सञ्जीवनीमा हेमोडायलाइसिस सेवा सुरु

गोरक्ष समाचारदाता

दाङ, ८ असोज । घोराही–३ बरगदुवास्थित सञ्जीवनी टिचिङ हस्पिटलले मृगौलाका बिरामीका लागि हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले असोज ७ गतेदेखि औपचारिक रूपमा सेवा सुचारु गरेको हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार मृगौलाले शरीरमा आवश्यक काम गर्न नसक्ने अवस्थामा रगतमा जम्मा हुने हानिकारक पदार्थ तथा अतिरिक्त तरल पदार्थ हटाउन हेमोडायलाइसिस गरिन्छ । सेवा सञ्चालनमा आएसँगै नियमित डायलाइसिस आवश्यक पर्ने मृगौलाका बिरामीका लागि दाङमै थप उपचार सुविधा उपलब्ध भएको अस्पतालले जनाएको छ ।

अस्पतालले आधुनिक उपकरणमार्फत् हेमोडायलाइसिस सेवा प्रदान गर्ने जनाएको छ । प्रमुख कार्यकारी अधिकृत रोकाका अनुसार अत्याधुनिक मेसिनबाट डायलाइसिस गरिने भएकाले सेवा सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ । सेवामा उच्च सुरक्षा र कम जोखिम, प्रभावकारी सफाइ, कम्प्युटराइज्ड तथा डिजिटल निगरानी, बिरामीका लागि सहज र सङ्क्रमणको जोखिम न्यूनीकरण जस्ता विशेषता रहेको अस्पतालले जनाएको छ ।

सञ्जीवनी टिचिङ हस्पिटलले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न विशेषज्ञ तथा अत्याधुनिक स्वास्थ्य सेवा थप गर्दै आएको जनाएको छ । अस्पतालले बिरामीको आवश्यकता र स्वास्थ्य अवस्थाका आधारमा हेमोडायलाइसिस सेवा उपलब्ध गराउने जनाएको छ ।