भुवन पोख्रेल
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो, ऐतिहासिक र प्रमुख लोकतान्त्रिक राजनीतिक दल हो । वि.सं. २००६ चैत्र २७ मा नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट भएको थियो । यो दल नेपालको एक समाजवादी, लोकतान्त्रिक राजनीतिक दल हो । हाल यस दलका सभापति विशेष महाधिवेशनमार्फत् गगन थापा हुन् । तत्कालीन निरकुंश जहानियाँ राणा शासनविरुद्ध जनउत्तरदायी लोकतान्त्रिक शासन व्यवस्था र जननिर्वाचित सरकार निर्माणको पवित्र उद्देश्य बोकेर जननायक विपी कोइरालाले नेपाली कांग्रेस नेतृत्व गरेका हुन् । नेपाली कांग्रेसको इतिहासमा यस दलले निकै आरोह अवरोहको सामना गर्नुु परेको थियो । नेपालमा भएका प्रत्येक राजनीतिक आन्दोलनमा नेपाली कांग्रेसले आफूलाई अग्रपङ्क्तिमा राखेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुलाई यसको गौरवशाली इतिहास ठान्न सकिन्छ ।
नेपाली कांग्रेसको इतिहास संघर्षमय छ । राणा शासनदेखि गणतन्त्र स्थापना र संविधान सभाबाट संविधान लेखन र कार्यान्वयन सम्मको नेपाली कांग्रेसको नेतृत्व नेपाली समाज र राजनीतिक परिवर्तनको पर्यायको रुपमा बुझ्न सकिन्छ । ७९ वर्षको लामो संघर्षको इतिहास बोकेको कांग्रेसलाई अलग राख्ने हो भने नेपालको राजनीतिक र सामाजिक परिवर्तनको अध्याय अपुरो हुन्छ । हिजोको नेपाली कांग्रेसको गरिमा बेग्लै थियो । पार्टीको क्रियाशील सदस्यता पाउँदा पनि मानिसहरु गौरवको अनुभूति गर्दथे । कांग्रेसले आफ्नो सङ्गठनलाई दुरदराजसम्म बलियो गरी जोडेर राखेको थियो । एउटा जीवन्त संस्थाको आफ्नो मूल्यमान्यताm विधिविधान हुन्छ, उतारचढाव पनि आइरहन्छन् । प्रजातन्त्र स्थापनाको छोटो समयमा कांग्रेसभित्रको आन्तरिक सङ्गठनमा निकै उतारचढाव आए । आन्तरिक विवादका कारण पार्टी विभाजनदेखि गुट, उपगुट सतहमा देखिन थाले । कांग्रेस कमजोर भएको बाह्य आक्रमणले नभई पार्टी भित्रकै घात अन्तरघातको कारण हो । गौरवशाली इतिहास बोकेको पार्टीको सुनौलो भविष्य निर्माणका लागि पार्टी एक ढिक्का भई अघि बढ्नुपर्छ ।
नेपाली कांग्रेसमा टुट्ने र फुट्ने श्रृङ्खला नौलो घटना होइन् । पार्टी स्थापनादेखि १५औं महाधिवेशनको सङ्घारसम्म आइपुग्दा यो पुरानो लोकतान्त्रिक पार्टी कयौँ पटक फुटेको छ र फेरि जोडिएको छ । साढे सात दशक पार गरिसकेको यो पार्टीमा कहिले विपी कोइरालाले आफै सभापति घोषणा गरे भने कहिले डिल्लीरमण रेग्मीले पार्टी नै दुई टुक्रा पारिदिए । २००४ साउन १ मा सुवर्ण शमशेरले सशस्त्र युद्ध गर्नुपर्छ भन्दै पार्टीलाई अलग भएको घोषणा गरेका थिए । २०५९ असार पहिलो साता तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग कुरा नमिल्दा निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी फुटाए । नेपाली कांग्रेसबाट अलग भएन नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका देउवा २०६४ असोजमा पुनः पुरानै घर फर्किएका थिए ।
कांग्रेस भन्न जति सजिलो छ बन्न त्यति नै कठिन छ । कांग्रेस बन्न सबैभन्दा पहिला अरुलाई बुझाउनुभन्दा पहिला आफै बुझ्नु पर्दछ । नेपाली कांग्रेस बुझ्नलाई कांग्रेसका क्रियाशील सदस्यहरुलाई नै लामो समय लाग्छ । किनभने नेपाली कांग्रेसभित्रका हरेक विचार र सिद्धान्त बुझेर सङ्गठन चलाउने हो भने कांग्रेस सधै वा हरेक युगमा क्रियाशील र परिवर्तनशील क्रान्तिकारी पार्टी हो । अरु पार्टी जस्तो मुख एउटा र व्यवहार अर्को कांग्रेसको देखिँदै । आफू बन्नलाई कांग्रेस बन्ने होइन बरु समाज बनाउन, विकास गर्न चेतनाको वृद्धि गरी सर्वाङ्गिण विकास गर्न कांग्रेस बन्ने हो । अरुको खुसी र जितलाई आत्सात् गर्नु कांग्रेसको गुणा हो ।
आफूभित्र भएका गलत सोचलाई त्यागौँ, सद्गुणको अनुशरण गरौँ । प्रजातन्त्र नै कांग्रेसको मेरुदण्ड हो । असल स्वभाव भएकाले राजनीति गरौँ । आफूमा भएका पद, पैसा, प्रतिष्ठा प्राप्त गर्ने जुन व्यक्तिगत स्वार्थ छन् । तिनलाई तिलाञ्जली दिई सामुहिक स्वार्थमा लागौँ । राष्ट्र र समाजप्रतिको दायित्वबोध गरौँ । नेता त समाज सुधारक बन्नुपर्छ, विकासप्रेमी बन्नुपर्छ र निस्वार्थी बन्नुपर्छ होइन र । नेपाली कांग्रेसभित्रै समाज र राष्ट्रको अस्थित्व र स्थायित्व देखिन्छ । हरेक कार्यकर्ताले गम्भीर भएर बुझ्नु आवश्यक छ ।
नेपाली कांग्रेस लोकतन्त्रको आवाज बन्नु पर्छ । अहिले पनि नेपाली कांग्रेसमा शक्ति संघर्ष जारी छ । नयाँ पुस्ता गगन थापाको नेतृत्वको कांग्रेस र देउवा समूहको बिचमा आन्तरिक शक्ति संघर्ष चलिरहेको छ । गगन समूह शक्तिशाली बन्दै र देृवा पक्ष रित्तिदै छ । कांग्रेसमा नयाँ शक्ति समीकरण जारी छ । पार्टीलाई एकता बनाएर सबै जुट्नु पर्ने देखिन्छ । कांग्रेसमा देखिएको टकरावले आम कांग्रेसका कार्यकर्ता अन्योलमा छन् । कांग्रेसको १५औं महाधिवेशनले बदलिँदो समय अनुकुल नीति, विचार र एजेण्डा पुनव्र्याख्या गर्दै जनमुखी डेलिभरीमा आधारित नयाँ मार्गचित्र तय गर्नु पर्ने आवश्यकता छ । नेतृत्व प्रधान र गुटमुखी संरचनालाई पुनर्गठन गरी नीतिm जवाफदेहिता, समावेशिता र पुस्तान्तरणमा आधारित लोकतान्त्रिक पार्टी निर्माण गर्नु पर्ने देखिन्छ । विशेष महाधिवेशनबाट सुरु भएको नेतृत्व तथा पुस्तान्तरण प्रक्रियालाई संस्थागत गर्दैं गगन थापाले निर्णायक रुपान्तरण अघि बढाए मात्र कांग्रेसले पुनर्जीवन र सान्दर्भिकता हासिल गर्न सक्नेछ ।
लामो समयदेखि नीति र नेतृत्व हुँदै दृष्टिले सङ्क्रमणकालबाट गुज्रिएके कांग्रेसको १५आंैं महाधिवेशनको कार्यसूचीबारे बहस सुरु भएको छ । अहिले नेपाली कांग्रेसमा नयाँ र पुरानो सोचबिच रस्साकस्सी देखिन्छ । परिवर्तनगामी र यथास्थितिवादी बिचको टकराव देखिन्छ । कुनै पार्टीमा यथास्थितिवादी सोचले कुनै पनि स्थितिमा पार्टीलाई जीवन्त दिन सक्दैन । इतिहासमा नै सबैभन्दा कमजोर र अलोकप्रिय भएको घडीमा हुन लागेका महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिने अपेक्षा कांग्रेसजनमा रहेको छ । राजनीतिमा दिगो नेतृत्व कसैको दयामायाले किस्तीमा होइन, विद्रोहबाट आम पार्टी पंक्तिको एकतालाई बलियो बनाउनुपर्छ ।
जेन–जी विद्रोह पछि कांग्रेसको जनआधार र अस्तित्वमा नै प्रश्न चिह्न उठेको छ । कांग्रेस ऐतिहासिक सङ्कटको घडीमा छ । धरातल कमजोर नभए पनि पार्टी किन कमजोर र अलोकप्रिय हुँदै आएको छ । कांग्रेसको नीति असान्दर्भिक भएको होइन बरु विगतको नेतृत्व असफल भएको हो । अब शेरबहादुर देउवा युगको अन्त्य र गगन थापाको उदयले कांग्रेसले पुर्नजीवन पाउने सम्भावना छ । कांग्रेसले परिवर्तनको पदचाँपलाई पछ्याएर युगको मागलाई सम्बोधन गर्न सक्नुपर्छ । कांग्रेसको विशेष महाधिवेशन पार्टीमा पुस्ताअन्तरण सम्भव भएको हो भने नियमित पन्ध्रौँ महाधिवेशनले पार्टीलाई रुपान्तरण गर्नु पर्ने देखिन्छ ।
कांग्रेस १५औं महाधिवेशनले बदलिँदो समय अनुकुल नीति, विचार, एजेण्डा पुर्नव्याख्या गर्दै जनमुखी डेलिभरीमा आधारित नयाँ मार्गचित्र कोर्नु आवश्यकता देखिन्छ । नेतृत्व प्रधान र गुटमुखी संरचनालाई पुर्नगठन गरी नीति, जवाफदेहिता, समावेशी र पुस्तान्तरणमा आधारित लोकतान्त्रिक पार्टी निर्माण गर्नु पर्ने देखिन्छ । विशेष महाधिवेशनबाट सुरु भएको नेतृत्व तथा पुस्तान्तरण प्रक्रियालाई संस्थागत गर्दै गगन थापाले निर्णायक रुपान्तरण अघि बढाए मात्र कांग्रेसले पुनर्जीवन र सान्दर्भिकता हासिल गर्न सक्नेछ ।
लोकतान्त्रिक कांग्रेसको वर्गीय र सैद्धान्तिक धरातल कमजोर नहुँदा नहुँदै पनि आसन्न निर्वाचनमा कांग्रेसले पराजयको पीडा भोग्नु परेको छ । जनआंकाक्षाको सम्बोधन गर्न नसक्दा सबैभन्दा पुरानो र ठूलो पार्टी खुम्चिएर पराजयको पीडा भोग्नु परेको छ । जनआकांक्षाको सम्बोधन गर्न नसक्दा सबैभन्दा पुरानो र ठूलो पार्टी खुम्चिएर प्रतिपक्षमा बस्नु परेको यथार्थलाई सबैले आत्मसात् गर्नु पर्ने देखिन्छ । कांग्रेसले गौरवशाली इतिहासको गाथा गाएर मात्रै होइन नयाँ इतिहास रचना गर्ने नेतृत्व निर्वाचित गर्नुपर्छ ।
जनताका लागि परम्परागत दर्शन, वाद र सिद्धान्तभन्दा विचार, नीति र एजेण्डा प्रमुख प्राथमिकता हुन् । अहिले जनताले शास्त्र र सिद्धान्तभन्दा पनि जनमुखी नीति र तत्काल डेलिभरी खोजिरहेका छन् । यदि जनताका समस्या समाधान गर्ने नीति र कार्यक्रममा रुपान्तरण नभए कोरा सिद्धान्त र अर्मूत विचारको औचित्य छैन । यसको अर्थ सिद्धान्त र विचार धाराको राजनीति, समाप्त भएको होइन, डेलिभरी युगको उदय भएको हो ।
कांग्रेसजनले आत्मसात् गर्नु पर्ने कुरा के हो भने यदि कुनै विचार धारा वा सिद्धान्त अपडेटेड वा अद्यावधिक भएन भने आउटडेटेट वा असान्दर्भिक पनि हुन्छ । कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म पुरानो पुस्ता कन्जर भेटिम छ र नयाँ पुस्ता उदारवादी गतिशील र प्रगतिशील छ । तसर्थ यी दुई पक्षबिच वैचारिक संघर्ष चर्किरहन्छ । अहिलेको कांग्रेसभित्रको शक्ति संघर्ष पनि परिवर्तनगाम र यथास्थितिवादी बिचको वैचारिक विवाद नै हो ।
नेपाली कांग्रेसका कार्यकर्ता जनतामुखी होइन, नेतामुखी छन् । उनीहरु जनताको होइन नेताको घरदैलो गर्छन् जसको परिणम हामीले निर्वाचनमा भोगिसकेका छौँ । नेता कार्यकर्ताले पनि सिद्धान्तलाई भन्दा सत्तालाई, संस्थालाई भन्दा गुटलाई विशेष प्राथमिकता दिँदै आएको देखिन्छ । कांग्रेसले जनताको भावनाको सम्बोधन गर्न नसक्दा जनताबाट टाढा हुँदा वर्तमान अवस्था सिर्जना भएको हो । कांग्रेसले जनभावनाको प्रतिनिधित्व गर्नेभन्दा पनि आफ्ना नेता कार्यकर्ता व्यवस्थापनमा मात्र ध्यान दिएकाले जनआक्रोश बढेको हो । अब कांग्रेसलाई नेतृत्व प्रधान होइन नीति प्रधान पार्टीको रुपमा रुपान्तरण गर्नुपर्छ । कार्यकर्ता नेताप्रति बफादार होइन, नेतादेखि कार्यकर्तासम्म सबै जनताप्रति उत्तरदायी हुने प्रणाली विकास गर्नुपर्छ । लोकतान्त्रिक पार्टीले सङ्गठन र सदस्यता प्रणाली पनि लोकतान्त्रिक र उदार बनाउनुपर्छ । विवादित हुँदै आएको टिकट वितरण प्रणालीमा आमूल परिवर्तन गरी विधानअनुसार चल्नुपर्छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेसको भूमिका गौरवशाली र दिशा निर्देशक छ । प्रजातन्त्रको स्थापना, पुनःस्थापना तथा संस्थागत सुदृढीकरणका विविध चरणहरुमा नेपाली कांग्रेस निर्वाह गरेको अग्रणी भूमिका इतिहासका सवर्णिम् अक्षरमा अंकित छ । निरकुंश शासन व्यवस्था विरुद्धको संघर्षदेखि समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मको यात्रामा कांग्रेसले प्रर्दशन गरेको प्रतिबद्धता, त्याग र बलिदान आज पनि प्रेरणाको स्रोतको रुपमा स्थापित छ । यही गौरवशाली इतिहास, धर्विलो भविष्य र कठिनाइपूर्ण वर्तमानको आत्मसात् गर्दै नेपाली कांग्रेस आफ्नो १५औं महाधिवेशन सङ्घारमा अडिएको छ ।
यस ऐतिहासिक क्षण केवल नेतृत्व चयनको औपचारिक कार्यक्रममा मात्र सीमित नभई राष्ट्रिय पर्वको रुपमा हर्ष उल्लास साथ सम्पन्न हुनुपर्छ । नेतृत्व चयनमा मात्र महाधिवेशन सीमित नभई नीतिगत स्पष्टता, सङ्गठनात्मक सुदृढीकरण वैचारिक पुर्नजागरण ल्याउन सफल हुनुपर्छ । नेपाली कांग्रेसको १५औं महाधिवेशनले पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई अझै सुदृढ पारदर्शी र जवाफदेही एवम् उत्तरदायी बनाउनुपर्छ । नेता कार्यकर्ताबिच खुला संवाद, विचार आदानप्रदान र सहमतिको संस्कृति विकास गर्दै सङ्गठनलाई अझ एकीकृत, अनुशासित र जनमुखी बनाउने दिशामा यो महाधिवेशन निर्णायक बन्न सक्छ ।
