‘जितलाई अहंकार र हारलाई निराशा नबनाऔँ’

दाङ,१५ असोज। नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को १५औँ क्षेत्रीय अधिवेशन सम्पन्न भएसँगै संगठन निर्माण र पार्टी रूपान्तरणको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

अधिवेशन सम्पन्न भएसंगै ‘पार्टी रूपान्तरण अभियान’अन्तर्गत नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीले कांग्रेसका युवाहरूले निर्वाचनमा भएको प्रतिस्पर्धालाई अब सहकार्यमा बदल्दै संगठनलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्। उनीहरूले अधिवेशनबाट निर्वाचित नेतृत्वलाई विजयी अहंकारबाट टाढा रहन र निर्वाचनमा पराजित उम्मेदवार तथा प्रतिनिधिलाई समेत समेटेर अघि बढ्न आग्रह गरेका छन्।

‘जितलाई अहंकार नबनाऔँ, हारलाई निराशा नबनाऔँ’ भन्ने भावनासहित निर्वाचनको परिणामलाई स्वीकार गर्दै संगठन निर्माणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइएको छ।

१४औँ र १५औँ महाधिवेशनबीचको फरक यसपटक प्रत्यक्ष रूपमा महसुस गरिएको उल्लेख गर्दै युवाहरूले अघि सारेको ‘पार्टी रूपान्तरण अभियान’ले पार्टीभित्र नयाँ सोच, खुला बहस र परिवर्तनको आवश्यकतालाई बलियो रूपमा उठाएको बताएका छन्। उक्त अभियान कुनै व्यक्तिको विरोध नभई नेतृत्वप्रतिको सम्मान कायम राख्दै पार्टीभित्रको पुरानो कार्यशैलीमा सुधार ल्याउने प्रयास भएको उनीहरूको भनाइ छ।

अबको चार वर्ष गुट तथा समूहभन्दा माथि उठेर व्यक्ति नभई विचारलाई केन्द्रमा राख्दै खुला संवाद र सहभागितामार्फत संगठनलाई बलियो बनाउने अभियान सञ्चालन गरिने बताइएको छ। अधिवेशन सफल बनाउन भूमिका निर्वाह गर्ने क्षेत्रीय प्रतिनिधि, निर्वाचन समिति, उम्मेदवार तथा समर्थक, पत्रकार, सुरक्षाकर्मी, स्वयंसेवकलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइएको छ।

‘निर्वाचनमा प्रतिस्पर्धा भयो, अब संगठन निर्माणमा सहकार्य गरौँ’ भन्ने सन्देशसहित अधिवेशन सकिए पनि ‘रूपान्तरण अभियान’ भने नसकिएको र अझ जिम्मेवार ढङ्गले अघि बढ्ने नयाँ सुरुवात भएको धारणा सार्वजनिक गरिएको छ।