केशव शर्मा
राजनीतिमा एउटा भनाइ छ, पार्टी सत्ता र राजकीय सत्ता पाउन जति कठिन छ, सत्ता छाड्न त्योभन्दा कठिन । नेपाली राजनीतिमा अहिले अर्को बहस पनि देखिन्छ, त्यो हो आफू अझै अपरिहार्य छु भन्ने विश्वास छाड्न थप कठिन हुँदो रहेछ । शायद यही कारण अहिले नेपाली कांग्रेस र नेकपा एमालेका दुई पुराना राजनीतिक पात्र शेरबहादुर देउवा र केपी शर्मा ओली एउटै प्रश्नको दुई फरक संस्करणजस्तो देखिन्छन ।
दुवैले आफ्नो जीवनको ठूलो हिस्सा राजनीतिमा बिताए, । संघर्ष गरे, जेल गए, पार्टी बनाए, पार्टी फुटाए अनि फेरि जुटाए, सरकारको नेतृत्व गरे, चुनाव जिते, चुनाव हारे, आफ्ना पार्टीको सर्वोच्च पदमा पुगे । देउवा पाँचपटक प्रधानमन्त्री र दुईपटक कांग्रेस सभापति बने । ओली चारपटक प्रधानमन्त्री र तीनपटक एमाले अध्यक्ष बने । नेपाली राजनीतिमा उनीहरुले पाएको कुरा पनि कम छैन । राजनीतिक जिवनमा धेरै थोक पाएर पनि नेताको सबैभन्दा कठिन समय प्रायः उसले शक्ति गुमाउँदा होइन, शक्ति छाड्नुपर्ने समय आउँदा सुरु हुन्छ । अहिले देउवा र ओलीको राजनीतिमा यस्तै देखिदै छ ।
देउवाको अवस्था अलि फरक छ । १४औँ महाधिवेशनपछि उनको सभापतिको कार्यकाल अन्तिम हुने वैधानिक अवस्था बनिसकेको थियो । त्यसैले १५ औं कांग्रेस महाधिवेशनमा उनी पुनः सभापतिको उम्मेदवार बन्ने बाटो थिएन । सार्वजनिक अभिव्यक्तिहरुमा पनि उनले अब आफू सभापति नहुने संकेत दिइसकेका थिए । तर सभापति नबन्नु र राजनीतिक प्रभावबाट पूर्ण रुपमा बाहिरिनु फरक विषय हो । देउवा यही दोस्रो बाटो छाड्न तयार नभएको देखिने घटनाक्रम अहिले कांग्रेसभित्रको विवादसँग जोडिएको छ । देउवा पक्षले विशेष महाधिवेशनबाट बनेको नेतृत्वको वैधानिकता प्रश्न गर्दै आएको छ । सर्वोच्च अदालतले महाधिवेशन रोक्ने अन्तरिम आदेश नदिएपछि देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ । देउवाको व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि एउटा ठूलो प्रश्न खडा देखिन्छ, अब उनको लडाइँ पदका लागि हो कि राजनीतिक विरासत र संस्थागत वैधानिकताका लागि ? देउवाका लागि अहिले यही सबैभन्दा ठूलो राजनीतिक परीक्षा देखिन्छ अहिले ।
ओलीको समस्या अलि फरक छ । ओलीको अवस्था देउवाभन्दा कानुनी हिसाबले फरक छ । उनी अहिले पनि एमाले अध्यक्ष छन । तत्कालै अध्यक्ष बन्न नपाउने वैधानिक अवरोध देउवाको जस्तो छैन । त्यसैले ओलीको बहस ‘अब उनी पदमा बस्न मिल्छ कि मिल्दैन ? भन्ने होइन । अब उनले नेतृत्व गरिरहनु पर्छ कि नयाँ पुस्तालाई नेतृत्वको ढोका खोल्नुपर्छ ? भन्ने हो । ओलीको राजनीतिक शैलीको एउटा पुरानो विशेषता फेरि देखिन्छ, परिस्थितिलाई आफ्नो पक्षमा मोड्ने क्षमता । त्यो क्षमता उनको राजनीतिक यात्राको ठूलो शक्ति पनि हो । तर राजनीतिमा एउटा बिन्दु यस्तो आउँछ, जहाँ परिस्थितिलाई आफूअनुकूल मोडिरहन खोज्नु र परिस्थिति बदलिएको स्वीकार नगर्नुबीचको दूरी निकै सानो हुन्छ । त्यहीँबाट चतुराइ र हठ छुट्याउनुपर्ने हुन्छ ।
परिस्थिति बदलिइसक्दा पनि आफू पुरानै ठाउँमा उभिइरहनु चतुराइभन्दा बढी हठ भन्न मिल्छ । देउवा र ओलीबीच धेरै राजनीतिक भिन्नता छन । तर उनीहरुको सक्रिय राजनीतिको उत्तरार्धमा एउटा असाधारण समानता देखिएको छ । जेन–जी आन्दोलनको उत्कर्षमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुप¥यो । त्यसबेला देउवा उनको सरकारका प्रमुख सत्ता सहयोगी थिए । आन्दोलनको आक्रोशबाट देउवा पनि अलग रहन सकेनन । राजनीतिले जीवनभर दिएको शक्ति, पहुँच र सुरक्षा एकैपटक कति अस्थायी हुन सक्छ भन्ने दृश्य दुवैले एकै समयमा देखे ।
देउवा र ओली नेपालको पछिल्लो चार दशकभन्दा बढी समयको राजनीतिक परिवर्तनका प्रत्यक्ष पात्र हुन । देउवा र ओली दुवैको राजनीतिक जीवनलाई केवल अहिलेको विवादबाट मूल्यांकन गर्नु अन्याय हुन्छ । उनीहरु नेपाली राजनीतिको एउटा युगका प्रतिनिधि हुन । उनीहरुले देखेको राजनीति संघर्षको राजनीति हो । जेल, निर्वासन, आन्दोलन, सत्ता, प्रतिपक्ष, चुनाव र पार्टी संगठन हुँदै उनीहरु यहाँसम्म आइपुगेका हुन । तर एउटा पुस्ताको योगदान जति ठूलो हुन्छ, त्यति नै ठूलो उसको उत्तरदायित्व पनि हुन्छ, आफ्नो अनुभवलाई संस्थामा हस्तान्तरण गर्ने । नेतृत्व छाड्नु पराजय होइन । आफूले बनाएको पार्टीमा आफूभन्दा फरक पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पनि पराजय होइन । बरु लामो राजनीतिक जीवनको सबैभन्दा ठूलो उपलब्धि त्यही हुन सक्छ ।
त्यसैले देउवा र ओलीले कति शक्ति बाँकी राखेका छन भन्ने भन्दा पनि उनीहरुले बाँकी शक्ति कसरी प्रयोग गर्छन् भन्ने हो । उनीहरुसँग अझै प्रभाव छ । समर्थक छन । अनुभव छ । पार्टीभित्र पुराना सम्बन्ध छन । तर इतिहासले उनीहरुलाई एउटा दुर्लभ अवसर पनि दिएको छ, आफ्नो सक्रिय राजनीतिक जीवनको अन्तिम अध्याय आफैँ लेख्ने । त्यो अध्याय फेरि पदका लागि संघर्ष गरेको, आफ्नै पार्टीलाई दुई धारमा धकेलेको र नयाँ पुस्तासँग शक्ति बाँड्न नसकेको कथाजस्तो बन्न पनि सक्छ । अथवा दशकौँको राजनीतिक यात्रापछि समयको माग बुझेर सम्मानपूर्वक पछि हटेको, संस्था बलियो बनाएको र नेतृत्व हस्तान्तरण सहज बनाएको कथाजस्तो पनि बन्न सक्छ । देउवा र ओली दुवैले नेपाली राजनीतिमा धेरै पाएका छन । पद पाए, शक्ति पाए, प्रतिष्ठा पाए, इतिहासमा आफ्नो नाम लेखाए । अब उनीहरुसामु बाँकी रहेको सबैभन्दा ठूलो प्रश्न शायद अर्को पद होइन, आफू नहुँदा पनि आफ्नो पार्टी कस्तो रहन्छ भन्ने हो ।
देउवा र ओलीले राजनीतिमा प्राप्त गर्न बाँकी धेरै कुरा अब छैन । प्रधानमन्त्री भए, पार्टीको नेतृत्वमा पुगे, सत्ता चलाए, आफ्ना विरोधीलाई पराजित गरे, आफ्ना समर्थकलाई अवसर दिए र दशकौँसम्म आफ्नो दलको राजनीतिलाई आफू वरिपरि घुमाए । अब उनीहरुसामु बाँकी रहेको सबैभन्दा ठूलो उपलब्धि फेरि कुनै पद जित्नु होइन, आफ्नो राजनीतिक यात्राको अन्तिम अध्याय कस्तो बनाउने भन्ने नै हो । आफू नहुँदा पनि आफ्नो पार्टी चलोस्, आफूले बनाएको संरचनामा आफूभन्दा नयाँ पुस्ताले आफ्नो बाटो बनाउन सकोस् र आफ्नो बिदाइले पार्टीलाई विभाजन होइन, नयाँ सुरुवातको बाटो देखावस । सायद लामो राजनीतिक जीवनको वास्तविक सफलता यही हो ।
देउवा र ओलीका अगाडि अहिले यही अवसर छ । उनीहरुको चाहना हुँदा आफ्नो राजनीतिक जीवनको अन्तिम दृश्यलाई फेरि एउटा शक्ति संघर्षको दृश्य बनाउन सक्छन । गुटको हिसाब, पदको हिसाब, आधिकारिकताको हिसाब र आफू वरिपरि कति नेता बाँकी छन् भन्ने हिसाब गर्दै अझ केही समय राजनीतिलाई तन्काउन सक्छन । तर त्यसले उनीहरुको इतिहास ठूलो बनाउनेभन्दा उनीहरुको बिदाइलाई थप असहज बनाउने जोखिम पनि त्यत्तिकै छ । उनीहरुले अर्को बाटो पनि रोज्न सक्छन । अब मेरो पालो होइन भन्न सक्ने बाटो । त्यो बाटोमा पद नहोला, तर सम्मान हुनेछ । शक्ति नहोला, तर विरासत हुनेछ । दैनिक राजनीतिको केन्द्रमा नहोला, तर इतिहासको केन्द्रमा रहने ठाउँ हुनेछ ।