घोराही १५ असोज । गुरुकुल एकेडेमी लमहीका मन्टेस्वरी तहमा अध्ययनरत विद्यार्थीले ज्येष्ठ नागरिक दिवसको अवसर पारेर सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेका छन्। विद्यालयमा अध्ययनरत विद्यार्थीले राप्ती गाउँपालिका–८ मा रहेको निलसागर सेवा आश्रममा आश्रित नागरिकका लागि खाद्यान्न सहयोग गरेका हुन् ।
किताबी ज्ञानसँगै विद्यार्थीलाई मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सेवाभाव सिकाउने उद्देश्यले खाद्यान्न सहयोग गरिएको विद्यालयले जनाएको छ । ज्येष्ठ नागरिक दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी विद्यार्थीलाई ज्येष्ठ नागरिकप्रतिको सम्मान, माया र जिम्मेवारीको व्यवहारिक अनुभूति गराउने प्रयास गरिएको हो । विद्यालयका प्रधानाध्यापक विवेक देवकोटाका अनुसार गुरुकुल एकेडेमीले आफ्नो मूल मन्त्र समाजसँग गुरुकुललाई व्यवहारमै कार्यान्वयन गर्दै आएको छ ।
विद्यार्थीलाई कक्षाकोठामा पाठ्यपुस्तक पढाउने मात्र नभई समाज, समुदाय र वास्तविक जीवनसँग जोडेर सिकाउने उद्देश्यअनुसार आश्रममा सहयोग गरिएको बताए । ‘विद्यार्थीलाई किताबमा मात्र सीमित ज्ञानभन्दा समाज र मानव जीवनसँग जोडिएको व्यवहारिक शिक्षा दिन आवश्यक छ’,प्रधानाध्यापक देवकोटाले भने,‘ज्येष्ठ नागरिकको सम्मान र सेवा पनि शिक्षाकै एउटा महत्वपूर्ण पक्ष हो ।’ निलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि आवश्यक खाद्यान्न सामग्री विद्यार्थीले आफ्नै हातबाट हस्तान्तरण गरेका थिए । आश्रममा पुग्दा विद्यार्थीले आश्रममा बस्ने परिवार विहिन नागरिकसँग अन्तरक्रिया गरेका थिए ।
सानै उमेरदेखि सेवा, सहयोग, सम्मान र सहानुभूतिको संस्कार विकास गराउने उद्देश्यले गरिएको यस्तो गतिविधिले विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ । गुरुकुल एकेडेमी लमहीले नियमित शिक्षण–सिकाइसँगै व्यवहारिक शिक्षा, सामाजिक सेवा तथा अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ ।