मसुरिया, ९ असोज। राप्ती आधारभूत अस्पताल कालापानीको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्थाबारे अनुगमन, मूल्यांकन तथा समीक्षा गरिएको छ।
राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पतालको सेवा प्रवाह, पूर्वाधार, जनशक्ति, औषधि तथा उपकरणको उपलब्धता र स्वास्थ्य सेवाको गुणस्तरलगायतका विषयमा अनुगमन तथा मूल्यांकन गरेको हो।
अनुगमनका क्रममा अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, उपलब्ध स्रोतसाधन तथा न्यूनतम सेवा मापदण्डअनुसार पूरा गर्नुपर्ने आवश्यकताका विषयमा समीक्षा गरिएको थियो।
साथै सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुधार गर्नुपर्ने पक्षबारे समेत छलफल गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन न्यूनतम सेवा मापदण्डको प्रभावकारी कार्यान्वयन र नियमित मूल्यांकन आवश्यक रहेको बताए ।
त्यसैगरी वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील केसी,प्रशासन प्रमुख पृथ्वी पाैडेललगायतले अस्पतालको वर्तमान सेवा अवस्था, उपलब्ध स्रोतसाधन तथा सुधार गर्नुपर्ने विषयमा धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले गरेका थिए। कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो।