दाङ, ८ असोज । लुम्बिनी प्रदेशमा परिवार नियोजन तथा यौन र प्रजनन स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र निरन्तरता अभिवृद्धि गर्ने उद्देश्यले समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ दाङ शाखाको आयोजना तथा स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशको समन्वय र सहयोगमा भएको बैठकमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा यौन र प्रजनन स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको अध्यक्षता तथा स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा बसेको बैठकमा प्रदेशमा परिवार नियोजन, यौन र प्रजनन स्वास्थ्य सेवाको वर्तमान अवस्था, सेवा विस्तार, गुणस्तर सुधार र प्रभावकारी समन्वयबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिरहेका कार्यक्रम तथा सेवाबारे जानकारी गराएको थियो । विशेषगरी ग्राहक–केन्द्रित परिवार नियोजन तथा यौन र प्रजनन स्वास्थ्य सेवा विस्तार परियोजनाअन्तर्गत सञ्चालित गतिविधि, उपलब्धि र आगामी प्राथमिकता प्रस्तुत गरिएको थियो । परियोजनाले सेवाको पहुँचबाट टाढा रहेका, सीमान्तकृत तथा पिछडिएका समुदायसम्म गुणस्तरीय सेवा पु¥याउन सहजीकरण गर्दै आएको जानकारी गराइयो ।
परियोजनामार्फत सेवा प्रदायकको क्षमता विकास, परिवार नियोजन साधनको नियमित आपूर्ति व्यवस्थापनमा सहयोग, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य सुदृढीकरण तथा सरकारी निकाय, स्थानीय तह र साझेदार संस्थाबीच प्रभावकारी समन्वय कायम गर्न विभिन्न गतिविधि सञ्चालन हुँदै आएको बताइएको थियो ।
बैठकमा नेपाल परिवार नियोजन संघका पाल्पा, दाङ, रुपन्देही, नवलपरासी र बाँके शाखाबाट प्रदान भइरहेका सेवा तथा कार्यक्रमबारे संघको दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले विस्तृत प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ताराबहादुर कार्कीले गरेका थिए । बैठकले परिवार नियोजन सेवाका लागि आवश्यक साधनको नियमित आपूर्ति सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयसँग आवश्यक समन्वय तथा सहकार्य गर्ने निर्णय गरेको छ ।
साथै, साझेदार संस्थाले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा सेवा र कार्यक्रम दोहोरिन नदिई आपसी समन्वय र सहकार्यमा काम गर्ने सहमति भएको छ । बैठकले सरकारी तथा गैरसरकारी निकायबीचको समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै लुम्बिनी प्रदेशका सबै समुदायमा सहज, गुणस्तरीय र निरन्तर सेवा विस्तार गर्न संयुक्त रूपमा अघि बढ्ने निष्कर्ष निकालेको छ ।