गाउँको सामान्य परिवार, सानैदेखिको खेलप्रतिको लगाव र निरन्तरको मेहनत । यही यात्रामा हिँड्दै हाप्किडो खेलबाट अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षकका रूपमा आफ्नो पहिचान बनाएकी खेलाडी हुन्– बन्दना बस्नेत । घोराही उपमहानगरपालिका–४ बसन्तापुरमा २०६४ वैशाख २५ गते बुबा पुरण बस्नेत र आमा शशी बस्नेतको कोखबाट जन्मिएकी बस्नेत करिब एक दशकदेखि हाप्किडो खेलमा संक्रिय छिन् । घोराही–१७ चौघेरामा रहेको गोरक्षरत्ननाथ माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दै गर्दा हाप्किडो खेलसँग जोडिएकी थिइन् । त्यसयता खेलाडी बस्नेतले नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी हुँदै दर्जनाँै पदक जित्न सफल भएकी छिन् ।
खेलाडीका रूपमा पहिचान बनाउन सफल बस्नेत हाप्किडो खेलले दिएको पहिचान र सम्मान नै जीवनको ठूलो खुसी भएको बताउँछिन् । ‘हाप्किडो खेलमा गरेको मेहनतले खेलाडीका रूपमा पहिचानसँगै मानसम्मान प्राप्त गरेको छु’, हाप्किडो खेलकी रेफ्री समेत रहेकी बस्नेत भन्छिन्, ‘खेलाडीका रूपमा चिनिन पाउनु मेरो लागि ठूलो अवसर हो, यहीमा खुसी छु ।’ यही मेहनतकै फलस्वरूप बस्नेतले पहिलो पटक अन्तर्राष्ट्रिय भूमिमा पदक जितिन् । सन २०२६ सेप्टेम्बर २२ देखि २४ सम्म किर्गिस्तानको इस्सिक– कुल क्षेत्रमा भएको प्रतियोगितामा ४९ देखि ५३ केजी तौल समूहको क्योरुगी विधामा उत्कृष्ट प्रदर्शन गर्दै उनी फाइनलसम्म पुगेकी थिइन् । खेल्दा हातमा लागेको चोटका कारण फाइनलमा अपेक्षित नतिजा ल्याउन नसकेपछि रजत पदकमै चित्त बुझाउनुपरेको थियो । तैपनि पहिलो पटक अन्तर्राष्ट्रिय भूमिमा रजत जित्दाको क्षण खुसी भएको बताउँछिन् ।
‘पहिलो पटक अन्तर्राष्ट्रिय भूमिमा प्रतिस्पर्धा गर्दा पदक जित्नसँगै धेरै कुरा सिक्ने अवसर मिल्यो’,उनी भन्छिन,‘अहिले गरेका गल्तीलाई सुधार गर्दै आगामी दिनमा हुने प्रतियोगितामा पदक जित्ने गरी खेल्ने आँट जागेको छु, त्यही अनुसार निरन्तर मेहनत गर्नेछु ।’ उनको यो सफलता नेपाली हाप्किडोका लागि महत्वपूर्ण उपलब्धि बनेको छ । खेलप्रतिको रुचि विद्यालय पढ्दै गर्दा नै बढेको बस्नेत सम्झिन्छिन् । ‘राष्ट्रपति रनिङ शिल्ड र विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजना गरिने प्रतियोगितामा सहभागी हुन प्रयास गर्दा गर्दै खेलकुदमा अघि बढ्ने प्रेरणा मिल्यो’, उनी भन्छिन्,‘ उमेरका कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निरन्तर अघि बढ्न नसके पनि हाप्किडो खेलमा खेल्ने अवसर मिलेको छ ।’
पछिल्लो समय विद्यालयले स्पोर्टस टिचर राखेर खेलमा रुचि राख्ने विद्यार्थीलाई प्रोत्साहन गरेको देख्दा खुसी लाग्ने गरेको उनी बताउँछिन् । आफ्नै मेहनत र लगनशितताले खेलकुदमा अहिलेको सफलता प्राप्त गरेकी बस्नेतले सुरुदेखि नै खेलमा राम्रो प्रशिक्षक प्राप्त गरेको भए खेलमा अझै माथिसम्म पुग्ने थिएन झै लाग्ने गरेको बताउँछिन् । ‘खेलकुदमा अघि बढ्नका लागि खेलाडीको मेहनतसँगै राम्रो प्रशिक्षण पनि प्राप्त गर्नुपर्छ । जसले गल्तीलाई सुधार गर्दै अघि बढ्ने मौका प्रदान गर्दछ’, उनी भन्छिन् । कक्षा १ देखि १२ सम्म गोरक्षरत्ननाथ चौघेरामा पढेकी बस्नेत अहिले घोराहीको पद्मोदय क्याम्पसमा विएससी दोस्रो वर्षमा अध्ययनरत छिन् । केही वर्षअघिसम्म घोराही–१५ स्थित हिन्दु विद्यापीठमा खेलाडीलाई हाप्किडो सिकाए पनि पढाइमा असर पुगेको महसुस भएपछि उनले त्यो जिम्मेवारी अर्को साथीलाई सुम्पिइन् । ‘आफूले खेल्नेदेखि खेलाडीलाई सिकाउँदा पढाइमा असर पुगेको जस्तो लाग्यो’, उनी भन्छिन्, ‘त्यही भएर आफूले सिकाउँदै आएको विद्यालयमा अर्को साथीलाई खेल सिकाउने जिम्मेवारी दिएँ । अहिले आफूले थप सिक्नेदेखि पढ्ने काम गरिरहेकी छु ।’
हाप्किडोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिएकाले यही खेलमार्फत् भविष्य खोज्ने प्रयासमा उनी सङ्घर्षरत छिन् । दर्जनभन्दा बढी स्वर्ण, रजत र कांस्य पदक जितेकी बस्नेत विभिन्न प्रतियोगितामा उत्कृष्ट रेफ्रीका रूपमा पनि पुरस्कृत भइसकेकी छिन् । नुवाकोटमा भएको प्रतियोगितामा उत्कृष्ट रेफ्रीका रूपमा सम्मानित हुँदाको क्षणलाई उनी खुसीको क्षणका रूपमा लिन्छिन् । घोराही नगरस्तरीय हाप्किडो संघकी अध्यक्ष समेत रहेकी उनी खेलाडीलाई पढाइसँगै खेलकुदमा पनि ध्यान दिए दुवैतिर अघि बढ्न सकिने बताउँछिन् । हाल काठमाडौँमा बसेर खेलसँगै नेपाल प्रहरी अन्तर्गत एसआईको तयारी गरिरहेकी बस्नेत बुबाआमाकी दुई सन्तानमध्ये जेठी हुन्, उनको एक भाइ अनिल छन् ।
प्रस्तुति : लीलाधर वली