दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असोज ११ गते निर्वाचन हुँदैछ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत् नयाँ कार्यसमिति चयन गर्न लागिएको हो । अध्यक्ष पदमा लागि तीनजना बिच प्रतिस्पर्धा हुँदै छ । अध्यक्ष पदका लागि नरेशकुमार श्रेष्ठ, अनिल आचार्य र धु्रवकुमार गहतराज उम्मेदवारी दिएका छन् । संघको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका नरेशकुमार श्रेष्ठले यस पटक अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
उद्योगी तथा व्यवसायीका समस्या समाधानसँगै जिल्लाको आर्थिक विकासका लागि लगानीको वातावरण निर्माण, औद्योगिक क्षेत्रको काम अघि बढाउने, पर्यटन पूर्वाधार विकास, कोइलाबास नाका सञ्चालनका लागि पहल, विमानस्थलको नियमित सञ्चालन तथा स्थानीय उत्पादनको बजार विस्तारलाई उनले मुख्य एजेण्डाका रूपमा अघि सारेका छन् । दाङमा कृषि, पशुपालन, पर्यटन तथा उद्योग क्षेत्रमा पर्याप्त सम्भावना रहे पनि त्यसको अपेक्षित उपयोग हुन नसकेको श्रेष्ठको भनाई छ ।
राज्यको अस्थिर नीति, पूर्वाधारको कमी, लगानी सुरक्षाको अभाव, दक्ष जनशक्ति पलायन तथा व्यवसायीप्रति राज्यको दृष्टिकोणमा सुधार आवश्यक रहेको उनले बताएका छन् । दाङको उद्योग व्यवसाय क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना र आगामी योजनाका विषयमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार नरेशकुमार श्रेष्ठसँग गोरक्षकर्मी अमरराज आचार्यले गरिएको कुराकानीको सारसंक्षेपमा ।
तपाईको अध्यक्ष पदमा उम्मेदवारी किन ?
दाङ जिल्ला उद्योग वाणिज्य संघमा सचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेको छु । ती जिम्मेवारीमा रहँदा उद्योगी तथा व्यवसायीका हकहितका विषयमा काम गर्ने अवसर पाएँ । व्यवसायीका समस्या नजिकबाट बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने काम पनि गरियो । अब आफ्नै नेतृत्वमा उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधान गर्दै जिल्लाको आर्थिक विकासमा थप योगदान गर्ने इच्छा भएकाले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । संस्थाभित्र रहेर अहिलेसम्म प्राप्त गरेको अनुभवलाई अब नेतृत्वका रूपमा प्रयोग गर्न चाहेको छु । मेरो उम्मेदवारी व्यक्तिगत पदका लागि मात्र होइन । उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्ने, जिल्लामा लगानीको वातावरण बनाउने र निजी क्षेत्र तथा राज्यबीच प्रभावकारी समन्वय स्थापित गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ ।
तपाईका चुनावी एजेन्डा के–के छन् ?
व्यवसायीका समस्या समाधान गर्नु मेरो मुख्य एजेन्डा हो । अहिले पनि व्यवसायीले विभिन्न किसिमका समस्या भोगिरहेका छन्। करसम्बन्धी समस्या, नापतौल, घरबहाल कर, व्यवसाय दर्ता तथा नवीकरण लगायतका विषयमा व्यवसायीले समस्या भोगिरहेका छन् । कतिपय अवस्थामा विभिन्न नाममा व्यवसायीलाई दुःख दिने अवस्था पनि देखिन्छ । यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्ने छौँ । अर्को महत्वपूर्ण विषय लगानीको वातावरण हो । लगानी गर्ने वातावरण सहज नभएसम्म नयाँ लगानी आउँदैन । भएका लगानीसमेत जोखिममा पर्न सक्छन् ।
त्यसैले व्यवसायीले आफ्नो लगानी सुरक्षित छ भन्ने अनुभूति गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । दाङमा घोषणा भएको औद्योगिक क्षेत्रको काम अघि बढाउनु पनि हाम्रो प्राथमिकता हो । लामो समयदेखि औद्योगिक क्षेत्रको विषय उठ्दै आएको छ । यसका लागि संघले विगतदेखि नै पहल गर्दै आएको छ । अब अझ प्रभावकारी रूपमा सम्बन्धित निकायसँग समन्वय गरेर काम अघि बढाउन आवश्यक छ । त्यस्तै, दाङका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको विकासमा जोड दिने छौँ । यी क्षेत्रको उचित विकास र प्रचारप्रसार गर्न सके जिल्लामा पर्यटकको सङ्ख्या बढाउन सकिन्छ । त्यसले होटल, यातायात, कृषि, व्यापार लगायतका धेरै क्षेत्रलाई चलायमान बनाउन सक्छ । कोइलाबास नाका सञ्चालनका लागि पहल गर्ने छौँ । नियमित हवाई सेवा सञ्चालनका लागि पनि सम्बन्धित निकायसँग समन्वय गर्ने छौँ । जिल्लामा भएका सम्भावनाको खोजी गर्ने र नयाँ आर्थिक गतिविधिका क्षेत्र पहिचान गर्ने हाम्रो योजना छ ।
अध्यक्षमा निर्वाचित भए उद्योग व्यवसाय क्षेत्रका लागि मुख्य प्राथमिकता के हुनेछन् ?
