंलाई राम्रो हेरचाह हुँदैन, वृद्धाश्रममा राखौँ । कति मीठो वाक्य ! आमालाई वृद्धाश्रम पु¥याइयो । बुबालाई पनि कुनै अर्को कोठा, कुनै अर्को घर वा कुनै अर्को सहाराको खोजी भयो । अनि छोराछोरी आफ्नो आधुनिक जीवनमा रमाए ।केही समयपछि फोन आयो– ‘आमा, स्वास्थ्य कस्तो छ ?’ आमाले भनिन्– ‘ठीकै छ बाबु ।’

फोन राखियो तर सोह्र श्राद्ध आएपछि भने छोराछोरीलाई आमाको खुबै सम्झना आयो । पुरोहित बोलाइयो, कुश काटियो, तिल छरियो, पिण्ड बनाइयो, पानी चढाइयो, अनि भनियो–‘आमाको आत्माले शान्ति पाओस् ।’ आमाले जिउँदै हुँदा शान्ति पाउनुभयो कि पाउनुभएन भन्ने प्रश्नचाहीँ कसैले सोधेन । हामीकहाँ एउटा अत्यन्तै सुन्दर संस्कार छ– ‘मातृदेवो भव, पितृदेवो भव ।’ आमा देवता समान हुन्, बुबा देवता समान हुन्, यो हाम्रो पूर्वीय दर्शनले दिएको शिक्षा हो तर व्यवहारमा भने कहिले काहीँ यसको उल्टो दृश्य देखिन्छ । मातृदेवो भव भन्ने मुखले नै आमालाई बोझ ठानिन्छ । पितृदेवो भव भन्ने मुखले नै बुबालाई वृद्धाश्रमको बाटो देखाइन्छ ।

त्यसपछि उहाँहरु बित्नुभयो भने फेरि ठूलो स्वरमा भनिन्छ– ‘हाम्रा पितृ देवता हुन् ।’ जिउँदा देवता घरमा अटाएनन्, मरेपछि देवता बने !यो हाम्रो संस्कारको समस्या होइन । यो संस्कार बुझ्ने हाम्रो तरिकामा आएको विकृति हो । श्राद्ध नगर्नुपर्छ भन्ने होइन । श्राद्ध हाम्रो धार्मिक तथा सांस्कृतिक परम्परा हो । यसलाई जोगाउनुपर्छ । पितृप्रति श्रद्धा राख्नुपर्छ । पुराना संस्कारको सम्मान गर्नुपर्छ तर संस्कारको मूल भावना बिर्सेर केवल देखावटी कर्मकाण्डमा सीमित हुनुचाहीँ सोचनीय विषय हो । पितृलाई तर्पण दिँदा एउटा प्रश्न आफैँलाई पनि सोधौँ– मैले मेरा आमाबुबालाई जिउँदै कति तृप्त बनाएँ ? पितृको नाममा खीर पकाउँदै गर्दा एक पटक सम्झौँ– बुबाले जिउँदै हुँदा खीर खान खोज्दा मैले पकाइदिएको थिएँ कि थिएन ?

श्राद्धमा स्याउ चढाउँदै गर्दा सम्झौँ– आमाले जिउँदै हुँदा स्याउ खान मन लाग्यो भन्दा मैले किनिदिएको थिएँ कि थिएन ? पुरोहितलाई दक्षिणा दिँदै गर्दा सम्झौँ–आमाबुबाले आफ्ना नातिनातिनालाई केही पैसा दिन मन गर्दा मैले ‘बुढाबुढीको के काम पैसा ?’ भनेर रोकिदिएको त थिएन ? हामीले पितृलाई दिने तर्पण केवल तिल र पानीबाट मात्र पूरा हुन्छ कि हुँदैन, त्यो धार्मिक आस्थाको विषय हो तर बाँचिरहेका

आमाबुबाको आँसु पुछ्नु, उनीहरुको औषधि किनिदिनु, मिठो खानेकुरा खुवाउनु, समय दिनु र सम्मानपूर्वक बोल्नुचाहीँ मानवीय कर्तव्य हो । आजका धेरै वृद्धवृद्धाको पीडा आर्थिक अभाव मात्र होइन । उनीहरुलाई सबैभन्दा बढी चाहिएको कुरा हो– आफ्ना सन्तानको साथ । आमाबुबाले सधैँ ठूलो भोज खोज्दैनन् । करोडौँको सम्पत्ति पनि माग्दैनन् । उनीहरुलाई कहिले काहीँ छोराछोरीले नजिक बसेर सोधिदिए पुग्छ– ‘आमा, आज के खान मन लागेको छ ?’ बुबालाई सोधिदिए पुग्छ–‘बुबा, स्वास्थ्य कस्तो छ ?’

