सञ्जीवनी अस्पतालमा हिमालयन बैंकको एटिएम सेवा सुरु

दाङ,१६ असोज । घोराही उपमहानगरपालिका–३ वर्गदुवा भानपुरमा रहेको सञ्जीवनी शिक्षण अस्पतालमा हिमालयन बैंक लिमिटेडले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने बिरामी, सेवाग्राही तथा आसपासका नागरिकलाई नगद कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले अस्पताल परिसरमै एटिएम सेवा सुरु गरेको हो ।

हिमालयन बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एटिएम सेवाको औपचारिक शुभारम्भ गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोका, हिमालयन बैंकका शाखा प्रबन्धक केशवराज तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनलगायत अस्पतालका पदाधिकारी, चिकित्सक तथा कर्मचारीको उपस्थितिमा एटिएम सेवाको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले अस्पतालमा आउने सेवाग्राहीलाई आवश्यक पर्दा सहज रूपमा नगद निकाल्न सकून् भन्ने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको बताएका थिए । उनले अस्पतालमा उपचार तथा अन्य सेवाका लागि आउने बिरामी र आफन्तलाई बैंकिङ सेवाका लागि बजारसम्म पुग्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे ।

हिमालयन बैंकका शाखा प्रबन्धक केशवराज तिवारीले बैंकिङ सेवाको पहुँच विस्तार गर्ने क्रममा अस्पताल परिसरमा एटिएम सेवा सञ्चालनमा ल्याइएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले स्थानीय क्षेत्रमा आवश्यक सेवाको विस्तारले नागरिकको दैनिक जीवन सहज बनाउने बताएका थिए ।

आकस्मिक उपचारका लागि अस्पताल आउने बिरामीका आफन्तलाई तत्काल नगद आवश्यक पर्न सक्ने भएकाले अस्पतालमै एटिएम सेवा उपलब्ध हुनुले सेवामा सहजता हुने अपेक्षा गरिएको छ । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख सुशील रिजालले गरेका थिए ।