गोरक्ष समाचारदाता
दाङ, १५ असोज । विद्यार्थीलाई औषधीको समुचित प्रयोगबारे सचेतना प्रदान गरिएको छ । नेपाल फार्मेसी संघ दाङको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधवार घोराही उपमहानगरपालिका–१२ स्थित माध्यमिक विद्यालय हापुर बिजौरीमा औषधीको समुचित प्रयोगसम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्यामकुमार गिरीको अध्यक्षता तथा हापुर स्वास्थ्यचौकीका प्रमुख भरत बुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक तथा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा एमफार्म (फार्माकोलोजी) विज्ञ हेमन्त पन्तले औषधीको सही र सुरक्षित प्रयोग, औषधी सेवन गर्दा अपनाउनु पर्ने सावधानी तथा औषधीको दुरुपयोगबाट हुन सक्ने असरबारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि बुढाले औषधीको समुचित प्रयोगका लागि विद्यार्थी र समुदायस्तरमा सचेतना आवश्यक रहेको बताए । उनले औषधीको सही प्रयोगसम्बन्धी जानकारीले स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
विद्यालयका निमित्त प्रधानाध्यापक नरेशकुमार खड्काले विद्यालयमा औषधीको समुचित प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा नेपाल फार्मेसी संघ दाङलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव दिलकिरण परियारले गरेका थिए ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संंघले रक्तदान, मानसेवा आश्रममा एक छाक खाना खुवाउने, ‘एएमआर’का सम्वन्धमा प्यानल डिस्कसन, फर्मासिस्टको भूमिका तथा योगदान सम्वन्धमा छलफल, औषधीको समुचित प्रयोग सम्वन्धी सचेतना मुलक कार्यक्रम, फर्मासिष्टको अवसर, चुनौति र समाजमा फर्मासिष्टलाई हर्ने नजर सम्वन्धी अन्तरक्रियालगायका कार्यक्रम गर्दै आएको छ ।