कांग्रेसलाई जनताको मन जित्ने पार्टी बनाउनुपर्छ : नेता महर

गोरक्ष समाचारदाता

दाङ, १४ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसलाई जनताको मन जित्ने पार्टीका रूपमा अघि बढाउने नेतृत्व आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन दाङ शाखाले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेसका युवा नेतासमेत रहेका महरले पुरानो पुस्ताको अनुभव र योगदानसँगै नयाँ पुस्ताको जोस जोडेर जनताले विश्वास गर्ने पार्टी बनाउन सक्ने नेतृत्व आउनु पर्नेमा जोड दिएका हुन् ।

पार्टीको १५औँ महाधिवेशनबाट संस्थागत रूपमा पार्टी चलाउन सक्ने नेतृत्वलाई ल्याउने गरी लाग्न आग्रह गरेका थिए । संगठनलाई चुस्त र संगठित बनाउन पुरानो पुस्ताको योगदान र अनुभवसँगै जेन–जी र अल्फा पुस्ताको नयाँ जोस मिलाएर सबैले विश्वास गर्ने पार्टी बनाउनु पर्ने उनको भनाइ थियो । ‘जेन–जी पुस्ता मात्र होइन, नयाँ अल्फा पुस्ताले पनि नयाँ भविष्यको खोजीमा लागेको छ । त्यो पुस्ताको सोचलाई समेत ध्यानमा राख्दै कांग्रेसलाई रूपान्तरण गर्न आवश्यक छ’, महरले भने, ‘कांग्रेसमा भएका पुरानो पुस्ताको ऐतिहासिक विरासतलाई सम्मान गर्दै उनीहरूको अनुभव र योगदानलाई जेन–जी र अल्फा पुस्ताको जोससँग जोडेर सबै अट्ने पार्टी बनाउनुपर्छ ।’

अब आउने नेतृत्वले २१औँ शताब्दीको नयाँ नेपाल निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै विश्व परिवेशमा समेत विश्वास दिलाउन सक्ने हुनु पर्ने उनको धारणा थियो । विगतमा जनतासँग गरेका वाचा पूरा गर्न नसक्दा कांग्रेसलगायत ठुला पार्टीप्रति जनतामा वितृष्णा बढेको भन्दै उनले त्यो वितृष्णा हटाउने गरी काम गर्ने नेतृत्व आउनु पर्नेमा जोड दिए । ‘अहिलेको आवश्यकता भनेको नयाँ परिवेशमा कांग्रेसलाई नेतृत्व गर्न सक्ने सक्षम नेतृत्वसँगै विगतमा जनतासँग गरेका वाचा पूरा गर्ने नेतृत्व हो’, उनले भने, ‘त्यही कुरालाई ध्यानमा राख्दै निर्वाचनमा मतदाताले सोच्नुपर्छ ।’ पार्टीलाई संगठित बनाउँदै गुटगत राजनीतिको अन्त्य गर्ने उद्देश्यले आफू डडेल्धुराबाट दाङसम्म आइपुगेको महरले बताए ।

भुइँका मान्छेले बुझ्ने गरी नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आफू अघि बढिरहेको भन्दै पार्टीमा योगदान गरेका पुराना पुस्तालाई गर्नु पर्ने बताए । पार्टीमा योगदान गरेको पुस्ताको सम्मान गर्दै नयाँ सम्भावना बोकेको पुस्तालाई पार्टीमा जोडेर अघि बढ्नु पर्ने उनले बताए । यही उद्देश्यले आफूले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएका थिए । नेपाल प्रेस युनियन दाङका अध्यक्ष आरके शीतलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव लीलाधर वलीले गरेका थिए ।