निरन्तरता नै सफलताको आधार हो

नारायणप्रसाद श्रेष्ठ

मानव जीवन करकलोको पातमा रहेको पानीको फोका सरह हुन्छ । यो कुनै पनि बेला नष्ट हुनसक्छ । मानिस चेतनशिल प्राणी भएर पनि प्रकृतिको यो नियमलार्ई उलङ्घन गर्न सक्दैन । किनकी मानिस जन्मे पछि मृत्यु निश्चित छ । जुन माटोमा जन्मियो हुर्कियो त्यही माटोमा विलय हुनु यो प्राकृतिक सत्य हो । त्यसैले जीवन जति समय चलाईमान हुन्छ, त्यती समयसम्म प्रत्येकले आफूले आफ्नै कर्मलार्ई हेरी आफूले गरेको कर्मबाट अरुको भलो हुने कर्म गर्नुपर्दछ । किनकी क्षणिक जीवनको उत्कृष्ट चरित्र भनेको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्दै सकारात्मक भाव जागृत गर्नु हो । त्यसैले यो कुरालार्ई बिर्सनु हुदैन ।

जहाँ स्वच्छ र पवित्र कर्मले मानिसको विवेकलार्ई निर्देश गर्ने अवस्था सिर्जना हुन्छ, त्यहाँ कर्म र व्यवहारमा सरलता र निश्पक्षता आउँछ । जहाँ स्वच्छ र पवित्र कर्म हुन्छ त्यही कर्मले मानिसलार्ई चीर कालसम्म जिवन्त राख्न सक्दछ । त्यही कर्मले उसलाई जीवनको उत्तरार्ध र त्यसपछि पनि उसलार्ई इतिहासले सम्झाइरहन्छ । त्यसैले जीवनको प्रत्येक पलपलमा यदि जीवनलाई इतिहासको पानामा दर्ज गर्नु छ भने सधै सर्वे भवन्तु सुखिनको नारालाई सार्थक बनाउने कर्म र व्यवहार गर्दै जानु पर्दछ । हरेक घडी परीक्षा प्रणालीमा सफलता बढाउँदै जानु पर्दछ । हरेक घडी परीक्षामा उत्तीर्ण हुनुछ भने मानिसले सत्कर्म गर्दै अगाडि बढ्न सक्नुपर्दछ । जीवन प्रकृतिको नियममा चल्ने सृष्टिको रचना हो ।

तापनि उसले प्रत्येक घडी प्रकृतिले दिने परीक्षामा उत्तीर्ण हुँदै जानुपर्दछ । हेर्दा घुम्दा खेल्दा खाँदा तथा कर्म र व्यवहार गर्दा उसले आफूलार्ई परीक्षामा सफलता उन्मुख गराउँदै जानुपर्दछ । बिहान उठेर गरिने नित्य कर्मबाट अलि कति पनि विचलित भयो भने जिन्दगीको गोरेटोमा जसरी धेरै समस्यासँग सामना गर्नुपर्दछ त्यसरी नै जेव्वनको गोरेटोमा एउटा मस्त्र गल्तीले निकै उतस्र चढाव ल्याउँछ । तसर्थ प्रत्येक कुराको साथसाथै आहारविहारलगायत सबै कुरामा सफल बन्नुछ भने प्रकृतिको नियमलाई अङ्गाल्दै अगाडि बढ्ने दीर्घ सङ्कल्प गर्नुपर्दछ । उत्तरतर्फ जाने मनले पूर्वतर्फ ताक्यो भने त्यहाँ दुर्घटना हुनसक्छ ।

