गोरक्ष समाचारदाता
दाङ, १६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर २ बाट १२ जना निर्विरोध महासमिति सदस्यमा छनोट भएका छन् । निर्वाचन प्रक्रिया अनुसार महाधिवेशन प्रतिनिधिमा निर्वाचित महाविशेन प्रतिनिधिहरूबाट सर्वसम्मत छनोट भएका हुन् ।
जस अन्तर्गत प्रत्यक्ष महिलातर्फ अनिता देवकोटा र बिमला योगी, प्रत्यक्ष खुल्ला पुरुषतर्फ राजु खनाल, प्रचण्डबिक्रम न्यौपाने, किरणकिशोर घिमिरे, भूपबहादुर डाँगी, भीमप्रकाश खड्का, खस आर्यबाट वीरबहादुर खत्री ‘बिरु’, प्रत्यक्ष युवा कुलराज पोख्रेल, समानुपातिक आदिवासी जानजातितर्फ महेशराज श्रेष्ठ, समानुपातिक महिलातर्फ सुशीला थापा, समानुपातिक थारूतर्फ भुवन चौधरी निर्विरोध निर्वाचित भएका छन् । बुधवार सम्पन्न निर्वाचनबाट क्षेत्र नं. २ मा ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
विजयी प्रमाणपत्र प्रदान
यसैबिच नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. २ मा निर्वाचित सभापतिलगायतको कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृत निर्मल गौतमको अध्यक्षमा बिहिबार भएको कार्यक्रममा दाङ क्षेत्र नं. २ को सभापति निर्वाचित सभापति प्रकाश श्रेष्ठलगायतको कार्यसमिति, प्रदेश सभाका सभापतिलगायतको पदाधिकारी एवम् महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा १५औँ महाधिवशेन अन्तर्गत निर्वाचित क्षेत्रीय कार्यसमिति, पदाधिकारी, प्रदेश सभाका सभापतिलगायतको कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । प्रमाणपत्र वितरण कार्यक्रमलाई जिल्लामा निर्वाचन संयोजकका रूपमा खटिएका जनक शाहीले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण मतदान अधिकृत गोमा महरा र पृथ्वीराज लामिछानले गरेका थिए । क्षेत्र नं. २ ले सर्वसम्मत महासमिति सदस्य चयन गरे पनि अन्य निर्वाचन क्षेत्र नं. १ र ३ मा भने अझै चयन हुन सकेको छैन ।
१५औँ महाधिवेशनका लागि धमाधम मञ्च निर्माण
यसैविच काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि मञ्चलगायत निर्माण गर्न सुरू गरिएको छ । वडा, स्थानीय तह हुँदै प्रदेशसभा र क्षेत्रीय अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि र .महासमिति सदस्य चयनसँगै काठमाडौंको खुल्ला मञ्चमा महाधिवेशनका लागि तयारी अघि बढाइएको हो ।
महाधिवेशन उद्घाटन असोज १८ गते दिउँसो २ बजे हुनेछ । महाधिवेशनको उद्घाटन तथा बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी गरिएको छ । त्यसका लागि खुलामञ्चमा मञ्च व्यवस्थापन लगायतका काम धमाधम भइरहेको हो । महाधिवेशन उद्घाटनसत्रमा शुभकामना दिन स्वदेश तथा विदेशका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने छन् ।