विश्व फार्मेसिस्ट दिवसका अवसरमा साताव्यापी कार्यक्रम सुरु

दाङ, ९ असोज । विश्व फार्मेसिस्ट दिवस–२०२६ का अवसरमा दाङमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ । नेपाल फार्मेसी संघ दाङ शाखाको आयोजनामा शुक्रवारदेखि साताव्यापी कार्यक्रम सुरु गरिएको हो ।

फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्न थालिएको छ । सप्ताहव्यापी कार्यक्रमको शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. अजय कुमार मिश्रले सुभारम्भ गरेका थिए ।

नेपाल फार्मेसी संघ दाङ शाखाका अध्यक्ष श्यामकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति मिश्रले स्वास्थ्य सेवामा औषधिको सुरक्षित, प्रभावकारी र तर्कसंगत प्रयोग सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहने बताए । उनले औषधिसम्बन्धी सही सूचना र परामर्श प्रदान गर्दै बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन फार्मासिस्ट र अन्य स्वास्थ्यकर्मीबीचको सहकार्य आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिवले सविन प्रियासनले फार्मेसी क्षेत्र केवल औषधि वितरणसँग मात्र सम्बन्धित नभई नागरिकको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताएका थिए । उनले फार्मासिस्टहरूले आफ्नो व्यावसायिक दक्षतासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । नेपाल फार्मेसी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुलभ अधिकारीले फार्मासिस्टको पेशागत मर्यादा, क्षमता विकास र स्वास्थ्य सेवामा उनीहरूको भूमिकालाई थप प्रभावकारी बनाउन निरन्तर कार्यक्रम आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा संघका सदस्य संगीता खरेलले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दिलकिरण परियारले गरेका थिए । सप्ताहव्यापी कार्यक्रम असोजको ९ गतेदेखि १५ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । जसअन्तर्गत पहिलो दिन रक्तदान, दोस्रो दिन मानसेवा आश्रममा एक छाक खाना खुवाउने, तेश्रो दिन ‘एएमआर’का सम्वन्धमा प्यानल डिस्कसन, चौथो दिन फर्मासिस्टको भूमिका तथा योगदान सम्वन्धमा छलफल, पाँचौ दिन औषधीको समुचित प्रयोग सम्वन्धी सचेतना मुलक कार्यक्रम, छैठौ दिन फर्मासिष्टको अवसर, चुनौति र समाजमा फर्मासिष्टलाई हर्ने नजर सम्वन्धी अन्तरक्रिया र सातौ दिन समापन कार्यक्रम गर्ने भएको छ ।