विचारमा गलत चिन्तन पैदा भई अवस्था नाजुक हुन सक्दछ । जसको फलस्वरुप मानिसलाई विकृतिले आकर्षित गर्न थाल्दछ । सोचमा नकारात्मक भाव पैदा हुन पुग्दछ । यस्तो अवस्था आउनु भनेको आफूले आफैलार्ई अनुत्तीर्ण बनाउँदै जानु हो । जहाँ असफलता हुन्छ, त्यहाँ विकृतिका विविध कुराहरुले मानिसलाई दुःख परेशानी उत्पन्न गर्दछ । तत्पश्चात स्वार्थ र अहंकारले मानिसलार्ई घमण्डी बनाउँदै जान्छ । जीवनको प्रत्येक परीक्षामा असफल बनाई जीवनमा नैराश्यता प्राप्त हुन पुग्दछ । त्यसैले घमण्ड र अहंकाले ल्याउने परिणामको ख्याल गरी सधैं आफूलार्ई स्वयम् र धैर्यशील बनाई अँध्यारोलार्ई मेटाउने उज्यालो गतिको संवाहक बनाई आफूलाई अगाडि बढ्नु पर्दछ ।

मानसिक रुपमा आफूलाई सक्षम बनाउनु पर्दछ । म किन अलमलिएको छु भनी आफूले आफैलार्ई प्रश्न उठाउँदै आफ्ना हरेक कर्ममा निखार ल्याउनु पर्दछ । सकारात्मक चिन्तनका साथ निस्वार्थ सेवा भाव जागृत हुने कर्म र व्यवहार गर्दै अगाडि आउने सङ्कल्प गर्नुपर्दछ । समस्यालार्ई यो मेरो अवसर हो भनी दृढ सङ्कल्पका साथ समाधान गर्दै परीक्षामा सफलता उन्मुख हुन सक्नुपर्दछ । धैर्य र अटल विश्वासका साथ आफ्नो हरेक कर्म र व्यवहारमा परिस्कृत गर्नुपर्दछ ।

सूर्यको रापिलो घाम होस् वा चन्द्रमाको शीतलता होस् यी दुवै मेरा लागि आवश्यक छन् भनी प्रत्येक कर्ममा सुवास छर्कन आफूलार्ई समर्थ बनाउनु पर्दछ । प्रकृतिले जे जस्तो परीक्षा लिए पनि मेरो विचार र व्यवहार र मेरा पाइलाहरु अविचलित रुपले गतिशील हुन्छ भनी आफूले आफूलाई विश्वासको धरातलमा राखेर अगाडि बढ्ने सङ्कल्प गर्नुपर्दछ । मैले नगरे कसले गर्ला भन्ने सोच राखी प्रत्येक परीक्षालार्ई यो मेरो अवसरको रुपमा आएको चुनौती हो भनी सफलताका श्रृङ्खला जोड्दै जानुपर्दछ । सङ्कल्पका साथ त्याग र समर्पणमा आधारित कर्म गर्न सधैं जागृत भइरहनु पर्दछ ।

परीक्षामा सबै अब्बल दर्जा प्राप्त गर्न चाहन्छन् तर हुँदैनन् । किन ? जस्तै एसइई परीक्षामा सबै प्रथम त हुन चाहन्छन् नि ? किन हुँदैनन् ? किनकि उनको मेहनत, लगनशीलता कमजोर भयो । पढ्ने बेला गुच्छा खेल्ने परीक्षाको घडीमा मनोरञ्जन हेर्ने अनि त्यस्तो अवस्थामा कसरी सफलता उन्मुख हुन सकिन्छ ? क्षणिक बासनामा अलमलिएर समयको सदुपयोग गर्न नजाने सफलता हुन्छु भन्दैमा कहिले पनि सफलता मिल्दैन । तसर्थ सफलताको लागि हमेशा आफूलार्ई लगनशील बनाइरहनु पर्दछ । धैर्य र सहनशील भई आफूलाई भविष्यको चम्किलो तारा बनाउने सङ्कल्प गरेर सुनौलो भविष्यको इतिहास रचना गर्न सक्नुपर्दछ ।

अन्धकारलार्ई उज्यालोले हटाए जस्तै जीवनलार्ई पनि उज्यालो मार्गमा गतिशील बनाई परिस्थिति अनुकूल समयको गतिसँगै आफूलाई परिचालन गर्न सक्नु पर्दछ । आफूमा भएको क्षमता कसरी वृद्धि गर्ने भन्ने चिन्ता लिनै पर्दैन । यो त जीवनको सुरुवातसँगै मानवीय गुणर साहसले आफै सिर्जना गर्न सक्छ । किनकि मानिसभित्र प्रतिभाको खानी नै हुन्छ । त्यो कुरा बुझ्न सक्नु पर्दछ । सकारात्मक चिन्तनतर्फ बढी ध्यान केन्द्रित हुनुपर्दछ ।

जीवनमा खुसी उमंग उत्साह र जाँगर सबै परिपूर्ण भएर आएको हुन्छ । बस त्यसलाई सदुपयोग गर्ने सङ्कल्प गर्नुपर्दछ । समय सापेक्ष आफूलार्ई लगनशील र कर्तव्य परायन गराएर आफूले गर्ने प्रत्येक कर्म र व्यवहारमा पवित्रता उद्घोष हुने परिस्थितिको सिर्जना गर्नुपर्दछ । जीवन छोटो होइन । गुणको भण्डारो हो भन्ने सोच राखी सार्वजनिक हिताएको कर्ममा आफूलार्ई समर्पण गर्न सक्नुपर्दछ । एक पटक असफलता भयो भन्दैमा निराश हुनु पर्दैन । किनकि असफलता नै सफलताको सिढी हो ।

तिमी अब अझ मेहनतका साथ अघि बढ भनी उक्लन सक्ने क्षमताको विकास गर्ने अवस्था पनि हो । जब मानिसले ठक्कर खान्छ तब उसमा चेत आउँछ । अनि उ आफूलाई कसरी सफल बनाउने त्यसतर्फ सोच बढाई भइरहेको सोचमा परिवर्तन गर्ने त्यसतर्फ ध्यान बढाउन उद्दत हुन्छ । त्यसैले सजग र सचेत बन्दै मेहनत र पसिना बगाउन सिक्नुपर्दछ । आफूले आफैलाई प्रश्न गरी उत्तर लिने प्रयत्न गर्नुपर्दछ । जीवनमा आउने हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरी आफूलार्ई परिचालन गर्ने अभ्यास गर्नुपर्दछ । निरन्तर नै सफलताको कडी पनि मानिन्छ । निरन्तर सङ्घर्ष गरे अवस्य सफलता मिल्दछ ।

जीवन छोटो छ, आज मोज नगरे कहिले गर्ने, आज नखाए कहिले खाने, जस्ता कुराहरु यदि सोच्दै जानेर जीवनलार्ई मनोरञ्जन प्रदान गर्नेतर्फ केन्द्रित गर्ने हो भने यसले जीवनलाई अँध्यारो गति उन्मुख गराउँछ । मनको सकारात्मक बाँध भत्किनु भनेको आफूले आफैलार्ई धोका दिनु हो । यस्तो प्रवृत्ति भनेको गलत मानसिकता हो । मेहनत र पसिना बगाउन नजान्नेले सफलता हासिल गर्छु भन्नु केवल आकाशको फल आँखातरी मर भन्ने सिद्धान्तमा रहनु हो । यस्तो अवस्थामा न उ आफू सफल हुन्छ न अरुलार्ई उसले सफलता देख्न चाहन्छ । तसर्थ समय र परिस्थितिको मूल्याङ्कन गरी म र मेरो हातबाट गरिने प्रत्येक कर्मले नयाँ इतिहास सिर्जना गर्नु सफल होस् भनी अगाडि बढ्नु पर्दछ ।

विचारमा शुद्धता जगाई, समाज सुन्दर र सिर्जनशील बन्न सकोस्, प्रत्येक पलपलमा नयाँ आयाम थपिँदै जाउन, हरेकको कर्ममा सकारात्मक भाव जागृत भई एकअर्कामा नयाँ ऊर्जा पैदा हुँदै जाओस् भनी प्रत्येकले आफूलार्ई सङ्कल्प गरी नयाँ बिहानीको उदय गराउनु पर्दछ । अर्को अर्थमा बिहानको उज्यालोसँगै सामाजिक रुपरेखा र परिवेशमा नयाँ विचारहरु सलबलाउने वातावरण बनाउन निरन्तर रुपले लागिरहनुपर्दछ । किनकि निरन्तरता नै सफलताको आधार हो । चेतना भया ।