कांग्रेसको १५औँ महाधिवेशन :दाङका पाँच पालिकामा सर्वसहमत नयाँ नेतृत्व चयन

गोरक्ष समाचारदाता

दाङ, ८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तगर्त बुधवार गाउँ–नगर अधिवेशन भएको छ । अधिवेशन अन्तर्गत जिल्लाको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा सर्वससम्मत नेतृत्व चयन भए पनि अन्य पालिकामा निर्वाचन हुने भएको छ । जिल्लाका १० पालिकामध्ये तुलसीपुर, दंगीशरण, राप्ती, गढवा र शान्तिनगरमा सर्वसम्मतिमै नेतृत्व चयन भएका छन् । अन्य सात पालिकामा सहमतिको प्रयास जारी रहेको छ ।

सहमति हुन नसकेका पालिकामा बिहिबार नेतृत्व चयनका लागि मतदात हुने भएको छ । अधिवेशन अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको नगर सभापतिमा वीरेन्द्र शाहको मात्र एकल उम्मेदवारी परेपछि शाह निर्विरोध सभापति चयन भएका छन् । यसैगरी एकल उम्मेदवारी परेपछि उपसभापति खुल्लामा ओम वली, उपभासपति महिलामा कालिका रोका मगर, सचिवमा बालकृष्ण डाँगी र सहसचिवमा मदन खत्री निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न भने बाँकी छ । दंगीशरण गाउँपालिकामा पनि सर्वसम्मतिले टेकबहादुर थापा सभापतिमा चयन भएका छन् । दंगीशरणमा सभापतिमा थापासँगै उपसभापति खुल्लामा चेतलाल वली, उपसभापति महिलामा अनिता चौधरी, सचिवमा दिनेश चौधरी र सहसचिवमा प्रेम पुन निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैगरी राप्ती गाउँपालिकामा सर्वसम्मतिमै नयाँ नेतृत्व चयन भएको छ । जस अन्तर्गत सभापतिमा पुनः विद्याशरण चौधरी निर्वाचित भएका छन् । जसको उपसभापति खुल्लामा मावुल महोमद, उपसभापति महिलामा ताराकुमारी चौधरी, सचिवमा सूर्यप्रकाश भण्डारी र सहसचिवमा कमलादेवी रेग्मी निर्वाचित भएका छन् । सदस्यहरू पनि सर्वसम्मतिमै चयन भएका छन् । यसैगरी गढवा गाउँपालिकामा पूर्णप्रसाद चौधरीको सभापतित्वमा सर्वसम्मत २१ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जसको उपसभापति खुल्लामा रमेश बजगाई, उपसभापति महिलामा निर्मला परियार, सचिवमा पटवारी यादव र सहसचिवमा नारायण केसी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । शान्तिनगर गाउँपालिकामा ओपेन्द्र रावतको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसहमत चयन भएका छन् । जसको उपसभापति खुल्लामा दुर्गाबहादुर घर्ती, उपसभापति महिलामा लालमती सापकोटा, सचिवमा दुर्गाबहादुर खड्का, सहसचिवमा भागीराम रावत, कोषाध्यक्षमा दीपक खड्का सर्वसम्मतिले निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैगरी लमही नगरपालिका, बबई गाउँपालिका, बङ्गलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाम नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । यी पालिकामा पनि सहमतिमा नयाँ नेतृत्व चयनका लागि प्रयास भइरहेको र सहमति हुन नसकेमा असोज ८ गते बिहिबार मतदान हुने भएको छ ।

घोराहीमा रावत र मजगैयाँबिच प्रतिस्पर्धा

नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत र प्रदीप मजगैयाँबिच प्रतिस्पर्धा हुने भएको छ । नेपाली काग्रेसको १५ औं महाधिवेशन अन्तर्गत घोराहीको सभापतिका लागि रावत र र मजगैयाँँले उम्मेदवारी दर्ता गराएका छन् । अधिवेशनमा रावत र मजगैयाँले टिम बनाएर प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली कांग्रेस घोराहीका सभापति समेत रहेका रावतले पुनः सभापतिमा प्रतिस्पर्धा गर्न थालेका छन् । मजगैयाँ भने नेपाली कांग्रेस दाङका कार्यसमिति सदस्य हुन् ।

रावत प्यानलबाट नगर उपसभापति खुल्लामा बसन्त जोशी, उपसभापति महिलामा तारा कँडेल आचार्य, सचिवमा सनत गिरी र सहसचिवमा भिमबहादुर बोहरा उम्मेदवार रहेका छन् भने मजगैयाँ प्यानलबाट उपसभापति खुल्लामा टीकाकुमार श्रेष्ठ (मोहन), उपसभापति महिलामा भावना देवकोटा आचार्य, सचिव पदमा सन्तोष केसी र सहसचिवमा इन्द्रबहादुर वली उम्मेदवार रहेका छन् ।

नगर कार्यसमिति सदस्यतर्फ युवा महिला, युवा खुला, दलित महिला र दलित खुला सदस्यमा केही उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। युवा महिलातर्फ हेमा बुढाथोकी, युवा खुलातर्फ वसन्त डिसी र सन्तोषकुमार नेपाली, दलित महिलातर्फ पवित्रा गन्धर्व तथा दलित खुलातर्फ कर्मलाल दमाई निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार घोराहीमा नयाँ नेतृत्व चयनका लागि बिहिबार दिउँसो ११ः३० बजेदेखि मतदान हुने भएको छ ।