गोरक्ष माविमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दाङ,६ असोज । गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

घोराही उपमहानगरपालिका–१७ चौघेरामा रहेको विद्यालयले सञ्चालन गरेको ‘डोनेसन बक्स’ अभियानअन्तर्गत संकलन भएको रकमबाट २३ जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । जसअन्तर्गत सात जनालाई विद्यालय पोसाक र १७ जनालाई स्टेशनरी सामाग्री सहयोग गरिएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकले आफ्नो जन्मदिनका अवसरमा खाजा तथा अन्य खर्चबाट केही रकम कटाएर विद्यालयमा राखिएको डोनेसन बक्समा बर्षभरी स्वेच्छिक रूपमा जम्मा भएको करिव १७ हजार रुपियाँबाट विद्यार्थीलाई सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले जानकारी दिनुभएको छ । प्रधानाध्यापक मल्लका अनुसार यसरी वर्षभरि विभिन्न विद्यार्थी तथा शिक्षकको जन्मदिनका अवसरमा संकलन भएको रकमबाट प्रत्येक बर्ष विद्यार्थी शैक्षिक सामाग्री वितरण गर्ने गरिएको छ ।

जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक सेवासँग जोड्ने उद्देश्यले विद्यालयले डोनेसन बक्स अभियान सञ्चालन गरेको प्रधानाध्यापक मल्ल बताउँनुहुन्ँछ । ‘आफ्नो जन्मदिनको खुसी, साथीको शिक्षामा सहयोग’ भन्ने भावनाका साथ अघि बढाइएको अभियानले जन्मदिन मनाउने संस्कृतिलाई समेत सामाजिक उत्तरदायित्वसँग जोडेको विद्यालयका प्रधानाध्यापक मल्ल बताउनुहुन्छ । विद्यालयले आगामी दिनमा पनि ‘डोनेसन बक्स’ अभियानलाई निरन्तरता दिने र अभियानअन्तर्गत संकलन भएको रकमलाई कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई सहयोग गरिने जनाएको छ ।