त्यो एउटा प्रश्नले वृद्ध मनमा कति ठूलो आनन्द ल्याउँछ, हामीले हिसाब गरेका हुँदैनौँ । विडम्बना के छ भने, आधुनिकताका नाममा हामीसँग आमाबुबासँग बस्ने समय छैन तर मृत्यु संस्कारका लागि भने समय पनि छ, पैसा पनि छ, आफन्त बोलाउने क्षमता पनि छ र ठूलो भोज गर्ने सामथ्र्य पनि छ । जिउँदा आमाबुबालाई अस्पताल लैजान ‘समय छैन’ भन्ने छोराछोरीले मृत्यु भएपछि घाटसम्म पु¥याउन समय निकाल्छन् । जिउँदा बुबालाई भेट्न ‘व्यस्त छु’ भन्नेले श्राद्धमा वर्षको एक पटक फोटो अगाडि बसेर आँसु झार्छ ।

जिउँदा आमाको फोन उठाउन नसक्नेले श्राद्धको दिन फेसबुकमा लेख्छ– ‘आमा, तपाईंको सम्झना सधैँ आइरहन्छ ।’ यस्तो सम्झनाले आमालाई के फाइदा ? त्यसैले सोह्र श्राद्ध केवल पितृ सम्झने समय नबनोस् । आफ्नो व्यवहार सम्झने समय पनि बनोस् । हामीले परम्परा छोड्नु हुँदैन । पितृप्रति श्रद्धा राख्नुपर्छ । धार्मिक संस्कारलाई पुस्तान्तरण गर्नुपर्छ तर संस्कारको नाममा देखावटी, प्रतिस्पर्धा र अनावश्यक खर्च बढाउँदै लैजानु पनि आवश्यक छैन । पितृको आत्माको शान्तिका लागि गरिएको कर्मसँगै जीवित वृद्धवृद्धाको मनको शान्तिको पनि ख्याल गरौँ ।

श्राद्धमा सयौँ मानिसलाई भोज खुवाउन सकिन्छ तर त्यही खर्चको केही अंशले वृद्ध आमाबुबाका लागि औषधी किन्न सकिन्छ । राम्रो कपडा किन्न सकिन्छ । मनपर्ने फलफूल किन्न सकिन्छ । उनीहरुलाई तीर्थयात्रा गराउन सकिन्छ । अझ ठूलो कुरा– उनीहरुसँग केही घण्टा बसेर कुरा गर्न सकिन्छ । त्यसैले यस पटक सोह्र श्राद्धमा पिण्ड चढाउँदा एउटा संकल्प पनि गरौँ हाम्रा पितृले जिउँदै हुँदा पाउन नसकेको माया, सम्मान र स्नेह अब अरु कुनै जीवित आमाबुबाले गुमाउन नपरोस् ।’ किनकि मरेपछि गरिएको हजारौँ रुपैयाँको श्राद्धभन्दा जिउँदै हुँदा दिइएको एउटा मिठो मुस्कान ठूलो हुनसक्छ ।

पितृलाई तर्पण दिनुहोस्, अवश्य दिनुहोस् । संस्कार जोगाउनुहोस्, अवश्य जोगाउनुहोस् तर घरमै रहेका बुबाआमालाई पनि तर्पणजस्तै प्रेम दिनुहोस् । मरेका पितृलाई पानी चढाएर मात्र धर्म पूरा हुँदैन; बाँचेका आमाबुबाको आँखाबाट आँसु रोक्न सके पो संस्कार जीवित रहन्छ । अन्ततः श्राद्धको दिन मात्रै पितृलाई सम्झने कि, उनीहरु बाँचुन्जेल नै पितृदेवो भवको अर्थ बुझ्ने ? संस्कार हाम्रो पहिचान हो तर संस्कारको आत्मा मानवता हो । मानवता हरायो भने कर्मकाण्ड बाँकी रहन्छ, संस्कृति बाँकी रहँदैन ।