सबैभन्दा पहिले लगानीको वातावरण निर्माणमा जोड दिने छौँ । उद्योगी–व्यवसायीले आफ्नो लगानी सुरक्षित हुने विश्वास गर्न सके मात्र नयाँ लगानी आउँछ । त्यसैले निजी क्षेत्रले लगानी गर्ने वातावरण निर्माण गर्नु पहिलो प्राथमिकता हुनेछ । औद्योगिक क्षेत्र निर्माण, पर्यटन पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन, स्थानीय उत्पादनको बजार विस्तार, व्यवसायीका लागि वित्तीय पहुँच तथा राज्यका निकायसँग प्रभावकारी समन्वयलाई प्राथमिकतामा राख्ने छौँ । संघ व्यवसायीका समस्या उठाउने संस्था मात्र होइन, समस्या समाधानका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गर्ने संस्थाका रूपमा अघि बढ्नुपर्छ । व्यवसायीका समस्या सुन्ने, तथ्यका आधारमा सम्बन्धित निकायमा पु¥याउने र समाधान नभएसम्म त्यसको निरन्तर फलोअप गर्ने प्रणाली विकास गर्न आवश्यक छ ।
जिल्लामा उद्योग व्यवसायका सम्भावना कस्ता छन् ?
दाङमा उद्योग व्यवसायको सम्भावना धेरै राम्रो छ । कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना छन् । कृषि उत्पादन राम्रो हुँदै आएको छ । पशुपालनमा पनि राम्रो सम्भावना छ । कुखुरापालनका दृष्टिले दाङ महत्वपूर्ण जिल्ला हो । खसी–बोका उत्पादन तथा निर्यातसमेत भइरहेको छ । यसलाई व्यवस्थित रूपमा विस्तार गर्न सके पशुपालन व्यवसायबाट जिल्लामा ठूलो आर्थिक गतिविधि सिर्जना गर्न सकिन्छ । त्यस्तै, जिल्लामा धार्मिक तथा प्राकृतिक रूपमा प्रशस्त पर्यटकीय क्षेत्र छन्। भारतबाट धार्मिक पर्यटक आउने गरेका छन् । तर सम्भावनाअनुसार पर्यटन क्षेत्रमा लगानी र पूर्वाधार विकास हुन सकेको छैन । दाङमा सिमेन्ट उद्योग सञ्चालनमा छन् । कृषि क्षेत्रमा बीउ उत्पादन सुरु भएको छ । पशुपालनतर्फ ह्याचरी, दाना उद्योग तथा दुध प्रशोधन उद्योग स्थापना भएका छन् । यस्ता उद्योगलाई प्रविधि, बजार र लगानीसँग जोड्न सके जिल्लाको उत्पादन बढाउन सकिन्छ । दाङमा उपलब्ध कच्चा पदार्थ, कृषि उत्पादन, पशुपालन तथा पर्यटनलाई उद्योग व्यवसायसँग जोड्न सकियो भने स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।
जिल्लाका उद्योगी तथा व्यवसायीले कस्ता चुनौती भोग्दै आएका छन् ?
