घरेलु तथा साना उद्योग अर्थतन्त्रका मेरुदण्डको रुपमा लिइन्छ । नेपालमा करिब ८० प्रतिशत उद्योगहरू घरेलु तथा साना किसिमका रहेका छन् र यिनले लाखौँलाई रोजगारी दिएका भए पनि वर्तमानमा यी उद्योगहरू विभिन्न आर्थिक चुनौती र सङ्कटको सामना गरिरहेका छन । यस क्षेत्रले देशमा लाखौँ नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ । यस्ता उद्योगहरू प्रायः स्थानीय सिप, प्रविधि र कच्चापदार्थमा आधारित हुन्छन्् ।
वर्तमान समस्या तथा चुनौतीहरू आर्थिक सङ्कट र मन्दी, बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर र कर्जा प्रवाहमा देखिएको असहजताले साना पूँजीमा सञ्चालित उद्योगहरू बढी पीडित छन् । आधुनिकीकरण, बजारीकरण र अनुदान तथा सहुलियतपूर्ण ऋण समयमै नपाउँदा कतिपय उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । घरेलु तथा साना उद्योगको समग्र अवस्थालगातका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर दाङका अध्यक्ष लालबहादुर केसीसँग गोरक्षकर्मी बालाराम खड्काले गरिएको कुराकानीको सारसंक्षेप ।
अहिले नेपालका घरेलु तथा साना उद्योगहरूको समग्र अवस्था कस्तो छ ?
समग्र नेपालमा रहेका घरेलु तथा साना उद्योगीहरूको अवस्थाको कुरा गर्दा केही चुनौतीपूर्ण नै छ । किन भन्नुहुन्छ भने वस्तुको उत्पादनको वृद्धि तथा विकासमा कच्चा पदार्थको समस्या छ । व्यवसाय विस्तारमा विदेशी वस्तुको बजार प्रभावले हाम्रा घरेलु तथा साना उद्योग लाई बजार विस्तारमा अली गाह्रो नै छ । तर, पनि अहिले बर्तमान सरकारले साना उद्योगहरूलाई पनि माथि उकास्ने गरी नीति नियम प्रस्तुत गरेको छ ।
घरेलु तथा साना उद्योगीहरूको थप वृद्धि विकास गर्न के गर्नुपर्छ होला ?
मुख्यत नेपालको समग्र बजारमा भारतलगायत विदेशी उत्पादन नै हावी छन् । जहाँ सरकारले नै घरेलु तथा साना उद्योगका उत्पादन किनिदिने र उत्पादनको बजारीकरणको जिम्मा लिएमा अझ राम्रो हुने थियो । किन भन्नुहुन्छ भने कुनै देशको आर्थिक अवस्था माथि उठ्नलाई त्यो देशको आन्तरिक उत्पादनले बजार पाउनु पर्छ । साथै निर्यातमुखी अर्थतन्त्र बनाउन सक्यौँ भने आर्थिक विकासमा हामी मा उठ्ने थियौँ । जसले देश पनि समृद्धि हुन्छ र उध्यमी पनि उच्च मनोबल लिएर आफ्नो व्यवसायलाई वृद्धि गर्न अगाडि बढ्छन् ।
तपाईको नेतृत्व पछि घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले के–के कामहरू गरिसक्नु नि ?
धन्यवाद महत्वपूर्ण प्रश्न उठाउनु भयो । विशेषत हामिले सुरुवाती अवस्थाबाट नै विजनेस नवपर्वन उद्यमशीलतालाई फोकस गर्दै अगाडि बढेका छौँ । खासगरी व्यापार व्यवसाय एवम् नयाँ केही विजनेस गर्ने सोच भएका र साथ सहयोग गर्ने अवसर नपाएका युवा शक्तिलाई हामिले उनीहरूको उद्यमी यात्रा सफल बनाएका छौँ । केही युवाहरू हामीसँग जोडिएर राम्रो व्यापार व्यवसाय गरिरहनुभएको छ । हाम्रो महासंघका सदस्यह समस्या समाधान गर्न पहलकदमी गर्ने काम भएको छ । विभिन्न समयमा डिजिटल शिक्षा, ब्रान्ड विस्तार, बजार विस्तार, व्यावसायीको क्षमता विकास कार्यक्रम, कर प्रणाली र शिक्षा, वित्तीय शिक्षालगायत थुप्रै व्यवसायी र सदस्यलाई सक्षम गराउने काम भइरहेको छ । हामीले विभिन्न सिपमूलक तालिम पनि दिँदै आएका छौँ ।
तपाईको व्यवसायको इतिहास र यहाँसम्म आइपुग्ने जग–जग के होनि ?
मेरो व्यापार व्यवसाय त्यति ठूलो व्यापारिक घरानाबाट आएको होइन । मेरो जन्मभूमि रुकुमबाट नै मेरो व्यापारिक कारोबारको सुरुवात भएको हो । खासमा भन्नुहुन्छ भने म ५ कक्षामा पढ्दा खेरी साथीहरूलाई विस्कुट बिक्री गर्दथे । त्यहाँ मैले केही नाफा कमाउँदा अत्यन्त खुसी लाग्ने र विस्तारै गाउँमा उत्पादन भएका फलफूल थोरै मूल्यमा पाउथ्यो र खुद्रा बिक्री गर्दा नाफा धेरै आउथ्यो । यस्तै गर्दै जाँदा पछि किराना पसल सुरु गरियो । घरको जेठो छोरो भएको हुनाले जिम्मेवारीमा काँधमा थपिँदै गयो । मैले अब जिन्दगीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सोच्दै गर्दा व्यापार व्यवसाय नै ठिक हुन्छ भन्ने निर्णय गरे । आफ्नो रुकुम हुँदै दाङ सम्मको व्यापार विस्तारमा कारोबार गर्दै गए । सानो व्यवसायबाट सुरु गरेका केही दाइहरू आफन्तसँग पनि भेट हुन गयो । वर्तमान र भविष्य दुवैलाई हेर्दा दाङलगायत अन्य जिल्लामा व्यापार विस्तारको सहजता तुलसीपुर देखे र हाल तुलसीपुरबाट आफ्नो विजनेस र व्यावसायिक नेतृत्वलाई अगाडि लगेको छु ।
नेपालमै केही गर्छु भन्ने युवा शक्तिलाई यहाँको विजनेस मार्गदर्शन के छ ?
म त भन्छु हामी सकेसम्म नेपाल मै दाजुभाइ मिलेर अगाडि बढ्ने गरौँ । व्यापार गर्न सुरुमै धेरै लगानी हुनुपर्छ भन्ने छैन अलि कति अध्यन गरेर मात्र सुरु गर्दा अली सहज हुन्छ । मैले अगाडि पनि भनेको छु नयाँ सोच र आइडिया भएका व्यवसाय दाजुभाइ तथा दिदिबहिनी एवम् विद्यार्र्थीलाई हामी साथमा नै छौँ । आवश्यक लगानी र वस्तु र सेवाको लगानी एव बैन्किङ सम्बन्धी सहयोग दिन एवम् उद्यमशिलताको यात्रामा हामी सहकार्य गर्न तयारी छाँै र गरिरहेका पनि छौँ भन्न चाहन्छु ।
घरेलु तथा साना उद्योगीले अहिले सबैभन्दा बढी भोग्नुपरेका समस्या के–के हुन् ?
