नेपाली कांग्रेस–२ का परिवर्तन पक्षधर तथा युवा क्षेत्रीय प्रतिनिधिहरूको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीले केही सीमित व्यक्तिहरूले बन्द कोठामा सूची तयार गर्नेभन्दा संगठनमा समय दिने, सक्रिय रूपमा काम गर्ने र क्षमता भएका युवाहरूलाई समेत नेतृत्व तथा जिम्मेवारीमा सहभागी गराउँदै अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । छलफलका क्रममा व्यक्तिको गुट वा पहुँचका आधारमा भन्दा योग्यता, क्षमता, क्रियाशीलता र संगठनमा गरेको योगदानका आधारमा अवसर तथा जिम्मेवारी निर्धारण हुनुपर्नेमा सहभागीले जोड दिएका थिए ।
सहभागीले आगामी दिनमा नेपाली कांग्रेसलाई थप लोकतान्त्रिक, सक्रिय र समावेशी बनाउँदै तल्लो तहसम्म संगठनलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई ध्यानमा राख्दै अहिलेदेखि नै संगठनलाई सक्रिय र तयारी अवस्थामा राख्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमपछि अभियानका अभियन्ता प्रतिनिधि मण्डलले यो पहल कसैलाई हराउने वा कसैलाई जिताउने उद्देश्यले नभई संगठनमा राम्रो काम गरेका, सक्रिय र सक्षम व्यक्तिहरूलाई स्थापित गर्ने उद्देश्यले अघि बढाइएको जनाएको छ ।
प्रतिनिधि मण्डलले नेतृत्व तथा प्रतिनिधि छनोटमा देखिएको सीमित घेराको प्रवृत्तिमाथि बहस गर्दै संगठनलाई व्यापक सहभागितामार्फत अघि बढाउने उद्देश्य अभियानको रहेको बताएको छ । छलफलका सहभागीले आगामी नेतृत्व तथा प्रतिनिधि छनोटमा सबै क्षेत्रीय प्रतिनिधिले आफ्नो विवेक प्रयोग गरी उम्मेदवारको योग्यता, क्षमता, क्रियाशीलता र संगठनमा गरेको योगदानका आधारमा मतदान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङ जिल्ला उपसभापति गिरिराज सुवेदी, कोषाध्यक्ष प्रकाश सुवेदी, कांग्रेस दाङ जिल्ला सदस्य रेगबहादुर वली देउता, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का पूर्व सचिव कमल गौतमलगायत विभिन्न तहका ५० बढी नेताले धारणा राखेका थिए । भेलामा कांग्रेस नेता, युवा तथा क्षेत्रीय प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण तथा सञ्चालन परिवर्तन र युवा पक्षधर अभियानका युवा नेता प्रदीप मजगैयाँले गरेका थिए । नेपाली कांग्रेसभित्र नेतृत्व तथा प्रतिनिधि छनोटमा व्यापक सहभागिता र पारदर्शिता हुनुपर्ने विषयमा केन्द्रित छलफलमा दुई सय बढी क्षेत्रीय प्रतिनिधिको सहभागिता रहेको थियो।