उद्योग व्यवसाय सञ्चालन गर्दा विभिन्न चुनौती आउँछन् । पछिल्लो समय कोभिड–१९ महामारीले व्यवसायीलाई ठूलो असर ग¥यो । त्यसपछि भएका विभिन्न आन्दोलनले पनि निजी क्षेत्रलाई थप समस्यामा पारेको छ । राज्यबाट व्यवसायीले अपेक्षित सहयोग पाउन सकेका छैनन् । राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने हो । व्यवसायीको लगानी सुरक्षित हुने वातावरण निर्माण गर्नुपर्छ । अर्को ठूलो समस्या दक्ष जनशक्तिको हो । आवश्यक जनशक्ति सहजरूपमा पाउन सकिँदैन । व्यवसायीले आफैँ जनशक्ति उत्पादन गर्नु पर्ने अवस्था छ ।
व्यवसायीले तालिम दिएर जनशक्ति तयार गरे पनि केही समयपछि विदेशिने वा जिल्ला छाड्ने समस्या छ । दक्षजनशक्ति विदेश जाने क्रम बढ्दा जिल्लामा जनशक्तिको अभाव हुँदै गएको छ । स्वदेशमा भन्दा विदेशमा बढी आम्दानी हुने भएकाले युवा विदेशिने अवस्था छ । यो समस्या समाधान गर्न राज्यले स्वदेशमै रोजगारी र उद्यमको वातावरण निर्माण गर्नुपर्छ । राज्यले व्यवसायीलाई राजस्व सङ्कलनको माध्यमका रूपमा मात्र हेर्नु हुँदैन । व्यवसायीको लगानी सुरक्षित गर्ने, विद्युत् तथा पूर्वाधार सहज बनाउने र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण सिर्जना गर्ने काम पनि राज्यको हो ।
हरेक आन्दोलनमा उद्योगी–व्यवसायी नै निशानामा पर्ने अवस्था किन देखिन्छ ?
उद्योगी तथा व्यवसायीले देशमै बसेर रोजगारी सिर्जना गर्ने उद्देश्यले ऋण लिएर लगानी गरेका हुन्छन् तर आन्दोलनका क्रममा उद्योग व्यवसायमा क्षति पुग्नु दुःखद् विषय हो । निजी क्षेत्रप्रतिको दृष्टिकोणमा परिवर्तन आवश्यक छ । उद्योगी–व्यवसायीले लगानीको सुरक्षा र सहज वातावरण माग्दा त्यसलाई नाफा कमाउने विषयका रूपमा मात्र बुझ्नु हुँदैन । उद्योग सञ्चालन हुन्छ भने रोजगारी सिर्जना हुन्छ । उत्पादन बढ्छ । बजार चलायमान हुन्छ । सरकारको राजस्वसमेत बढ्छ । त्यसैले निजी क्षेत्रलाई सुरक्षित र उद्योगमैत्री वातावरण निर्माण गर्नु राज्यकै हितमा हुन्छ । यस विषयमा तीनै तहका सरकारसँग समन्वय गरेर काम गर्नेछौँ । उद्योगी–व्यवसायीको लगानी र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न राज्यका निकायको ध्यानाकर्षण गराउने छौँ ।
व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
राज्यले व्यवसायीलाई कर उठाउने क्षेत्रका रूपमा मात्र हेर्नु हुँदैन । राज्यको नीति स्थिर हुनुपर्छ । सरकार परिवर्तनसँगै नीति, नियम र करका दर परिवर्तन हुँदा व्यवसायीलाई दीर्घकालीन योजना बनाउन समस्या हुन्छ । दीर्घकालीन नीति र व्यवसायमैत्री वातावरण निर्माण गर्न सके लगानी बढ्छ । उत्पादन वृद्धि हुन्छ । रोजगारी सिर्जना हुन्छ र आर्थिक गतिविधि विस्तार हुन्छ । व्यवसायी क्षेत्र पनि कमजोरीरहित छैन । व्यवसायीले पनि आफ्नो क्षेत्र सुधार गर्नुपर्छ । व्यवसाय सञ्चालन गर्दा कानुनको पालना गर्नुपर्छ । हामी आफ्नो क्षेत्रबाट सुधार गर्न तयार छौँ । राज्यले सुधारका लागि चाल्ने कदममा निजी क्षेत्र सहकार्य गर्न तयार छ तर व्यवसायीलाई कारबाही गर्ने वा राजस्व उठाउने विषयमा मात्र राज्यको ध्यान केन्द्रित हुनु हुँदैन । समस्या के हो भनेर बुझेर समाधान गर्ने वातावरण बन्नुपर्छ ।
राज्यबाट व्यवसायीले के अपेक्षा गरेका छन् ?
