खेमराज रिजाल
दाङ, १४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको महत्वपूर्ण खुड्किलो महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अधिकांश निर्वाचन क्षेत्रमा मङ्गलवार सम्पन्न भएको छ । विशेष महाधिवेशन निर्वाचित नेतृत्वले आह्वान गरेको नियमित १५औँ महाधिवेशनका विभिन्न चरणहरू क्रियाशील सदस्यता वितरण, वडा अधिवेशन, क्षेत्रीय प्रनीतिधि चयन हुँदै मङ्गलवार दाङ जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय र प्रदेश कार्यसमिति चयनका लागि निर्वाचनहरू सम्भन्न भएका छन् । निर्वाचन क्षेत्र नं ३ मा बुधवार निर्वाचन हुने छ । यद्यपि सबै क्षेत्रको अन्तिम परिणाम आउन भने बाँकी छ ।
सोमवार र मङ्गलवार दिनभरजसो जिल्लाका तीनै निर्वाचन क्षेत्र लमही, घोराही र तुलसीपुर बजारका विभिन्न होटलमा अग्रज नेताहरूको सहमति प्रयाससमेत जारी रह्यो । केही पदमा समहति जुट्यो पनि । केही क्लस्टरहरूमा निर्विरोध रूपमा महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमितिहरू चयन भए तर सबै पदमा कुनै पनि निर्वाचन क्षेत्रमा सहमति हुन सकेन । निर्वाचन क्षेत्र नं २ र निर्वाचन क्षेत्र नं ३ मा पूर्व निर्धारित समयमा मङ्गलवार निर्वाचन प्रक्रिया थालिए पनि निर्वाचन क्षेत्र नं १ मा भने मतदान प्रक्रिया दिउँसो चार बजेपछि मात्र सुरु भएको त्यहाँका प्रदेश निर्वाचन अधिकृत सन्तोष सुवेदीले जनाएका छन् । निर्वाचन क्षेत्र नं ३ मा बुधवार मतदान कार्यतालिका सार्वजनिक गरिएको छ ।
खास गरी कांग्रेस महाधिवेशनभित्रको आन्तरिक लोकतन्त्रलाई अन्य राजनीतिक दल तथा पेसाकर्मीले पनि निकै रुचिका साथ नियालिरहेका हुन्छन् । किनकि कांग्रेसमा केन्द्रीय सभापति हुने व्यक्तिसमेत अनिवार्य रूपमा आफ्नै वडाका कार्यकर्ताबाट चुनिने अभ्यास छ । त्यसैले यो अधिवेशनलाई कांग्रेसजनले मात्र होइन अन्यले पनि गम्भीरतापूर्वक लिएका हुन्छन् । ‘खासमा अहिलेका राजनीतिक दल सबैले आफूलाई लोकतान्त्रिक दलका रूपमा परिभाषित गर्दछन् तर वास्तविक लोकतन्त्र भने कांग्रेस महाधिवेशनमा देख्न सकिन्छ’, जिल्लाको एक सरकारी कार्यालयमा कार्यरत एक जना कर्मचारीले भने । उनका अनुसार आमनिर्वाचनमा भन्दा पनि कांग्रेसजनलाई आन्तरिक लोकतन्त्रको नेतृत्व निर्माणमा बढी देखिन्छ ।