सूचना र प्रविधिको तीव्र विकासले वर्तमान विश्व परिवेश बदलिएको छ । जसको परिणाम स्वरुप नेपाली समाज पनि तीव्र गतिमा परिवर्तनशील छ । सूचना प्रविधिको विस्तार, विश्वव्यापीकरणको प्रभाव, युवा पुस्ताको बढ्दो आकांक्षा, आर्थिक प्रतिस्पर्धा र रोजगारीका चुनौतीहरुले राजनीतिक दलहरु समक्ष नयाँ प्रश्न चिह्न खडा भएका छन् । यस्तो अवस्था नेपाली कांग्रेसले आफूलाई समय अनुकुल पुनः परिभाषित गर्नुको विकल्प छैन । आसन्न महाधिवेशनको सफलताको आधार युवाशक्तिको सार्थक सहभागीता नै हो । सिद्धान्तमा युवामैत्री भनिए पनि व्यवहारमा युवाहरुलाई नेतृत्व तहमा पुग्ने अवसर अझै पार्टीभित्र सीमित छ । महाधिवेशनमार्फत् युवाहरुलाई नीति निर्माण, सङ्गठन सञ्चालन तथा नेतृत्व तहमा सुनिश्चित प्रतिनिधित्व प्रदान गर्नुपर्छ । केवल नारामा मात्र सीमित नभई व्यवहारमा युवामैत्री संरचना र कार्यपद्धति विकास गर्नसके मात्र पार्टी दीर्घकालीन रुपमा गतिशील र सशक्त बन्न सक्छ ।
समावेशी लोकतन्त्रको मर्म अनुरुप केवल दलित, महिला, जनजाति आदिको प्रतिनिधित्व कर्मकाण्डी पूरा गरेर मात्र हुँदैन । निर्णय प्रक्रिया उनीहरुको वास्तविक सहभागीता र प्रभाव सुनिश्चित हुनुपर्छ । यसले मात्र सामाजिक न्याय र समानता व्यवहारमा उतार्न सकिन्छ । १५औं महाधिवेशनले पुरानो पुस्ताको अनुभव रनयाँ पुस्ताको उर्जाबिचको सन्तुलित समन्वय कायम गर्दै नेपाली कांग्रेसको समकालीन चुनौतीलाई सम्बोधन गर्ने क्षमता विकास गर्नुपर्छ । नेपाली कांग्रेसको त्याग, इतिहास, संघर्ष, आदर्शको उज्जवल गाथालाई जर्खेना गर्दै विपी कोइराला, गणेशमान, कृष्णप्रसादलगायत अंग्रेज नेताले स्थापित गरेका लोकतान्त्रिक मूल्य, समाजबाट प्रतिको प्रतिबद्धता र जनतामुखी राजनीति आज पनि उत्तिकै सान्दर्भिक छ ।
वर्तमान समयमा कांग्रेस भक्कियो, कांग्रेस सक्कियो भन्नेहरुलाई राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनको नारा होइन, व्यवहारमा उतार्ने एजेण्डा लिएर कांग्रेस उडाउनु पर्छ । जनताको विश्वास जित्न कांग्रेसले आफ्नो कार्यशली, प्राथमिकता र प्रतिबद्धततामा स्पष्ट देखाउनुपर्छ । कांग्रेसको ढुलुमुले चरित्रले वर्तमान चुनौती सामना गर्नुपरेको तितो यथार्थलाई आत्मसात् गरी १५औं महाधिवेशनले सङ्घीयताको मर्मअनुसार राज्य संरचनलाई अझ प्रभावकारी, सन्तुलित र जनमुखी बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्छ । नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन नेपाली कांग्रेसको परीक्षाको घडी हो । अहिलेको कांग्रेसबाट आजको पुस्ता इतिहास सुन्न मात्र चाहन्न बरु परिणाम खोज्दछ । युवा पुस्ताले जवाफदेहिता पारदर्शीता नयाँ सोच र पुस्ता अन्तरण खोजिरहेको छ । महाधिवेशन भनेको निर्वाचन र नेतृत्व चयन मात्र होइन पुनर्जागरणको अवसर पनि हो ।