राज्यको स्पष्ट नीति आवश्यक छ । पूर्वाधार निर्माण, बजारको सुनिश्चितता, सहुलियतपूर्ण ऋण, कर सहुलियत तथा व्यवसायसम्बन्धी तालिमको व्यवस्था हुनुपर्छ । अहिले पनि व्यवसाय गर्ने वातावरण पूर्ण रूपमा सहज छैन । लगानीकर्ताको लगानी सुरक्षित हुने वातावरण नहुँदा नयाँ लगानीकर्ता लगानी गर्न हिच्किचाउने अवस्था छ । त्यसैले लगानी सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ । व्यवसायको प्रकृतिअनुसार वर्गीकरण र स्पष्ट मापदण्ड बनाउन आवश्यक छ । राज्यले प्रभावकारी नियमन गर्न सके व्यवसाय क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न सहयोग पुग्छ । व्यवसायीलाई आवश्यक सेवा एउटै स्थानबाट सहजरूपमा उपलब्ध गराउने व्यवस्था गर्न सके पनि धेरै समस्या समाधान हुन्छ । कर, नापतौल, दर्ता, नवीकरणलगायतका विषयमा व्यवसायीले विभिन्न कार्यालय धाउनु पर्ने अवस्था कम गर्न आवश्यक छ ।
दाङको पर्यटन विकासका लागि के गर्न आवश्यक छ ?
दाङमा धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको कमी छैन तर त्यसअनुसार पूर्वाधार विकास हुन सकेको छैन । पर्यटक भित्र्याउन सडक, नियमित हवाई सेवा, होटल तथा पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्नुपर्छ । पर्यटकीय क्षेत्रको प्रचारप्रसार पनि उत्तिकै महत्वपूर्ण छ । भारतबाट आउने पर्यटकलाई सहज वातावरण बनाउन सके दाङको पर्यटन व्यवसायले ठूलो फड्को मार्न सक्छ । भारतीय पर्यटकका लागि सहज आवागमन, सुरक्षा, यातायात तथा आवश्यक सेवा उपलब्ध गराउन सके उनीहरूको बसाइ लम्ब्याउन सकिन्छ । पर्यटकको सङ्ख्या बढे होटल, यातायात, कृषि, व्यापारलगायतका क्षेत्रमा आर्थिक गतिविधि बढ्छ । त्यसैले पर्यटनलाई केवल घुम्ने विषयका रूपमा नभई आर्थिक विकाससँग जोडेर हेर्न आवश्यक छ।
कोइलाबास नाका र विमानस्थल सञ्चालनका विषयलाई कसरी हेर्नुभएको छ ?
दाङको आर्थिक विकासका लागि बाह्य बजारसँगको पहुँच महत्वपूर्ण छ । कोइलाबास नाका पूर्ण रूपमा सञ्चालन गर्न सके दाङसँगै समग्र लुम्बिनी प्रदेशको व्यापारिक गतिविधिमा सहयोग पुग्न सक्छ । त्यसका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्न आवश्यक छ । निजी क्षेत्रले सरकारसँग समन्वय गरेर नाका सञ्चालन र पूर्वाधार विकासका विषयमा आवाज उठाउनुपर्छ । त्यस्तै, दाङमा हवाई सेवा नियमित हुन सके व्यवसाय तथा पर्यटन क्षेत्रलाई ठूलो सहयोग पुग्छ । बाहिरबाट आउने व्यवसायी, पर्यटक तथा लगानीकर्ताका लागि सहज आवागमन आवश्यक छ । त्यसैले विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पनि पहल गर्नेछौँ ।
दाङमा औद्योगिक क्षेत्र निर्माणको विषय कहाँ पुगेको छ ?
दाङमा अहिलेसम्म व्यवस्थित औद्योगिक क्षेत्र निर्माण हुन सकेको छैन । यसले उद्योग सञ्चालन तथा विस्तारमा समस्या भएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले लामो समयदेखि पहल गर्दै आएको छ। म स्वयं पनि यस विषयमा विगतदेखि काम गर्दै आएको छु । औद्योगिक क्षेत्रका लागि आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग पटक–पटक पहल गरिएको छ । औद्योगिक क्षेत्र घोषणा मात्र भएर हुँदैन ।
त्यसका लागि आवश्यक बजेट, पूर्वाधार र व्यवस्थापनको काम अघि बढ्नुपर्छ । उपलब्ध जानकारीअनुसार औद्योगिक क्षेत्र कार्यान्वयनमा बजेट व्यवस्थापनको विषयले लामो समयदेखि प्रभाव पारेको छ । आउँदा दिनमा पनि यस विषयलाई प्राथमिकताका साथ अघि बढाउने छौँ । जिल्लामा उद्योग स्थापना गर्ने वातावरण निर्माण गर्न औद्योगिक क्षेत्र आवश्यक छ । औद्योगिक क्षेत्र बनेपछि नयाँ उद्योग आउन सक्छन्, रोजगारी सिर्जना हुनसक्छ र उत्पादन बढाउन सकिन्छ । त्यस्तै, जिल्लामा नापतौल सम्बन्धी कार्यालय नहुँदा व्यवसायी नेपालगञ्ज वा भैरहवा जानु पर्ने अवस्था छ । यस्ता आधारभूत सेवा जिल्लामै उपलब्ध गराउन पहल गरिनेछ ।
स्थानीय उत्पादनको बजार विस्तारका लागि के गर्नुपर्छ ?