यसैगरी पछिल्ला केही वर्षदेखि स्थानीय पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य शरद अधिकारीले पनि कांग्रेसको महाधिवेशनलाई नियालिरहेको बताउँछन् । प्रजातान्त्रिक आन्दोलनको इतिहास बोकेको यो पार्टीको आन्तरिक लोकतन्त्र लोभलाग्दो देखिने उनले बताए । यद्यपि त्यसले आमनिर्वाचनमा कस्तो प्रभाव पार्दछ र पार्न सक्दछ भन्ने भिन्नै पाटो हो । ‘जसरी अन्य दलमा टपक्क टिपेर नेतृत्वमा पु¥याउने अभ्यास छ, त्यसलाई कांग्रेसको महाधिवेशनको प्रक्रियाले गम्भीर चुनौती दिएको छ अर्थात् लोकतन्त्र सिकाएको छ’, पत्रकार अधिकारीले भने, ‘तलैबाट चुनिएर नेतृत्वमा जानु पर्ने अभ्यास पूर्ण लोकतान्त्रिक अभ्यास हो ।’ कांग्रेसको महाधिवेशनका हरेक क्लस्टरले कुनै पनि जातजाति, धर्मावलम्बी, समुदायलगायत सबैलाई सम्बोधन गर्न सकेकोमा उनले गर्व गरे । यो अन्य राजनीतिक दलका लागि अनुकरणीय हुने उनको अभिव्यक्ति थियो ।
कांग्रेसका पुराना नेता नदन शर्मा अर्यालले पनि कांग्रेसको आन्तरिक लोकतन्त्रले सबै साथीहरूमा सामीप्यता बढाउँदै आएको बताउछन् । कतै कतै भने ग्रुप निर्माण गरी चुनावी दौडमा जानुले अधिवेशनलाई केही निराशामा बदल्न सक्ने उनको अनुभव छ । ‘जसरी कांग्रेसको महाधिवेशनमा हामी उत्साहजनक सहभागिता जनाउँछौँ, फरक मत राखेर आफ्नो अभिमत माग्छौँ यो नितान्त लोकतान्त्रिक अभ्यास हो तर आमनिर्वाचनमा महाधिवेशनमा अनुभूति गरिएको तिक्ततालाई चटक्कै भुल्नु आवश्यक छ’, नेता शर्माले भने । यो महाधिवेशन प्रक्रिया लोभलाग्दो भए पनि हामीलाई यसले आमनिर्वाचनमा भने धोका हुने प्रवृत्ति हाबी भएकाले अबको नेतृत्वले यसलाई चिर्न सक्ने गरी विधान ल्याउनु पर्ने उनको सुझाव थियो ।
मङ्गलवार कांग्रेस महाधिवेशनको सबैभन्दा बढी रोचक दिन बन्यो । सोमवार मध्यरातसम्म विभिन्न राजनीतिक ग्रुपहरूले समूह बनाएर चुनावी प्रतिस्पर्धामा जाने तयारी गरे पनि अन्ततः केही क्षेत्रबाहेक समूहमा निर्वाचन लड्ने अघिल्ला महाधिवेशनको अभ्यास पूरै तोडिएको देखिएको कांग्रेसका जनजाति नेता तथा तुलसीपुर–१८ का क्षेत्रीय प्रतिनिधि होमबहादुर शेरचनले गोरक्षलाई बताए । कांग्रेस महाधिवेशन अन्तर्गत वडाधिवेशनको प्रक्रिया सुरु भएर आज १०औँ दिन जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति, प्रदेश समिति तथा प्रदेश सभा निर्वाचन प्रतिनिधिका प्रत्यासी कोही पनि ढुक्क हुने देखिएको अवस्था छैन ।
केही अग्रज एवम् दिग्गज नेताले समेत महाधिवेशन प्रतिनिधि नै हार्न सक्ने भयका कारण निर्वाचन प्रक्रियामै सहभागी हुन चाहेनन् । पुर्वसभापतिसमेत महाधिवेशनको प्रक्रियामा सहभागी भए पनि नेतृत्व लिनका लागि तम्सिएनन् । पार्टी सभापति देउवा समूहले अर्को महाधिवेशन गर्ने आश्वासन बाढिरहँदा केहीले त्यसको प्रतीक्षा गरिरहेको हुन सक्ने कांग्रेसदीर्घामा अनुमान छ । यद्यपि अदालतले रुख चिह्न देउवा समूहलाई दिए मात्र तर त्यस्तो हुन सक्ने सम्भावना शून्यप्रायः रहेको कानुन व्यवसायीले बताउँदै आएका छन् ।