दाङ, ११ असोज । नेपाल फार्मेसी संघ दाङले एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) विषयमा घोराहीमा एक छलफल कार्यक्रम गरेको छ । विश्व फार्मासिस्ट दिवसको अवसरमा संघले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको तेश्रो दिन आइतबार घोराहीमा एएमआरका विषयमा प्यानल छलफल गरेको हो ।
एन्टिबायोटिक दुरुपयोगको रोकथाम र त्यसको सही प्रयोगबारे केन्द्रित रहेको छलफलमा सहभागीले एन्टिबायोटिक प्रयोगकर्ता र सेवा प्रदायकबीच समन्वयको अभावले गर्दा जथाभावी प्रयोग बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेका थिए । नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्यामकुमार गिरीको अध्यक्षतामा भएको प्यानल छलफलमा फिजिसियन डा. गौरव रावलले जथाभावी एन्टिबायोटिक सेवनले तत्काल आराम मिलेजस्तो देखिए पनि दीर्घकालमा गम्भीर समस्या निम्त्याउने चेतावनी दिए । छलफलका प्रमुख वक्ताका रुपमा रहेका रावलले यसबारे व्यापक प्रचारप्रसार गर्नुपर्ने र सेवा प्रदायकहरू थप जिम्मेवार बन्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
छलफलका अर्का वक्ता, फार्माकोलोजिस्ट हेमन्त पन्तले एन्टिबायोटिक औषधि मात्र भएर मात्र पुग्दैन, यसको सही सदुपयोग नजान्दा यो विषतुल्य समेत हुन सक्ने बताए । चिकित्सकले सिफारिस गरेको एन्टिबायोटिकको सही मात्रा र प्रयोगविधिबारे फार्मेसीहरूले बिरामीलाई उचित सल्लाह र परामर्श दिनुपर्नेमा उनले जोड दिएका थिए । कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदीले एन्टिबायोटिक औषधिको प्रयोगमा सेवाग्राही र सेवा प्रदायक सचेत बन्नुपर्ने बताए ।
औषधीको प्रयोगमा अहिले ध्यान नदिदा पछि गम्भीर समस्या ल्याउन सक्ने भएकाले यो विषयमा गम्भीर छलफलसँगै सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए । उनले चिकित्सकको अनुमति नलिई त्यस्ता औषधि सेवन नगर्न सेवाग्राहीलाई र जथाभावी औषधि सिफारिस नगर्न चिकित्सक तथा फार्मेसीलाई आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव दिलकिरण परियारले गरेका थिए।