दाङमा कृषि तथा पशुपालन उत्पादनको राम्रो सम्भावना छ तर उत्पादन मात्र गरेर हुँदैन, बजार आवश्यक हुन्छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नुपर्छ । किसान र व्यवसायीबिच समन्वय, उत्पादनको गुणस्तर, प्याकेजिङ, भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिनुपर्छ । कृषि उत्पादनमा आधारित उद्योग स्थापना गर्न सके किसानले उत्पादनको राम्रो मूल्य पाउन सक्छन् र उद्योगले कच्चा पदार्थ पाउँछ । स्थानीय उत्पादनलाई सरकारी तथा निजी क्षेत्रका बजारसँग जोड्ने वातावरण बनाउन संघले पहल गर्न सक्छ ।
जिल्लाभित्र उत्पादन हुने वस्तुको पहिचान गरेर त्यसको बजार विस्तारका लागि काम गर्न आवश्यक छ । उद्योग व्यवसायको विकासमा दक्ष जनशक्तिको समस्या कसरी समाधान गर्न सकिन्छ ? दक्ष जनशक्ति उद्योग व्यवसायको आधार हो । अहिले जिल्लामा आवश्यक जनशक्ति पाउन कठिन छ । व्यवसायीले आफैँ तालिम दिएर जनशक्ति तयार गर्नु पर्ने अवस्था छ । यसका लागि उद्योग वाणिज्य संघले सम्बन्धित शैक्षिक तथा प्राविधिक संस्थासँग सहकार्य गर्न सक्छ । बजारमा कस्तो जनशक्ति आवश्यक छ भन्ने पहिचान गरेर सोहीअनुसार तालिम सञ्चालन गर्नुपर्छ । युवालाई सिप दिएर रोजगारीसँग जोड्न सकियो भने विदेशिने क्रमलाई केही हदसम्म कम गर्न सकिन्छ । निजी क्षेत्रले रोजगारी सिर्जना गर्न सक्छ, तर त्यसका लागि राज्यले आवश्यक वातावरण र प्रोत्साहन दिनुपर्छ ।
अन्त्यमा केही भन्नु हुन्छ ?
मैले नेतृत्व गरेको टिमले उठाएका एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । हामीले गर्न नसक्ने कामलाई ‘गर्छौँ’ भनेर मात्र भनेका छौँ । जे गर्न सकिन्छ, त्यसलाई स्पष्ट रूपमा एजेन्डामा राखेका छौँ । हाम्रो उद्देश्य कुरा गर्ने भन्दा काम गरेर देखाउने हो । उद्योगी तथा व्यवसायीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्ने छौँ । लगानीको वातावरण निर्माण, औद्योगिक क्षेत्रको काम अघि बढाउने, पर्यटन विकास, कोइलाबास नाका सञ्चालन, हवाई सेवा सुधार तथा व्यवसायीका दैनिक समस्या समाधानमा केन्द्रित भएर काम गर्ने छौँ ।
उद्योग व्यवसाय बलियो भयो भने मात्र रोजगारी सिर्जना हुन्छ, उत्पादन बढ्छ र जिल्लाको अर्थतन्त्र बलियो हुन्छ । त्यसैले निजी क्षेत्रलाई कमजोर बनाउने होइन, राज्य र निजी क्षेत्रबिच सहकार्यको वातावरण बनाउन आवश्यक छ । व्यवसायीको साथ र सहयोगबाट हामीले अघि सारेका एजेन्डा कार्यान्वयन गर्न सकिनेमा पूर्ण विश्वस्त छौँ । व्यवसायीको विश्वासलाई काममार्फत् प्रमाणित गर्ने हाम्रो उद्देश्य हो ।