चुनौतीलाई समाधान गर्न सबै एकजुट हौँ

नारायणप्रसाद श्रेष्ठ

यो वर्ष नेपाल र नेपालीको लागि चुनौतीको वर्ष भएर देखा परेको छ । भरखरै भाद्र १० को अकल्पनीय र कहाली लाग्दो भिसन वर्षा भोटेकोशीमा आएको बाढी (सुनामी) ले थला परेको हाम्रो परिवेशमा पुन आश्विन ८ देखि ११ गतेको वर्षाले अझै घाउ थपेको छ । कतिपय दिदी बहिनीको सिन्दुर पोछिएको छ । कसैको काख रित्तिएको छ । कतिपय टुहुरो बनेका छन्, कतिपयको घर खेत भौतिक नोक्सानी भएको छ । कति घाइते भएका छन् ।

धनजनको ठूलो क्षति भएको छ । यस अवस्थामा आम नेपाली जन समूह, सरकार, जो जहाँ रहे बसे पनि सबै गम्भीर भएर यो चुनौतीलाई सहज बनाउन लागि पर्नु परेको छ । चुनौतीलाई अब हाम्रो जिम्मेवारी थपियो भन्ने सकारात्मक सोच बढाई तेरो र मेरो नभनी हामी हाम्रो दायित्व निर्वाहमा एक्यबद्धता कायम राखौँ । सबै एक जुट हौँ । समयले हामीलाई यही सन्देश दिएको छ । नेपाली दाजुभाइ, दिदीबहिनी माथि परेको कठिनाइलाई यो हाम्रो साझा दर्द (चोट ) हो भनी कुनै आग्रह पूर्वाग्रह नराखी एक भई समस्या समाधानमा जुटौँ, आलो घाउमा मल्हम लगाउन जुटौँ । चुनौतीसँग नडराई यो सेवाको अवसर हो भन्ने मान्यता जगाइ अगाडि बढौँ हामी सविनय आग्रह गर्दछौँ ।

मानिस चेतनशील प्राणी हो । उसँग विवेक छ । उसका हरेक कर्मले अरुलाई फाइदा पुगोस् भने निरन्तर रुपले कर्म गरिरहन्छ । ऊ कोही कसैको मन नदुखाई आफ्ना विचार र भावना प्रस्तुत गर्न सधैं लालायत पनि भइरहन्छ । आचरन र व्यवहारवाट नै आफ्नो पहिचान वढाउन उ हरमेशा उत्सुक पनि भइरहेको हुन्छ । उसको जीवनको उद्देश्य भनेको, अरुको आवश्यकतालाई परिपूर्ति गरी अगाडि वढ्नु हो तर यस्तो संवेदनशील जानकारी आफूसँग हुँदा हुँदै पनि मानिसका भावना र विचारलाई सामाजिक संस्थाले हो वा एक्काइसौँ शताब्दीको परिवर्तित वातावरणले हो । उसले गर्न चाहेको कर्म, आचरण र व्यवहारमा कहीँ कहीँ प्रदुषित भइरहेको हुन्छ ।

ऊ चाहँदा नचाहँदै पनि गलत कर्मतर्फ आकृष्ट भइरहेको पनि हुन्छ । यसले उसको कर्म र व्यवहार मा पवित्रता हुँदा हुँदै पनि परिस्थितिले देखिने अन्तरले ऊ आफैंमा नैराश्यता जगाई आफैलाई दिग्भ्रमीत गराइरहेको हुन्छ । सत्य कुरालाई पनि उसले पचाउन नसकेको अवस्था पनि यदाकदा देखिन्छ । त्यसैले सामाजिक परिवेशमा देखिएका यस्ता अमर्यादित गतिविधि र विसंगतिलाई बुझेर आफ्ना हरेक कर्म र सोचाइमा सकारात्मक भाव जागृत गरी सधैँ आफ्ना विचारलाई अरुको सेवामा समर्पित हुने आचरण प्रदर्शन गर्नुपर्दछ । यही नै मानिसको बुद्धिमानी कर्म हो ।

तसर्थ यो कुरालाई बुझेर कुरा र काममा एकरुपता ल्याई मन, बचन र कर्ममा निखार ल्याउनुपरेको छ । जीवनलाई सफलता उन्मुख गराउन प्रत्येक व्यक्ति स्वयम् आफै आफूभित्रको सेवाभावलाई बुझेर हरमेशा अरुको सकारात्मक विचार अनुभवलाई आत्मसात गरी अगाडि बन्नुपरेको छ । अनावश्यक वादविवाद या उल्झेलमा नपरी उसले के ग¥योे, मैले के गर्न सकिन भनी गलत विचार उत्पन्न गरेर अरुको पछि दौडने प्रवृत्ति हटाई आफू आफ्नो समाज र राष्ट्रलाई आदर्श गतितर्फ उन्मुख गराउन आफूले आफैलाई हेरी अघि बढ्ने सङ्कल्प गर्नुपर्दछ । सामाजिक रितिस्थिति तथा जीवनशैलीले स्वीकारेको असल संस्कार र संस्कृतिलाई जीवनको हरेक कार्यदिशामा चरितार्थ हुनेगरी अघि बढ्नुपर्दछ ।

विगतलाई सम्झेर आफूलाई कमजोर गराउनु भन्दा विगतमा जे भयो भयो त्यो त्यसै बेलाको परिवेशले उत्पत्ति गरेको परिणाम हो भन्ने ठानी मनलाई दृढ र सङ्कल्प गराई वर्तमानको चुनौतीलाई पार गर्ने सङ्कल्प गर्नुपर्दछ । जसरी आफ्नो छायाले आफूलाई पन्छ्याइरहेको हुन्छ । त्यसरी नै विगत कर्मले पनि मनको एउटा कुनामा बसेर अवसरको खोजी गरिरहेको हुन्छ । यो कुरालाई मानवीय चेतनशक्तिले प्रष्ट बुझी परिवर्तनले ल्याउने यथार्थ सत्यको उद्घाटन गर्दै सकारात्मक वातावरण तयार गर्नु पर्दछ । यस्को लागि हामी सबै एकजुट बनौँ । धैर्य र सहनशील भई समय र परिस्थितिले ल्याउने परिवर्तनसँगै आफै परिवर्तित हुँदै अगाडि बढ्ने सङ्कल्प गरौँ ।

समय कहिले पनि एकनासको हुँदैन । कहिले घाम कहिले छाया, कहिले उज्यालो कहिले अँध्यारो, यसरी नै जीवनको गति बगिरहेको हुन्छ । जीवनको प्रत्येक क्षणमा उतारचढाब, सफल असफल, भइरहेको हुन्छ । यसलाई मनन गरी सकारात्मक एकाग्रता बढाई बुद्धि र विवेकलाई सकारात्मक चिन्तनतर्फ आकृष्ट गराइरहनु पर्दछ । समाजमा देखा पर्ने आरोह, अवरोह र समस्यालाई समाधान गर्न सधै चिन्तन गरौँ । समयमा देखिएको चुनौतीलाई समाधान गर्दै अघि बढौँ ।

मानिसभित्र रहेको अनगिन्ती इच्छा र आकांक्षाले मानिसको मन, बचन र कर्ममा विविधता देखिएको हुन्छ । एकपछि अर्को गर्दै हजारौँ विचारहरु सलबलाइरहेको हुन्छ । व्कतिपय अवस्थामा आफूले निर्वाह गर्ने कर्म, व्यवहारबाट परिष्कृत हुन मानवीय जीवन पद्धतिलाई उक्साइरहेको पनि हुन्छ । कहिले काहीँ व्यक्तिवादी सोच वृद्धि भई कर्ममा नकारात्मक पनि देखा पर्न सक्छ । यदि त्यसबेलामा कुन सही र कुन गलत हो भने स्वयम् र धैर्यपूर्वक व्याख्या गर्न सकिएन भने त्यसले जीवनको भविष्यलाई गलत मार्गतर्फ डो¥याउन सक्दछ ।

तसर्थ सृष्टिको सर्वोत्कृष्ट मानव जीवन पाएर धैर्य र दयावान भई मानिसको आचरण र व्यवहारलाई भौतिकवादी सुखको आनन्दमा होइन प्राकृतिक सत्यले प्रदान गरेको आचरण र व्यवहारलाई परिपालन गरी आफूलाई प्रदर्शन गर्न सक्नुपर्दछ । मनगडन्ते चिन्तनमा होइन यथार्थवादी सोचमा आफूलाई परिचालन गर्नुपर्दछ । अरुले के ग¥यो के भन्यो भनी उसका पछि दौडनुभन्दा आफूले गरेको कर्मबाट के कस्तो किसिमको प्रभाव परिरहको छ त्यस कुराको मूल्याङ्कन गरी अघि बढ्ने सङ्कल्प गर्नुपर्दछ ।

प्रतिस्पर्धामा नलागी आफूले आफैलाई ऐना सामु राखेर अगाडि बढ्ने कोशिस गरिरहनुपर्दछ । मेरो बारेमा अरुले के भन्यो भने भन्नुभन्दा अरुको लागि मैले के कस्तो किसिमको काम गरे मेरो कर्मले उसको सेवा र सद्भावमा कतिको सार्थकता आयो अब मैले उसको भलाईको लागि के गर्न सक्छु भनी आचरण व्यवहारमा शुद्धता ल्याई आफूलाई अरुको पद प्रदर्शक गर्न सक्ने क्षमता प्रदर्शन गर्नुपर्दछ । दृष्टिकोणमा सकारात्मक भाव जागृत गरी अरुप्रतिको स्नेह र विश्वासमा आफूलाई समर्पित गर्नुपर्दछ । आफू अन्तरनिहित शक्तिलाई बढाई शान्ति र अमन चयन कायम गर्न आइपरेका जति पनि चुनौती छन् त्यसलाई क्रमश समाधान गर्दै, आफ्नो हरेक कर्मलाई अवसरको रुपमा प्रयोग गरी, अगाडि बढ्ने संस्कारको विकास गर्न आफू लागिरहनुपर्दछ ।

समयले हामीलाई यही अवसर दिएको छ । आफूसँग जे छ त्यसैबाट सुरु गरी आफूले सक्दो सहयोग र सद्भाव कायम गर्नुपर्दछ । भित्री मनको चाहना र बाह्य जीवनको आचरणमा एकरुपता ल्याई विवेकलाई जीवनोपयोगी कर्मतर्फ आकर्षण गर्नुपर्दछ । जीवनमा आउने जति पनि उतारचढाब छन् ती हामी र हाम्रो लागि चुनौती र अवसर दुवै हुन् भनी परीक्षामा सफलता प्राप्त गर्ने अभियानमा आफूलाई समर्पित गरिनुपर्छ । निरन्तर कोसिस गरिरह्यो भने यसले अवश्य पनि सफलता चुम्न सक्छ । सङ्घर्ष र विचारमा शुद्धता ल्याउनु नै सफलता प्राप्त गर्नु हो भन्ने बुझी मानव जीवनमा देखा पर्ने विकृतिलाई पन्छ्याई जीवनको गोरेटोलाई सकारात्मक र सफलता उन्मुख बनाउनुपर्दछ । समयले यस्तै अवसर खोजिरहेको छ । चुनौतीलाई सबै मिलेर समाधान गरौँ । चेतना भया ।