घरेलु तथा साना उद्योगीहरूले अहिले मुख्य रूपमा बजारको अभाव, लगानीको समस्या, महँगो ब्याजदर, कच्चा पदार्थको मूल्यवृद्धि, दक्ष जनशक्तिको कमी र सरकारी नीतिगत झन्झटजस्ता समस्या भोगिरहेका छन् । उत्पादन गरे पनि बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ । विदेशी वस्तुको बढ्दो आयातले स्वदेशी उत्पादनलाई थप चुनौती दिएको छ । त्यसैगरी, उद्योग दर्ता, नवीकरण, कर तथा अन्य प्रक्रियामा हुने झन्झटले पनि साना उद्योगीलाई समस्या परेको छ । यस्ता समस्या समाधानका लागि राज्यले सहुलियतपूर्ण कर्जा, बजार व्यवस्थापन, प्रविधि हस्तान्तरण र नीतिगत सहजता दिन आवश्यक छ ।
उद्योग सञ्चालनका लागि आवश्यक पूँजी, प्रविधि र दक्ष जनशक्तिको अवस्था कस्तो छ ?
उद्योग सञ्चालनका लागि आवश्यक पूँजी, प्रविधि र दक्ष जनशक्तिको अवस्था अझै पनि सन्तोषजनक छैन । विशेषगरी साना तथा घरेलु उद्योगीका लागि पर्याप्त पूँजी जुटाउन कठिन छ भने बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि विभिन्न समस्या छन् । त्यस्तै, आधुनिक प्रविधिको प्रयोग र त्यसमा पहुँच सीमित छ । दक्ष जनशक्तिको अभाव अर्को प्रमुख समस्या हो । युवाहरू रोजगारीका लागि विदेश जाने क्रम बढेकाले उद्योगका लागि आवश्यक सिपयुक्त जनशक्ति पाउन कठिन भइरहेको छ । त्यसैले सरकारले सहुलियतपूर्ण कर्जा, प्रविधिमा पहुँच र सिपमूलक तालिमलाई प्राथमिकता दिन आवश्यक छ ।
स्थानीय उत्पादनको बजार विस्तारका लागि महासंघले के–कस्ता पहल गरिरहेको छ ?
स्थानीय उत्पादनको बजार विस्तारका लागि महासंघले उत्पादित वस्तुको प्रवर्धन, बजारीकरण र उपभोक्तासम्म पहुँच बढाउने कामलाई प्राथमिकता दिएको छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा व्यापारिक मेला आयोजना गर्ने, उत्पादक र बजारबिच समन्वय गर्ने तथा व्यवसायीलाई डिजिटल माध्यमबाट आफ्ना उत्पादनको प्रचार–प्रसार गर्न प्रोत्साहित गर्ने काम भइरहेको छ । साथै, स्थानीय उत्पादनलाई सरकारी तथा निजी क्षेत्रका बजारसँग जोड्ने र गुणस्तर तथा प्याकेजिङ सुधारका लागि उद्योगीलाई आवश्यक सहजीकरण गर्ने पहल पनि महासंघले गरिरहेको छ ।
अन्त्यमा, राज्य, स्थानीय तह र युवा उद्यमीलाई तपाईंको सन्देश के छ ?
राज्य र स्थानीय तहले घरेलु तथा साना उद्योगलाई रोजगारी र आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिएर नीतिगत सहजता, सहुलियतपूर्ण कर्जा, प्रविधि र बजारको पहुँच सुनिश्चित गर्नुपर्छ । उद्योगीले पनि सरकारी सहयोगको मात्र अपेक्षा नगरी गुणस्तरीय उत्पादन र नयाँ प्रविधिको प्रयोगमा जोड दिन आवश्यक छ । युवा उद्यमीलाई मेरो सन्देश भनेको विदेश जाने सोचभन्दा आफ्नै ठाउँमा सम्भावना खोजेर उद्यमशीलतातर्फ अघि बढ्नुपर्छ भन्ने हो। मेहनत, सिप र निरन्तरता भएमा स्थानीय स्रोत–साधनलाई उपयोग गरेर पनि राम्रो व्यवसाय गर्न सकिन्छ ।