व्यवसायी र उपभोक्ता संरक्षण कार्यालयबीच सहकार्य आवश्यक

प्रिया स्मृती गजमेर
देउखुरी, १७ असोज । व्यवसायीले कानुनअनुसार व्यवसाय दर्ता र सञ्चालन गर्ने, मूल्यसूची राख्ने र बिल बिजक जारी गर्नुपर्ने विषयमा जोड दिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जको आयोजना तथा देउखुरी उद्योग वाणिज्य संघको सहकार्यमा शुक्रवार लमहीमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन ।

व्यवसाय सञ्चालनका क्रममा देखिने समस्या, उपभोक्ता अधिकार, बजार अनुगमन, व्यवसायीले पूरा गर्नुपर्ने कानूनी दायित्व तथा व्यवसायीलाई सरकारी निकायबाट उपलब्ध हुने सेवा सुविधाका विषयमा छलफल भएको हो । अन्तरक्रियामा व्यवसायी र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबीच नियमित समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । व्यवसायीले आफ्नो व्यवसाय कानुनअनुसार दर्ता तथा सञ्चालन गर्ने, मूल्यसूची राख्ने, बिल बिजक जारी गर्ने, गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने र उपभोक्ताको अधिकारको सम्मान गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

त्यसैगरी कार्यालयले व्यवसायीलाई प्रचलित कानून, उपभोक्ता अधिकार, व्यवसाय सञ्चालनका आवश्यक प्रक्रिया तथा बजार व्यवस्थापनसम्बन्धी विषयमा जानकारी तथा सहजीकरण गर्ने, व्यवसायीका समस्या सुन्ने र आवश्यक समन्वय गर्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, बाँकेका निमित्त कार्यालय प्रमुख सुशीला चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीहरूले उठाएका विभिन्न प्रश्न तथा जिज्ञासामाथि कार्यालयका लोकेन्द्र बिसी र हरि चौधरीले प्रस्ट पारेका थिए ।

व्यवसायीले बजारमा देखिने समस्या, अनुगमनका क्रममा आउने चुनौती, उपभोक्ता संरक्षणसम्बन्धी कानूनी व्यवस्था तथा सरकारी निकायबाट अपेक्षित सहजीकरणका विषयमा जिज्ञासा राखेका थिए । कार्यालयका प्रतिनिधिले व्यवसायीलाई कानूनी प्रावधानबारे जानकारी गराउँदै नियम पालना गरेर व्यवसाय सञ्चालन गर्दा व्यवसायी र उपभोक्ता दुवैको हित संरक्षण हुने बताएका थिए । कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका अधयक्ष इश्वरप्रकाश श्रेष्ठ, निवर्तमान अध्यक्ष कमलजंग सिंह ठकुरी, संघका वरिष्ठ उपाध्यक्ष शारदा सुवेदीलगायतले व्यवसायीका समस्या र बजार व्यवस्थापनका विषयमा आफ्नो धारणा राखेका थिए ।

कर्यक्रमका अन्य वक्ताले व्यवसायीलाई केवल अनुगमन र कारबाहीको दृष्टिले मात्र नभई व्यवसाय प्रवद्र्धन र सहजीकरणको साझेदारका रूपमा सरकारी निकायले हेर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, बाँकेका नरेन्द्र विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण देउखुरी उद्योग वाणिज्य संघका महासचिव सुदीप पाण्डेले गरेका थिए ।