कांग्रेसको निर्वाचन : निर्वाचन आचारसंहित कडाई गर्न माग

दाङ, ११ असोज । नेपाली कांग्रेस क्षेत्र नं. २ मा भइरहेको पार्टीभित्रको निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन मतदानस्थलमा सबैका लागि समान आचारसंहिता लागू गर्न माग गरिएको छ । नेपाली कांग्रेस दाङका क्षेत्रीय प्रतिनिधि प्रदीप मजगैयाँले क्षेत्र नं. २ का निर्वाचन अधिकृत निर्मल गौतमलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनमा आचारसंहित कडाई गर्न माग गरेका हुन ।

निर्वाचन आचारसंहिता तथा मतदानस्थलको निष्पक्षता र मर्यादा कायम गर्ने विषयमा बुझाइएको पत्रमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र मर्यादित रूपमा सम्पन्न गर्न सबै उम्मेदवार तथा प्रतिनिधिका लागि समान रूपमा लागू हुने स्पष्ट आचारसंहिता र आवश्यक व्यवस्था गरिनुपर्ने उल्लेख छ ।

मजगैयाँले मतदानस्थलभित्र मोबाइल फोन लैजान निषेध गर्नुपर्ने र आवश्यक परे प्रवेशद्वारमै सुरक्षित राख्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । उनले मतपत्रमा मतदान गरेको वा मतदान प्रक्रियासँग सम्बन्धित कुनै पनि फोटो तथा भिडियो खिच्न पूर्ण रूपमा रोक लगाउनुपर्ने बताएका छन् । पत्रमा मतदानस्थलभित्र चिट, कागज, नामावली वा अन्य कुनै लिखित सामग्री लैजान नपाइने व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

उम्मेदवार, प्रतिनिधि तथा निर्वाचनमा संलग्न सबैलाई समान आचारसंहिता लागू गर्नुपर्ने र कुनै व्यक्ति वा समूहलाई विशेष सुविधा वा छुट दिन नहुने उनको माग छ । यी नियम मतदान सुरु हुनुअघि नै सबै उम्मेदवार, प्रतिनिधि र मतदातालाई स्पष्ट जानकारी गराई समान रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

पत्रमा निर्वाचन केवल परिणाम प्राप्त गर्ने प्रक्रिया मात्र नभई पार्टीभित्रको आन्तरिक लोकतन्त्र, विधि, संस्कार र निष्पक्षताको अभ्यास पनि भएकाले सम्पूर्ण प्रक्रिया पारदर्शी, शान्तिपूर्ण र सबैका लागि समान हुने वातावरण निर्माणका लागि निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक पहल हुने अपेक्षा गरिएको छ । ‘निष्पक्ष निर्वाचन, स्वच्छ प्रक्रिया र प्रतिनिधिको स्वतन्त्र स्वविवेक नै लोकतान्त्रिक कांग्रेसको आधार हो’, पत्रमा भनिएको छ ।